arrow

डिश होम १२खरी कथा लेखन प्रतियोगितामा ‘बूढो लाँकुरीको रुख’ सर्वोत्कृष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
12khari-katha-5th-edition.jpg

काठमाडौँ । बूढो लाँकुरीको रुख  ‘डिश होम १२खरी कथा लेखन प्रतियोगिता–२०८०’ को पाँचौँ संस्करणको सर्वोत्कृष्ट कथा बन्न सफल भएको छ । आइतबार राजधानीमा भएको विशेष कार्यक्रममा पाँचौं संस्करणको कथा प्रतियोगिताको विजेता घोषणा गरिएको हो । 

जसमा ८४३ प्रतिस्पर्धीमध्ये बूढो लाँकुरीको रुख सर्वोत्कृष्ट भएको हो । यसका कथाकार मनोजबाबु पन्त हुन् । उनले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । प्रमोद प्याकुरेलको कथा ‘काँचुली’ दोस्रो र विजय हितानको कथा ‘चेपाङ, चमेरो र चिउरी’ तेस्रो भएका छन् । प्याकुरेलले ६० हजार तथा हितानले ४० हजार रुपैयाँ नगद जितेका छन् । 

विजेतालाई कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरस्कृत गरे । त्यसअघि ‘उत्कृष्ट कथा–२०८०’ लोकार्पण गरिएको थियो । जसमा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्रेषित ८ सय ४३ कथाहरू मध्येबाट उत्कृष्ट ठहरिएका २५ कथा समावेश गरिएको छ । यस कथा संग्रहमा २५ उत्कृष्ट कथाका साथै चार वरिष्ठ आख्यानकर्मी भागीरथी श्रेष्ठ, भाउपन्थी, डा. राजेन्द्र विमल र गणेश रसिकका कथा पनि समावेश गरिएका छन् । 

बाह्रखरी कथा लेखन प्रतियोगिता २०८० मा उत्कृष्ट २५ कथाकारहरूमा मनोजबाबु, प्रमोद र विजयसँगै अनिता पन्थी, उमा शर्मा, जेएन दाहाल, डिल्लीरमण पौडेल, तैँ तैँ धिताल, त्रिभुवनचन्द्र वाग्ले, दिनमान गुर्मछान, दिव्य गिरी, दीपक लोहनी, महेश चौलागाईं, रबर्ट जोशी, रमा सुवेदी, रमेशजंग थापा, राजेन्द्र अधिकारी, राजेश सुवेदी, विक्रम नेपाल, वसन्तबायुङ राई, शंकर धिताल, डा. श्रीधर खनाल, सञ्जय घिमिरे, सोमनाथ दाहाल र हिरा लामा हुन् । 

बाह्य निर्णायकहरूमा प्राडा सावित्री कक्षपती संयोजक रहेकी थिइन् भने आख्यानकारहरू महेशविक्रम शाह र सुविन भट्टराई सदस्य रहेका थिए । 

आन्तरिक मूल्याङ्कन समिति बाह्रखरीका विचार सम्पादक अधिकारीको संयोजकत्वमा रहेको थियो ।

कथा प्रतियोगिताको पाँचौँ संस्करणका उत्कृष्ट कथाकारहरूलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठसँगै सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, डिश मिडिया लिमिटेडका अध्यक्ष देवीप्रकाश भट्टचन, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहसहित बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, प्रबन्ध सम्पादक राजेश केसी, विशेष सम्पादक हरिबहादुर थापा, विचार सम्पादक तथा आन्तरिक निर्णायक समूहका संयोजक गोविन्द अधिकारी लगायतले खादा, प्रमाणपत्र, नगद र ट्रफी प्रदान गरका थिए । 

कथा लेखन प्रतियोगिताको पाँचौँ संस्करणमा विजयी उत्कृष्ट २५ कथा तथा अतिथि कथाकारहरूको कथासहित २९ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८०’ पब्लिसिङ् पार्टनर फाइन प्रिन्टले बजारमा ल्याएको हो । यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ