arrow

पार्टी एकढिक्का बनाएर अर्को चुनावमा बहुमत ल्याउनुपर्छ : सभापति देउवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
sherbahadur-deuba-2080-09.jpg

पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाउँदै लैजान सके बहुमत र त्यो नभए सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए । 

नेपाल आदिवासी, जनजाति, दलितलगायतको साझा देश भएको उल्लेख गर्दै सभापति देउवाले सबैलाई एकसाथ समेटेर लैजानुपर्ने बताए । “कुनै पनि पार्टीको बहुमत छैन, त्यसैले कुनै न कुनैसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ, आवश्यकता पनि यही हो”, उनले भने ।

कांग्रेसको आदर्श र सिद्धान्तमा अन्य पार्टी पनि आएका र त्यसमानेमा पार्टीको जित भएको उनको भनाइ थियो । सभापति देउवाले भने, “बहुदलीय प्रजातन्त्र हाम्रो सिद्धान्त र आदर्श हो, यसमा समावेशी र समानुपातिक पनि राखिएको छ ।” 

नेपाली कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले आम कार्यकर्ताको भावनालाई आत्मसात् गर्दै पार्टी सङ्गठनलाई अघि बढाउनुपर्नेमा जोड दिए । मन्त्री गुरुङले आवश्यक कानून सबै बनाउन मन भए पनि सम्बन्धित मन्त्रालय तयार नभएको गुनासो गरे । राष्ट्रियसभाका उम्मेदवारका विषयमा सम्मेलन नै गरेर छलफल चलाउन पनि उनले आग्रह गरेका छन् । 

पार्टीका महामन्त्री गगनकुमार थापाले कांग्रेसका लागि काम गर्न धेरै अवसर रहेको उल्लेख गर्दै जनताको निरासा हटाउने गरी काम गर्न जरुरी भएको बताए । विधानमा उल्लेखित विषयको पालना गर्दै विधि र पद्धतिअनुसार पार्टी सङ्गठनलाई अघि बढाउने कुरामा सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

थापाले राष्ट्रिय सभा सम्मानित स्थान भएकाले पटकपटक एउटै व्यक्तिलाई पठाउन भन्दा पनि अवसर नपाएका राजनीतिक विद्वानले पाउनु पर्ने बताए ।

उनले एनसेल लगायतमा अर्बौँ भ्रष्टाचार हुन्छ तर जनताले एक हजार तिरेर उपचार गर्न सकेका छैनन् भन्दै यतातर्फ कांग्रेसले गम्भीर भएर ध्यान दिनुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘माओवादीले छप्काउँदा र पञ्चायतले डस्दा पनि नहल्लिएको कांग्रेस हो, अब पनि डराउन पर्दैन । अब हारे हार्छ, सिंहासनबाट धुलोमा बस्न परे बसौँला तर अब कांग्रेस कार्यकर्ताले रुख बाहेक अन्यत्र मत हाल्न पर्दैन ।’

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले धेरै सङ्कट पार गरेर आएकाले विद्यमान समस्याको सहजै समाधान गर्नसक्ने जिकिर गरे । हरेक समय चुनावको चिन्ता गर्ने नभई देशको चिन्ता गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

उनले गण्डकी अन्य प्रदेश भन्दा धेरै अघि बढेको र सम्भावनाको हिसाबले समुन्नत रहेको स्पष्ट पारे । कांग्रेस बलियो भन्ने कुरा दोश्रो र नागरिकको समस्या र मुद्दा पहिलो हुनुपर्ने उनले खाँचो औँल्याए ।

सहमहामन्त्री जीवन परियारले पार्टीको महाधिवेशनमा तय भएका नाराअनुसार काम हुन नसकेको बताए । उनले भने, ‘महाधिवेशनमा तय भएका नाराअनुसार काम हुन सकेन ।’

नेता परियारले पार्टी देशकै ठूलो दल भए पनि समानुपातिकमा भने दोस्रो भएको नभुल्न पनि आग्रह गर्दै भने, ‘कांग्रेसले अन्य दललाई एकीकृत गरेर अघि बढ्न नसकेको हो ।’

उनले अबको महासमितिले तमाम समस्या अन्त्य गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारका गुनासो सम्बोधन गर्ने गरी पार्टीले ध्यान दिनुपर्ने बताए ।  मुलुकमा बेथितिले जरो गाडेको भन्दै लथालिंग अवस्थालाई पार्टीले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले अगाडि भने, ‘अन्तर्राष्ट्रिय पर्यटकीय राजधानीका रुपमा यसमा आवश्यक पर्ने विकासमा ध्यान दिनुपर्छ । पोखरा-मुग्लिन सडक निर्माण चाँडो सक्न दबाब दिनुपर्छ । पोखरा-स्याङ्जा-भैरहवाको सडक चार लेनको बनाउनुपर्छ ।’

कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गुटका कारण कांग्रेस कमजोर बन्न नहुने भन्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानका लागि सबैको सकारात्मक सोँच र क्रियाशीलता आवश्यक हुने बताए । 

कोइरालाले प्रधानमन्त्रीले कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड मागे कांग्रेसले प्रधानमन्त्रीको रिपोर्ट कार्ड माग्नुपर्ने बताए । 

पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसमा गुट सधैँ भएको उल्लेख गरे । सो क्रममा उनले धर्म निरपेक्षका बारेमा बोल्दै भने, ‘निरपेक्ष भनेको धर्म मान्दिन भन्नु हो । संविधानबाट धर्म निरपेक्ष शब्द हटाउनु पर्छ ।’

केन्द्रीय सदस्य शंकर भण्डारीले आगामी चैतमा मुलुकमा जे पनि हुन सक्ने भन्दै सचेत रहन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे । 

नेता भण्डारीले भने, मुलुकमा आगामी चैतमा जे पनि हुन सक्छ, विचार गरौँ ।’ उनले विभिन्न हल्लाहरु चलिरहेकोतर्फ इंकित गर्दै भने, ‘यो संविधान खारेज हुन सक्छ । उनले धार्मिक स्वतन्त्रता खुला गर्नुपर्नेमा पनि जोड दिएका छन् । 

केन्द्रीय सदस्य प्रदीप पौडेलले आम मानिसले कांग्रेस कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताए । नेता पौडेलले कांग्रेस कसरी अगाडि बढ्छ भनेर चासो र चिन्ता रहेको भन्दै जनताले खोजेको नीति तथा कार्यक्रम ल्याएर सरकार सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए ।

नेता गोपालमान श्रेष्ठले कांग्रेसले बोलेर नभइ काम गरेर देखाउनु पर्नेमा जोड दिए । नेता श्रेष्ठले कांग्रेसलाई काम नगर्ने छुट नभएको बताए ।

पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, केन्द्रीय सदस्य विनोद चौधरी, गणेश गिरी, डा. डीला पन्त संग्रौला, लुम्विनी प्रदेश सभापति अमर पुन, सुदूर पश्चिम प्रदेशका सभापति बीरबहादुर बलायर, कर्णाली प्रदेश सभापति ललितजंग शाही, नेपाल रोम्नी गौचन लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ