arrow

स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत आफैँ तिर्नुपर्ने !

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
Health Insurance Board.jpg

चितवन । स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो ।

बोर्डका अध्यक्ष डा गुणराज लोहनीका अनुसार बीमा लागू भएका सबै अस्पतालमा कोपेमेन्ट लागू गरिँदैछ । सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुनेछ । 

लोहोनीले भने, “यसले राज्यलाई आर्थिक भार कम गर्छ ।” उनका अनुसार सबै स्वास्थ्य बीमाले समेट्दै गर्दा अनावश्यक प्रभावमा उपचार हुने गरेको गुनासो आइरहेको थियो ।

बीमाको रकम बाँकी रहेको भन्दै बीमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि चिकित्सकलाई दबाब दिने गरेका छन् । कोपेमेन्ट लागू भएसँगै दबाब कम हुने अपेक्षासमेत गरिएको छ । 

कोपेमेन्ट लागू भएसँगै आवश्यकताअनुसार थप निजी अस्पताललाई समेत बीमामा समावेश गरिँदैछ । 

उनले भने, “थप सेवा कहाँ आवश्यक छ हेरेर निजी र सामुदायिकलाई पनि दिने निर्णय गर्छौं ।”

अस्पतालमा एक महिनाका लागिमात्रै बीमाका बिरामीलाई औषधि दिने गर्दा भीड हुने गरेको छ । बिरामीलेसमेत दुःख पाउने गरेका छन् । 

उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दमजस्ता रोगको नियमित खानुपर्ने औषधि तीन महिनाका लागि एकैपटक दिने व्यवस्था गरिएको डा लोहनीले जानकारी दिए ।

माघ १ गतेदेखि यो व्यवस्था लागू हुनेछ । हाल अस्पतालले बीमाको सेवा दिएर पनि महिनौँ भुक्तानी नपाउँदा समस्या परेको जनाउँदै आएका छन् । 

डा लोहनीले बीमाको रकम दाबी गरेको एक महिनाभित्रमा भुक्तानी दिने गरी गृहकार्य थालिएको बताए ।

उनले भने, “सेवा दिएपछि भुक्तानी दिनुपर्छ, एक महिनाभित्रमा भुक्तानी पाउने व्यवस्था हुन्छ ।”

उनका अनुसार नेपालमा ३० लाख हाराहारी परिवार स्वास्थ्य बीमामा जोडिएका छन् ।

विसं २०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा सुरुआत भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ । 

स्वास्थ्य बीमा ऐन, २०७४ जारी भई स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित भएर कार्यान्वयनमा आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ