arrow

सुरक्षित गर्भपतन गराउने बढे

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
Abortion.jpg.jpeg

महेन्द्रनगर ।  कञ्चनपुरमा पछिल्लो समय सुरक्षितरुपमा गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । 

तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निःशुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीले गत आर्थिक वर्ष २०७९-८० मा जिल्लामा दुई हजार पाँच सय २२ महिलाले यो सेवा लिएको बताए । 

कञ्चनपुर प्रहरीले पनि केही समययता अवैध गर्भपतनलगायत स्वास्थ्य क्षेत्रमा बिना अनुमति सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक बन्द गराउन थालेपछि सरकारी स्वास्थ्य संस्थामा गएर सेवा लिने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । 

स्वास्थ्य कार्यालयका अनुसार चालु आवको हालसम्म यहाँ आठ सय ९५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । 

“मासिक दुई सय २० भन्दा बढी सेवाग्राही यो सेवा लिन आएको पाइएको छ”, सूचना अधिकृत कार्कीले भने, “कञ्चनपुरमा पनि प्रादेशिक अस्पतालदेखि सरकारी केही स्वास्थ्य संस्थाबाट यो सेवा लिने व्यवस्था गरिएको छ ।” 

नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरका कार्यालयका प्रमुख उद्धव भट्टले पछिल्लो समय स्वास्थ्य संस्थामा सेवा पुगेसँगै सेवाग्राहीको सङ्ख्यामा वृद्धि हुँदै गएको बताए । 

“पहिला निश्चित ठाउँ भएकाले परिवार नियोजन सङ्घमा मासिक एक सयभन्दा बढी सेवाग्राही पुग्थे”, उनले भने, “हामीकहाँ औषधि र औजार विधिबाट यो सेवा प्रवाह गरिरहेका छौँ ।” 

उनले मासिक ३५ देखि ४० सेवाग्राही सेवा लिन आउने गरेको बताए । सेवा लिन आउनेमध्ये अधिकांशले औषधि विधि रोज्ने गरेको उनले जानकारी दिए ।

कञ्चनपुरमा परिवार नियोजन सङ्घले सन् २००८ देखि यो सेवा दिँदै आएको कार्यालय प्रमुख भट्टको भनाइ छ । स्वास्थ्य कार्यालयले भने सतप्रतिशत सेवाग्राही अझै सरकारी स्वास्थ्य संस्थामा आइनसकेको जनाएको छ । 

“अझै पनि लुकीछिपी अवैधरुपमा मेडिकल र भारतमा गएर पनि गर्भपतन गराउने पनि छन्”, सूचना अधिकृत कार्कीले भने, “अवैध तरिका अपनाउँदा ज्यान जोखिममा पर्न सक्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ