arrow

सातघुम्ती आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
fire-biratnagar-2080.jpg
तस्बिर – फाइल ।

सुन्दरहरैँचा । मोरङको विराटनगर महानगरपालिका–७ को सातघुम्तीस्थित एक कवाडीखानामा बुधबार दिउँसो करिब २ः१५ बजेतिर भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दिपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीय सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । 

उनले पासवानको घटनास्थलमा नै मृत्यु भएको तथा मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा तथा कामतको काठमाडौँको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिए । 

आगोमा परी घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिङ्की कामतको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

घाइतेहरूलाई नेपाली सेनाको एयर एम्बुलेन्सद्वारा उपचारका लागि लगिएको हो । उक्त आगो छ वटा दमकल, स्थानीय र नेपाल प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो । 

साथै आगलागीबाट करिब रु ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ