arrow

सातघुम्ती आगलागीमा दुईको मृत्यु, घाइते चारै जनालाई काठमाडौँ पठाइयो  

logo
विवेक मिश्र, 
प्रकाशित २०८० मंसिर २० बुधबार
fire-biratnagar-2080.jpg

मोरङ । विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित एक कवाडीखानामा बुधबार दिउँसो करिब २५१५ बजेतिर भएको आगलागीमा घाइते भएका चार जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

आगलागीको घटनामा दुई जनाको मृत्यु भएको छ । चार जना घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले घाइतेहरुलाई जलनको गाम्भीर्यता अनुसार हवाई उद्दार गर्ने निर्णय गरेको थियो । 

सोही निर्णय अनुसार उक्त घटनामा गम्भीर घाइते भएका विराटनगर महानगरपालिका–६ की ६५ वर्षीया सुशिला पासवान र ६० वर्षीया रिता सरदार तथा घाइतेहरु विराटनगर–६ कै ५८ वर्षीय किशोर पासवान र कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामतलाई थप उपचारका लागि नेपाली सेनाको जहाजबाट कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको जनाइएको छ ।

आगलागीमा परी विराटनगर महानगरपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीय दिपक मण्डलको उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

त्यसैगरी घटनास्थलमा तत्काल लिङ्ग नखुलेको थप एक जनाको जलेर मृत्यु भएको जनाइएको छ । घटनास्थलबाट शव निकालेर पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको जनाइएको छ । 

आगलागीको कारण खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ