arrow

डायलासिस केन्द्रको उपकरण बिग्रिँदा बिरामी मारमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
Damauli Hospital.jpg
तस्बिर-फाइल

तनहुँ । तनहुँ जिल्लामा मिर्गौलासम्बन्धी रोगका बिरामी बढ्दो अवस्थामा रहँदा हाल सञ्चालित एकमात्र डायलासिस केन्द्रको उपकरण बिग्रँदा बिरामी मारमा परेका छन् । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सञ्चालित शत्रुघ्न-मञ्जु मिर्गौला डायलासिस केन्द्रमा डायलासिस उपकरण बिग्रिँदा बिरामी मर्कामा परेका हुन् ।

उपकरण बिग्रिएपछि बिरामी र बिरामीका परिवार पालो कुर्दासमेत उपचार गराउन नपाउँदा चिन्तामा परे पनि डायलासिस गर्न आउने बिरामीलाई सहज रूपमा सेवा दिन नसकिएको डायलासिस सेवा शाखाका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए ।

उनले भने, “केन्द्रमा रहेका १३ वटा उपकरणमध्ये हाल चारवटामात्र चलेको छ । नौवटा बिग्रिएर बसेको छ । बिरामीका चाप धान्नै मुस्किल भएको छ । बिग्रिएको उपकरण बनाउन प्राविधिक काठमाडौँबाटै आएर बनाउँदा पनि केही समयका लागिमात्र भयो फेरी तत्काल मर्मत गर्न सकिएको छैन । अस्पतालमा बायोमेट्रिक टेक्निसियनको दरबन्दी नहुँदा उपकरण बिग्रिएपछि बनाउन बाहिरबाट प्राविधिक ल्याउनुपर्छ ।”

“पालो पर्खिएका बिरामी पनि बढेकाले उपकरण बिग्रिएपछि तिनको तथ्याङ्क सङ्कलन गर्नसमेत सकस भएको छ”, इन्चार्ज शैलेन्द्र पण्डितले भने, “उहाँहरुको आशा पालो पाइन्छ कि भन्ने हुन्छ तर अहिलेसम्म अपडेट गरिएको छैन । पुराना उपकरण बनाउँदा पनि चलाउने सम्भावना नरहेकाले अहिले दैनिक १६ जनाले मात्र डायलासिस गराइरहेका छन ।”

उनका अनुसार ७० जना मिर्गौलाका बिरामीले नियमितरुपमा डायलासिस गराइरहेका छन् । हालसम्म ३० जनाभन्दा बढीले पालो पर्खिरहेका छन् । हामीले फलोअप गर्दा आशा लागेका बिरामी निराश हुने अवस्था छ । तथ्याङ्क फलोअप नै गरिएको छैन ।

दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले डायलासिस केन्द्रमा अधिकांश उपकरण बिग्रँदा सेवा प्रवाहमा सकस भएको बताए । उनले भने, “विभाग, मन्त्रालयलगायत सम्बन्धित निकायमा यसबारे पटकपटक ध्यानाकर्षण गराएँ । तर, सुनुवाइ भएको छैन ।”

चारवटा उपकरण मात्रै सञ्चालन हुँदा मध्यरातसम्म कुरेर बिरामीले डायलासिस गर्नुपरेको छ । अध्यक्ष थापाले भने, “धेरै उपकरण बिग्रिएकाले चार घण्टासम्म गर्नुपर्ने डायलासिस तीन घण्टामात्र गरिएको छ । बिरामीको चाप धेरै हुँदा मध्यरातसम्म बसी बिरामीले पालो कुरेर उपचार गर्ने गर्नुभएको छ ।”

डायलासिस केन्द्रमा नियमितरूपमा डायलासिस गराउँदै आएकामा उपकरण बिग्रिएपछि सबैलाई समयमै पालो दिन डायलासिसको समय घटाइएको उनले जानकारी दिए । माग धेरै छन् तर सबैलाई सेवा दिन नसकिएको समितिले जनाएको छ ।

विसं २०८० जेठ १७ गते राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौँको प्राविधिक टोली आएर बिग्रिएका उपकरण मर्मत गरी सञ्चालनमा ल्याए पनि पुनः ती उपकरण बिग्रिएका छन् । तीस जना बिरामी पालो कुरेर बसेका छन् ।

अध्यक्ष थापाले भने, “प्रदेश सरकार र सङ्घीय सरकारसँग उपकरण थप गरी सेवा सहज बनाउन र बिग्रिएका उपकरण बनाउन बारम्बार माग गरे पनि सुनुवाइ भएको छैन ।”

विभागबाट अस्पतालका लागि पाँचवटा उपकरण पठाइएकामा दुईवटा यहाँ छाडेर प्रदेश सरकारले तीनवटा लगेपछि यहाँ अहिले सेवा प्रवाह गर्नै मुस्किल भएको उल्लेख गर्दै अध्यक्ष थापाले भने, “प्रदेश सरकार जिम्मेवार नहुँदा समितिले काम गर्न नसकेको अवस्था छ ।”

पठाएको उपकरण नै प्रदेशले लगेपछि अहिले तत्काल पठाउन नसकिएको विभागले जनाएको उनले सुनाए । अस्पताल प्रदेश मातहत भएपछि प्रदेश सरकार समयमा जिम्मेवार भएमा सेवा प्रवाह सहज बनाउने सकिने अध्यक्ष थापाको भनाइ थियो ।

विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भएको थियो । हेल्थ केयर फाउन्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको हो । केन्द्रमा सुरुमा रु एक करोड २० लाखको लागतमा छ वटा डायलासिस उपकरण जडान गरी सेवा प्रवाह गर्न थालिएको थियो । पछि तीनवटा उपकरण थप गरिएको हो ।

उक्त केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुघ्न उपाध्यायको स्मृतिमा दमौली अस्पतालमा रु एक करोड सहयोग गरेकी थिइन् भने पछि उपकरण थप गर्न रु २५ लाख सहयोग गरेकी थिइन ।

जिल्लामा डायलासिसका लागि सेवा नहुँदा मिर्गौला पीडितलाई यसअघि अन्यत्रै जिल्लामा गएर सेवा लिनुपर्ने बाध्यता थियो । यहाँ तनहुँलगायत लमजुङ, गोर्खा, कास्कीका बिरामी उपचाररत छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ