arrow

कान खोलेर सुन व्यभिचारीहरू हो !

logo
शीतल गिरी,
प्रकाशित २०८० मंसिर १६ शनिबार
shital-giri-2080-08-15.jpg

बलात्कार
तिम्रो वासनाको
एउटा सिकार
म पनि बनेकी थिएँ
दुई आँखाका कुनाबाट
आँशु बगाउँदै इज्जत नबिगार्ने याचना गर्दै
आफूलाई विवश अबला ठान्दै
भोलिको भविष्य नष्ट हुने कल्पना गर्दै
र गोडा समातेकी थिएँ तिम्रो ।

तिम्री बहिनी र मैले
मितेरी लगाएकी थियौँ
सदा–सर्वदालाई
आफन्त ठान्दै
एक दिन
सङ्साझै
घरमा कोही नभएको बेला
तिमी आयौं !

मैले
आफन्त ठानी स्वागत गर्न नपाउँदै
एक्कासी बलात्कार गर्यौ तिमीले
त्यस बेलाको
तिम्रो क्रूर अनुहार
जब सम्झन्छु
सम्पूर्ण पुरुष जातिलाई नै घृणा गर्न पुग्छु
बहादुरी देखायौ तिमीले आफ्नै बहिनीलाई
बलात्कार गरी
सम्पत्तिको धाक
देखायौ तिमीले
सत्यलाई कुल्चदै
मेरो गर्भमा सल्बलाउँदै गरेको
समय समयमा
मलाई पीडा दिएको
मेरै रगतले बचेको
तिम्रो दानवताको
प्रमाण मसँग छ ।

बलात्कार
पहिलो पटक
तिम्रो वासनाको कारण मेरो जीवन
निभेको आगो बन्न पुग्यो
काँडाको माझ पुग्न पुग्यो
औँशीको रात बन्न पुग्यो
तर हिजो आज 
तिमीबाट सिकार भएकी म
म स्वयं
आगो बाल्न अघि सरेकी छु
काँडा फाँड्न लागिपरेकी छु
धारिलो खुकुरी हातमा लिएकी छु
विषालु सर्प मास्न थालेकी छु
औँशीका अँधेरी रात पन्छाउँदै छु ।

बघिनी बनेकी छु म आज
तिमी जस्ता दुष्टहरूलाई खोज्दै हिँड्ने
बलात्कार !
अब हुन दिने छैन म कुनै नारीलाई
अब त
तिमीजस्ता बलात्कारीलाई
माटो मुनि पुर्याउने छु
कालो मोसो दलेर घुमाउने छु
चौबाटोमा गिँड्ने छु    
हिँड्दै छु म
सम्पूर्ण जनताको साथ
यो निश्चय लिएर
तिमीजस्ता अपराधीलाई
उचित सजाय दिन भनेर ।

ममा शाहस भरिएको छ
जीन्दगीलाई नजिकबाट छाम्नाले
जनताले ल्याएको आँधी बेहरीको झोँक्काले
सोत्तर पारिदिनेछ
ध्वस्त पारिदिनेछ
बलात्कारीहरूलाई ।

बलात्कारीहरूका बाहुले 
गाँज्न सक्ने छैन अब नारीलाई
काँतर, डरपोक आमाबाबुले
लखेट्नु पर्ने छैन अब छोरीलाई
अब त
सम्पूर्ण जनताले
गाँस, बाँस, कपासको लागि
राजनैतिक स्वतन्त्रताको लागि
शोषणबाट मुक्त हुनको लागि
जनताको राज्य बनाउनको लागि
छर्दैछन् चारैतिर आगो नै आगो ।

हो पक्का हो !
कान खोलेर सुन व्यभिचारीहरू हो !
तिमीहरूले केही नाप्न सक्ने छैनौ अब
तिमीहरू त पोलिएर राख बन्ने छौ अब ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ