arrow

दर्पणः सर्ग-१२ बेलायत पर्वबाट

logo
चन्द्र आचार्य,
प्रकाशित २०८० मंसिर १६ शनिबार
chandrakanta-acharya-2080-0.jpg

रसै  बर्सेजस्तो कति मधुर हो जीवन अहा !
यसैमा डुब्ने हो सरर मन भैगो अब यहाँ 
मनै मिल्दाजुल्दा तन अब मिले सुन्दर भयो
यसो भोग्दा ऐले अति सरस यो जीवन भयो ।

सबै डाँडाकाँडा कति सरस छन् यै वरिपरि
यिनैका हावाले सरर तन हुन्छन् घरिघरि
अझै टाढा हेर्दा कति शिखर सेता हिमचुली
मनै हर्ने ती छन् सब किसिमले छौँ घरमुली ।

यही हावा पानी सब कुशल भै मंगल भयो
यही खेती गर्ने कति कृषक देक्ता मन रम्यो
कतै बाला राम्रा शहरतिर देख्नै पनि मिल्यो
यसै मेसोमा नै अब त रसिलो जीवन फुर्यो ।

विश्वविद्यालयै त्यत्रो नामी अक्सफोर्ड जो थियो
नाम पैलो भयो मेरो गर्नु के अब चुन्नुथ्यो
यता माया उता काया वर्ष एक पूरै हुने
छाडेर कसरी बस्ने बदनाम जसो हुने ।

मुनामदन पो सम्झ्यौँ हामी दुई परस्पर
आफ्नै किसिमका यस्ता बाध्यता छन् निरन्तर
नगएको भए हुन्थ्यो भोट ती मदनै तब
निर्मला मनमै राख्छिन् पुरानो विषयै अब ।

मुना ती किन रोई हुन् गरिबी बाध्यता थियो
घटना न हुनै पर्ने पीडा त्यो अति नै भयो
अब त्यस्तो हुने छैन कथा अर्कै बनाउँला
सपना विपना बन्लान् पैल्यै 'मदन' आउला ।

बेलायतबाट फर्कदा उडान रद्द हुँदाः
  प्रातःकाल कठै उठेर सहजै एयरपोर्ट दौड्ने हुनन्
  त्यो छोरी कलिली लिएर सँगमा कुर्दै बसेकी हुनन्
  त्यस्तोमा सब निस्कदै गरिसकुन् आफ्नो त आउन्न है
  के होला तब ती सुकोमल परी सोच्नै म के सक्नु खै !

  त्यो बेला गतिली मुना बितिगइन् जाली समाचारले
  त्यस्तो त्यो अभिशाप ती मदनले भोग्नै पर्यो कर्मले
  त्यो कालो समयै अहो बितिगयो ऐले विचारै अरु
  यो जाली खबरै जसो हुन गयो लेख्नै नपर्ने बरु ।



नयाँ