arrow

दधिराज सुवेदी राष्ट्रिय पुरस्कार श्रेष्ठ र झालाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ७ बिहिबार
bhagirathi-shrestha-dharmen.jpg

विराटनगर । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई र ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार २०८०’  वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने दुवै पुरस्कारको राशि क्रमशः  ५१ हजार र २५ हजार रुपैयाँ रहेको छ । नेपाली साहित्यको आख्यान विधामा पाँच दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि साहित्यकार श्रेष्ठलाई र पत्रकारिताको क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि वरिष्ठ पत्रकार झालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । 

प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले उक्त निर्णय गरेको हो । यसअघि भाषा साहित्य पुरस्कारबाट, साहित्यकारहरू प्राडा गोविन्दराज भट्टराई, प्राडा अभि सुवेदी, प्राडा माधवप्रसाद पोखरेल, डा विष्णुविभु घिमिरे, एस्पी कोइराला  प्राडा चूडामणि बन्धु र सनत रेग्मीलाई र पत्रकारिता पुरस्कार पत्रकारहरू हरिबहादुर थापा, शिवबहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल, भूषण दाहाल र अनन्तराज न्यौपानेलाई प्रदान गरिएको थियो ।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको १५ लाख रुपैयाँको अक्षय कोषको व्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिंदै आएको छ । 

यस वर्षका पुरस्कारहरू आगामी २०८० मंसिर ३० गते विशेष समारोहको आयोजना गरी विराटनगरमा समर्पण गरिने प्रतिष्ठानको बुधबार बसेको बैठकले निर्णय गरेको महासचिव दिङ्लाली कान्छोले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ