arrow

‘पश्चिमा संस्कारको प्रभावले प्राचीन संस्कृति सङ्कटमा’

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
sangosti pokhara.jpg

पोखरा । प्राचीन संस्कृति सङ्कटमा पर्दै गएको भन्दै पोखरामा भएको गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले चिन्ता व्यक्त गरेका छन् । पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकामा उनीहरुले चिन्ता व्यक्त गरेका हुन् ।

नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङ अन्तर्गत राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजना, जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानको संयोजन, पोखरा प्रज्ञा-प्रतिष्ठानको सहकार्य तथा गण्डकी प्रदेशका विभिन्न संस्थासँगको समन्वयमा पोखरामा आयोजित संगोष्ठीमा यस विषयमा चिन्ता व्यक्त गरिएको हो । 

संगोष्ठीमा प्राडा माधवप्रसाद पोखरेलले ‘गण्डकी प्रदेशमा बोलिने भाषाहरूको अवस्था’, प्राडा कुसुमाकर न्यौपानेले ‘गण्डकी प्रदेशको संगीत’, प्राडा ज्ञानबहादुर कार्कीले ‘स्याङ्जाका चारकोटहरूको चिनारी र ऐतिहासिकता’, प्राडा जगन्नाथ रेग्मीले ‘पर्वत, मोदी र बेनीको महत्व’, डा शान्ता खत्रीले ‘कुमाल जातिको परम्परागत संस्कृति र पेशामा भएको परिवर्तन’, लक्ष्मण श्रेष्ठले ‘पोखरेली गाईजात्रा परम्परा र लोक प्रचलन’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।

यस्तै, अतिथि प्रस्तोताका रूपमा डा गोविन्द आचार्यले ‘देउखहर्या थारू समुदायको वाल वाली गुरही टिउहार’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।

गोष्ठीका वक्ताले यस्ता कार्यक्रमले नेपालमा प्रचलित संस्कार, संस्कृति, भाषा, कला, इतिहास तथा पुरातत्वको संरक्षण एवम् प्रवर्द्धन गरी राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने विश्वास व्यक्त गरे । 

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विविधतायुक्त समाजका विविधतालाई कायम गर्दै मौलिक संस्कृतिको जगेर्ना आजको आवश्यकता भएको बताए । उनले व्यवहारिक शिक्षा आजको आवश्यकता भएको भन्दै हाम्रो संस्कार र संस्कृति बच्यो भने मात्र हाम्रो स्वाभिमान बच्ने स्पष्ट पारे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली संस्कृतिको अभिन्न अंग साहित्य भएकाले हाम्रो प्राचीन साहित्य कसरी पुनःलेखन भएको भन्दै त्यसमा ध्यान जान आवश्यक रहेको बताए । उनले सांस्कृतिक क्षयीकरणको अवस्थामा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका अध्यक्ष प्राडा भीमप्रसाद खतिवडाले विश्ववन्धुत्व हराएको बेला हाम्रा संस्कार र संस्कृति पुस्तान्तरण नभएकोमा चिन्ता व्यक्त गर्दै समाजमा सांस्कृतिक सन्तुलन र पुस्तान्तरणका लागि व्यवहारिक शिक्षा आवश्यक भएको बताए ।

नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. जर्मन चौधरीले केन्द्रले स्थापनाकालदेखि अधिराज्यव्यापी बहुभाषिक तथा बहुसांस्कृतिक अध्ययन-अनुसन्धानमा क्रियाशील रहेको धारणा राखे ।

गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले हाम्रो संस्कृतिलाई समाप्त पार्नेका विरुद्ध खबरदारी आवश्यक रहेको बताए ।

पोखरा प्रज्ञा-प्रतिष्ठानका कुलपति पद्मराज ढकालले कला संस्कृतिको जगेर्ना राज्यको दायित्व भएकाले यस्ता कार्यक्रममा सहकार्य गर्दै आएको बताए ।

कार्यक्रम संयोजक जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले गोष्ठीपत्रलाई प्राप्त भएका सुझावलाई समेटेर तिनको सम्पादनसहित प्रकाशन गरिने जानकारी दिए ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले सङ्गोष्ठी सफल पार्न प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ