arrow

नमोबुद्ध जात्रा : बौद्ध धर्मावलम्बीको खुशीयालीको पर्व

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २ शनिबार
Namo buddha mela.jpg

काभ्रेपलाञ्चोक । शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन कात्तिक शुक्ल पूर्णिमा तिथि ।

बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमि जो, ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको दस्तावेजमा उल्लेख गरिएका छन् ।

काभ्रेपलाञ्चोकको उक्त ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्ध नगरपालिका-११ नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा मेला लाग्ने गर्दछ । 

यो वर्ष सो मेला-जात्रा यही मङ्सिर १० गतेदेखि तीन दिनसम्म मनाइन्छ ।

किंवदन्तीअनुसार द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको ठूलो भीड लाग्ने गर्दछ । 

मेलामा करिब एक लाखले नमोबुद्धको दर्शन-पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

जात्राको सुरुको रातभरि नमोबुद्धमा मेला लाग्ने गर्दछ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेहरुको उत्तिकै भीड लाग्ने गर्दछ ।

नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्ती प्रज्वलन गरिन्छ । 

“यहाँ बर्सेनि पितृलाई बत्ती बाल्ने परम्परा रहँदै आएको छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता छ”, लामाले भने ।

विशेषगरी तामाङ र नेवार समुदायका धर्मावलम्बीले मेला भर्ने गरेको नमोबुद्धका मूल लामागुरु कान्छा लामा बताउछन् ।

उनका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेकी थिइन् ।

सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो ।

“पाँच डमरु जन्माएका बघिनी लक्ष्मी मानिएको हो भने, पाँच डमरु भिक्षु भएका थिए”, लामागुरु लामाले भने ।

उनका अनुसार राजकुमारले बघिनीलाई बचाएर आफूले देहत्याग गरेपछि राजारानी सोही नजिकै बाँकी जीवन चैत्यसेवामा बिताएका थिए ।

लामागुरुले भने, “तत्पश्चात् राजारानी शङ्खेश्वरी अजिमाको नामले चिनिनुहुन्छ ।”

संवत् ९७४ मा गन्धमान पर्वतकै टुप्पोमा अस्थिपञ्जर जम्मा गरी स्तूपा (चैत्य) बनाएको अभिलेख पाइन्छ ।

सो पर्वत आठ हजार फिटको उचाइमा रहेको छ ।

सो पर्वतमा राजकुमारले बघिनीलाई आफैँले शरीरको मासु काटेर खुवाइरहेको दृश्य कुँदिएको मूर्ति रहेको छ ।

नमोबुद्धमा सधैँजसो स्वदेशलगायत विदेशका बौद्धमार्गीको चहलपहल हुने गरेको स्थानीयवासी राकेश लामाले बताउछन्

उनका अनुसार मेलामा यो वर्ष छिमेकी जिल्लाहरु सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, भक्तपुर, ललितपुर, काठमाडौँ, धादिङ, नुवाकोट लगायतबाट सहभागिता रहने गर्दछ ।

नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्ने गर्दछ ।

प्रचलनअनुसार धार्मिक भाद्र कृष्ण द्वादशीको दिन नमाबुद्धको खटलाई पनौतीस्थित राजदरबारमा ल्याई दुई दीपङ्कर बद्ध, अजा अजिमाँसहितको भव्य जात्रा आयोजना गर्ने गरिन्छ ।

राजकुमारको जन्मघर काशीवर्ण महावीर अर्थात् हाल पनौतीको प्रसिद्ध तलेजु भवानी नजिक हो । धेरैजसो बुद्धमार्गी भक्तजन पनौतीभन्दा नमोबुद्धस्थल जाने गरेको पाइन्छ ।

सो गन्धमान पर्वत (हालको पर्यटकीय नमोबुद्ध)मा कल्पवृक्ष, रुद्राक्ष, अशोक, मसला, उत्तिस, सल्ला, अग्राख, लप्सी, कपुर, काफल, श्रीखण्डजस्ता सयौँ प्रकारका रूखबिरुवा तथा बाघ, भालु, बँदेल खरायो, हरिणजस्ता जन्तु पाइन्थ्यो ।

साथै, मयूर, हाँस, वनकुखुरालगायत पक्षी उक्त जङ्गलमा पाइने गरेकामा हाल पाइन छाडेको लामा बताउछन् ।

केन्द्रीय राजधानी काठमाडौँबाट ३२ किलोमिटरको दूरीमा अवस्थित धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा नमोबुद्ध पर्दछ ।

यस क्षेत्रमा लामा, महायानी गुम्बा, ढुङ्गाद्वारा निर्मित ठूलाठूला बुद्धमूर्ति, चैत्य रहेको छ । 

‘नमोबुद्ध महासत्व देगाल’ सामान्य नेवारी घरशैलीको मन्दिर रहेको छ ।

यस पर्वतबाट ऐतिहासिक पनौतीलगायत हरियाली बस्ती तथा पूर्व-उत्तरतर्फका हिमशृङ्खला र पहाडी मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

यसैबीच नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन नगर कार्यालयले गत साल गुरुयोजना तयार गरी काम अघि बढाइएको छ ।

रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी काम अघि बढाइएको नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायत पूर्वाधार विकासका काम भइरहेको छ ।

सुरक्षा व्यवस्थापनका लागि सिसी टिभी क्यामेरासमेत जडान गरिएको छ ।

पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिम शृङ्खलाहरु देख्न सकिन्छ ।

यस्तै ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहलसमेत थालिएको छ ।

हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् ।

गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ