arrow

विश्व कीर्तिमानी मुटुरोग विशेषज्ञको आफ्नै ‘डा.ओम फाउन्डेसन’ विधिवत संचालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
dr-om-murti-anil.jpg

काठमाडौँ । विश्व कीर्तिमान राख्न सफल मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले स्थापना गरेको  ‘डा. ओम फाउन्डेसन’को  शुभारम्भ गरिएको छ।

बिहीबार महोत्तरीको बलवा नगरपालिका–१० धमौरामा मुटुरोग सम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै फाउन्डेसनको औपचारिक शुरुवात गरिएको हो।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव तथा बलवा नगरपालिकाका मेयर रामविजय महतोले संयुक्त रुपमा फाउन्डेसनको कार्यक्रमको शुभारम्भ गरे । 

शिविरमा  ४२८ जनाको मुटुरोग सम्बन्धी (ईसीजी), इको, ब्लड सुगर, लिपिड लगायत परीक्षण गरिएको थियो । जसमध्ये इको २४२ जना, ईसीजी ३२५ जना, सुगर ३४० जनाको जाँच गर्नुका साथै ४ सय जनाभन्दा बढी बिरामीलाई औषधीसमेत  प्रदान गरिएको थियो ।

साथै स्वास्थ्य सचेतनाको लागि विभिन्न प्रकारका ब्रोसर, पम्फ्लेट पनि वितरण गरी खानपिन र जीवनशैलीको बारेमा परामर्श प्रदान गरिएको थियो ।

बलवा नगरपालिकासँगको समन्वयमा सञ्चालन भएको उक्त  शिविरमा फाउन्डेसनका संस्थापक अध्यक्ष डा. ओम मूर्ति अनिलको नेतृत्वमा काठमाडौँबाट गएका डा. अभिषेक कुमार यादव, डा. पूजा सिंह, डा. ओम मूर्ति निखिल, गौरव सिंह, पार्वती भगत, सत्यम् कुमार गुप्ता, राजन कुमार गुप्तालगायतका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीसहित करिब ४०  जना स्थानीय स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरी तीन  दिनसम्म बिरामीको स्वास्थ्य जाँच गरिएको थियो ।

फाउन्डेसनले काठमाडौँको बसुन्धारास्थित केन्द्रीय कार्यालयबाट निःशुल्क टेलिमेडिसिनको सेवा प्रवाह गर्दै आएको छ । हालसम्म वैदेशिक रोजगारीमा रहेका र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका करिब पाँच सय जनाले फाउन्डेसनको वेबसाइडमा सम्पर्क गरी निःशुल्क टेलिमेडिसिनको सेवा प्राप्त गरिसकेका छन् ।

शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा समेत कार्य गर्ने फाउन्डेसनले आगामी दिनमा देशका विभिन्न जिल्लाका ग्रामीण तथा दूरदराजमा रहेका जनताको सेवाका निम्ति रचनात्मक कार्य गर्ने तयारी गरिरहेको डा. अनिलले बताए । 

उनको सामाजिक रूपान्तरणका निम्ति लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने रकम फाउन्डेसन मार्फत् असहाय वृद्धवृद्धाका निम्तिसमेत खर्च गरिँदै आएको उनले बताए । 

यस्तो छ डा. ओम मूर्ति अनिलको नाममा रहेको विश्व कीर्तिमान
डा. ओम मूर्ति अनिलले मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन् । सामाजिक सञ्जालमार्फत् जनचेतना जगाउँदै आएका उनले विश्व मुटु दिवसको अवसर पारेर दिएको मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिले विश्व रेकर्ड बनाएको हो । 

गत १२ असोजमा आफ्नो फेसबुक पेजबाट आफूले दिएको मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिले विश्व रेकर्ड कायम गरेको डा ओममूर्ति अनिलले बताए । 

उनका अनुसार फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्ड रेकर्डस् कायम गरेको हो । 

गत १२ असोज शुक्रबार बेलुकी ७ः१५ बजेदेखि शुरु भएको आधा घण्टा लामो उक्त प्रस्तुतिमा ११ हजार २१२ सय जनाले एकैपटक प्रत्यक्ष हेरेका थिए । आधा घण्टा लामो वैज्ञानिक प्रस्तुतिलाई त्यति ठूलो संख्यामा नेपाली नागरिकहरूले अन्त्यसम्म हेरेर विश्व रेकर्ड कायम गर्न साथ दिएका उनले बताए । 

डा. ओम मूर्ति अनिलको ३० मिनेट लामो उक्त फेसबुक लाइभलाई ९ हजार जनाले शेयर गरेका थिए । त्यस क्रममा २० हजार लाइक र १८ हजार कमेन्ट आएका थिए । फेसबुक लाइभ प्रस्तुति सम्पन्न हुँदासम्म १ लाख ५० जनाले हेरेको डा. अनिलले जानकारी दिए । 

लाइभ प्रस्तुतिपछि ‘गिनिज वल्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी उनले विश्व रेकर्ड कायम भएको दाबी पेस गरेका थिए । व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस रेकर्डले संसारभरका मानिसको लागि प्रेरणाको स्रोत सावित हुनेछ । 

डा.अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत् जनचेतनामूलक अभियान सञ्चालन गर्दै आएका छन् । 

सन् २०१३–१४ मा इमेज न्युज एफ एम १०३.६ मा अतिथि वक्ताको रुपमा लगातार ४४ हप्ताको इपिसोड गरेर विश्व रेकर्ड कायम गरेकाा थिए । यो कार्यक्रम मुटुरोगको बारेमा सचेतना फैलाउने उद्देश्यले संचालन गरिएको थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ