arrow

पर्वत, बागलुङ र म्याग्दीमा १२औँ लोकवार्ता सङ्गोष्ठी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
Lok barta parishad.jpg

गण्डकी । लोकवार्ता परिषद् नेपालले पर्वत, बागलुङ र म्याग्दीमा १२औँ लोकवार्ता सङ्गोष्ठी आयोजना गर्ने भएको छ । 

नेपाली जनजीवनमा प्रचलित संस्कृति, लोककला, साहित्य, संस्कार, रीतिथिति तथा परम्परागत ज्ञानको अध्ययन र संरक्षण गर्ने उद्देश्यले गोष्ठी आयोजना गर्न लागिएको हो ।

परिषद्दवारा आयोजित उक्त सङ्गोष्ठी यही कात्तिक १८-१९ पर्वत, २१ बागलुङ र २२-२३ गते म्याग्दीमा सञ्चालन हुने सङ्गोष्ठी तयारी समिति बागलुङका संयोजक प्रा डा दिनबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार सङ्गोष्ठीमा विषय विज्ञद्वारा कार्यपत्र प्रस्तुति गर्नुका साथै त्यसमाथि बहस र समीक्षा हुनेछ ।

“तीनै जिल्लाका कार्यक्रममा पहिलो दिन २० कार्यपत्र प्रस्तुत हुनेछन् । केही जिल्लाबाट र अधिकांश बाहिरबाट आउने विज्ञहरुले कार्यपत्र पेस गर्नुहुनेछ”, थापाले भने, “दोस्रो दिन जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन भ्रमण तय गरिएको छ ।”

सो कार्यक्रमले धवलागिरि क्षेत्रको सभ्यता र संस्कृतिको अध्ययन÷अनुसन्धानमा विद्धान तथा खोजकर्तालाई प्रेरित गर्ने विश्वास आयोजकले लिएको छ । 

विभिन्न जातजातिको संस्कृति, जीवनशैली, धार्मिकस्थल, प्राकृतिक सम्पदा, कला, साहित्य आदिको उत्थान र संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने थापाको भनाइ थियो ।

परिषद्ले सम्बन्धित विषयका विज्ञहरुलाई लोकवार्ताका विविध विषयमा अध्ययन गर्न लगाएर उक्त अध्ययनबाट आउने निचोडलाई पुस्तकका रुपमा प्रकाशन गर्दै आएको छ । 

परिषद्ले बर्सेनि विभिन्न जिल्लामा पुगेर लोकवार्ता सङ्गोष्ठी गर्ने गरेको छ । 

पर्वत, बागलुङ र म्याग्दीमा हुने सङ्गोष्ठीमा बाहिरबाट आउने ५० अतिथिसहित झण्डै एक सयको सहभागिता हुने संयोजक प्रा डा थापाले जानकारी दिए । 

स्थानीय तहलगायत विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा सो कार्यक्रम गर्न लागिएको उनले बताए । 

“खोज, अनुसन्धान र प्राज्ञिक विषयसँग सम्बन्धित कार्यक्रम भएको हुँदा लोकवार्ता सङ्गोष्ठीले छुट्टै महत्व र गरिमा बोकेको छ”, थापाले भने, “परम्परागत ज्ञानको खोजी र संरक्षणले नै हाम्रो पहिचान स्थापित हुन्छ भन्नेमा परिषद् दृढ छ । यो अभियानमा सबैको सहयोगको अपेक्षा गरेका छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ