arrow

नेपालका आचार्यलाई हराँउदै हसिनाकी छोरी वाजेद बनिन् निर्देशक, शक्तिप्रयोगको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
Saima-Wazed.jpg
शम्भु आचार्य र साइमा वाजेद

काठमाडौँ । नेपालका शम्भु आचार्यलाई हराँउदै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण-पूर्वी एसिया निर्देशकमा बङ्गलादेशकी साइमा वाजेद चयन भएकी छन् । 

वाजेद बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्। वाजेदमाथि उक्त पदमा मनोनीत हुनका लागि आफ्नी आमाको शक्तिप्रयोग गरेको आरोप लागेको छ । 

डब्लुएचओको वरिष्ठ भूमिकामा तीन दशकभन्दा बढी समय काम गरेको अनुभव भएका वासिङ्टन विश्वविद्यालयमा विश्व स्वास्थ्य विषयका प्राध्यापक ६५ वर्षीय शम्भु आचार्यलाई बुधबार भएको गोप्य मतदानमा उनले पराजित गरेकी हुन् ।

शक्तिप्रयोग गरेको आरोपले यनले खण्डन गर्दै आएकी छन् । “म स्वस्थ दक्षिण-पूर्वी एसिया निर्माण गर्न आतुर छु,” विश्वको एक चौथाइ जनसङ्ख्या रहेको ११ राष्ट्रको क्षेत्रको नेतृत्व गर्ने पदका लागि छनोट भएपछि वाजेदले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा लेखेकी छन् । 

स्वास्थ्यसम्बन्धी प्रतिष्ठित जर्नल द लान्सेटले यो पोस्टलाई ‘विशेष गरी सङ्कटको समयमा विश्वव्यापी स्वास्थ्य सेवाका लागि सबैभन्दा महत्त्वपूर्ण भूमिकाहरूमध्ये एक’ भएको उल्लेख गरेको छ ।

द ल्यान्सेटले सेप्टेम्बरमा वाजेदको उम्मेदवारीले ‘पारदर्शिता र नातावादमाथि प्रश्न उठाएको’ उल्लेख गर्दै हरेक अन्य राष्ट्रले चिकित्सक वा विद्यावारिधि गरेका वा दुवै योग्यता भएका उम्मेदवारलाई पदका लागि सिफारिस गरेका बताएको थियो । 

ल्यान्सेटले भनेको छ, “वाजेदको हजुरबुवाको नाममा स्थापित बङ्गलादेशी विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको र सम्भवतः यसकै आधारमा एक्समा डाक्टर सायिमा वाजेद नामक अकाउन्ट खोलिएको र यसैलाई आधार बनाएर उनलाई नियुक्ति दिइएको छ ।” 

वाजेदले फ्लोरिडाको ब्यारी युनिभर्सिटीबाट विद्यालय मनोविज्ञानमा ‘एड्भान्स्ड ग्राजुएट डिग्री’ हासिल गरेको नियुक्तिका लागि दिइएको उनको निवेदनमा उल्लेख छ । 

वाजेदले गत महिना नातावादको दाबीलाई अस्वीकार गर्दै आफूलाई बङ्गलादेशको रणनीतिक मानसिक स्वास्थ्य योजनाका लागि प्रमुख सल्लाहकारमा नियुक्त गरिएको बताएकी थिइन् । 

उनले लेखेकी छन्, “मेरो स्पष्ट जानकारी र अनुभवलाई अवमूल्यन गरिनु र मलाई मेरी आमाको छोरीको रूपमा मात्र सीमित गर्नु लैङ्गिक विभेद हो र विरोधलाई पनि त्यस्तै रूपमा सम्बोधन गर्नुपर्छ ।”

नयाँ दिल्लीमा भएको जी-२० शिखर सम्मेलन, दक्षिण अफ्रिकाको ब्रिक्स शिखर सम्मेलन र संयुक्त राष्ट्रसङ्घको महासभालगायत थुप्रै उच्चस्तरीय कूटनीतिक कार्यक्रममा वाजेद आफ्नी आमासँगै गएकी थीइन् । 

देशका संस्थापक नेताकी छोरी तथा वाजेदकी आमा हसिना १५ वर्षदेखि बङ्गलादेशको सत्तामा छिन् भने उनले तीव्र आर्थिक वृद्धिको नेतृत्व गरिरहेकी छन् । तर उनको सरकारमाथि भ्रष्टाचार र मानव अधिकार उल्लङ्घनको आरोप लाग्दै आएको छ ।

बङ्गलादेश, जहाँ तीन महिनाभित्र आम चुनाव हुनेछ, मा हसिनाका धेरै समर्थकले वाजेदलाई आफ्नी आमाको सम्भावित उत्तराधिकारीको रूपमा हेर्छन् । 

वाजेदको मनोनयनलाई जनवरीमा डब्लुएचओको शीर्ष बोर्डले अनुमोदन गर्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ