arrow

सम्पादकीय

किन्तु परन्तु नभनी संक्रमणकालीन न्यायको टुङ्गो लगाऊ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
dwanda-pidit-2080-07-14.jpg

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणमा आएर संक्रमणकालीन न्यायको विषय ब्युँताइदिएका छन् । संघीय संसद्को संयुक्त सदनलाई मंगलबार सम्बोधन गर्ने क्रममा उनले टुंगिन बाँकी रहेको संक्रमणकालीन न्याय, जलवायु परिवर्तनको असर र विश्व शान्तिमा नेपालका सेना तथा प्रहरीले पुर्याएको योगदान गरी तीन मुख्य मुद्दा बाहिर ल्याए । 

उनले नेपालले लामो समयको प्रयासपछि संक्रमणकालीन न्यायको माध्यमबाट द्वन्द्वको घाउ निको पार्न लागिरहेको चर्चा गर्दै यसले नेपालको दिगो शान्ति र विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । सो क्रममा गुटेरेसले पीडितको पीडालाई ध्यान दिएर संक्रमणकालीन न्यायको टुङ्गो लगाउन पनि सुझाएका छन् । 

उनले अन्याय खेपिरहेका पीडित, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णबिराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्नेमा जोड दिँदै संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । 

उनले यो प्रक्रिया सजिलो भने नभएको जिकिर गर्दै समावेशी र पीडित केन्द्रित भएरमात्रै संक्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन सकिने बताएका छन् । 

गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने, सर्वोच्च अदालतका निर्णय र पीडितका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न र यसलाई व्यवहारमा ल्याउनका लागि राष्ट्र संघ नेपाललाई सहयोग गर्न तयार रहेकोसमेत बताएका छन् । 

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पुग्दासम्म संक्रमणकालीन न्याय टुङ्गो लाग्न सकेको छैन । शान्ति सम्झौता भएपछि बनेका हरेक सरकारले यो विषय चर्चामा ल्याइरहने तर टुङ्गोमा पुर्याउन प्राथमिकतामा नदिँदा संक्रमणकालीन न्याय द्वन्द्वपीडितका लागि केवल पीडामात्रै बनेको छ । 

द्वन्द्वपीडितले पनि पनि गुटेरेसले जस्तै अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र द्वन्द्वपीडित परिवारको सहमतिमा संक्रमणकालीन न्याय टुंग्याउन माग गरिरहेका छन् । 

संक्रमणकालीन न्याय टुङ्गोमा पु-याउनु पर्ने जिम्मा सबै राजनीतिक दलको छ छँदै हो त्यसमा सबैभन्दा बढी जिम्मेवारी स्वयं सशस्त्र द्वन्द्व गरेपछि १७ हजार नेपाली मारिनु, हजारौँ घाइते हुनु र हजारौँ परिवार पीडित हुनुले माओवादीको हो । 

माओवादीले चार पटक सत्ताको नेतृत्व सम्मालिसकेको छ । पुष्पकमल दाहाल प्रचण्डले तेस्रो कार्यकाल खाइरहेका छन् । यसअघि माओवादीबाटै डा. बाबुराम भट्टराईले नेतृत्व सम्हालेका थिए । 

पहिलो संविधान सभाको निर्वाचनपछि प्रचण्ड र बाबुरामले नेतृत्व सम्हाले । त्यतिबेलाको पहिलो म्यान्डेट संविधान निर्माण गर्नु थियो । सोही बहानामा संक्रमणकालीन न्यायबारे सोच्न सकिएन होला । तर २०७२ सालको संविधान बनिसकेपछिको पहिलो प्राथमिकता बृहत शान्ति सम्झौतालाई टुङ्गोमा पुर्याउनका लागि हुनुपर्ने थियो । 

यतातर्फ नत माओवादीका नेताहरु गम्भीर भएका छन् न त सरकारको नेतृत्व गरिरहने नेपाली कांग्रेस र एमालेका नेताहरु नै । हरेकले संक्रमणकालीन न्याय टुङ्गोमा पुर्याउने त बताउँछन् तर व्यवहारमा कुनै पनि प्रगति भएको हुँदैन । 

संसदमा विचाराधीन ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ संसदमा विचाराधीन छ । यो विधेयक पारित नहुँदासम्म संक्रमणकालीन न्याय सम्पादन प्रक्रिया अघि बढ्न सक्दैन । 

त्यसो त सशस्त्र द्वन्द्वका बेला भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरूको सत्यतथ्य पत्ता लगाउन बनेका दुई ओटा आयोग एक वर्षदेखि पदाधिकारीविहीन छन् । सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन हुँदा कर्मचारी पनि बेकामे भएका छन् । 

संसदमा विचाराधीन विधेयकको टुङ्गो नलाग्दासम्म पदाधिकारीविहीन आयोगका कर्मचारीले मात्र कुनै पनि काम अगाडि बढाउन मिल्ने देखिँदैन । 

यसअघि कसका कमजोरी भए भन्नेतिर बहस गर्नु भनेको संक्रमणकालीन न्यायको विषयलाई अझ बढी लम्ब्याउन खोज्ने चालमात्र हो । सशस्त्र द्वन्द्वका कमाण्डर प्रचण्ड नै सरकारको नेतृत्वमा छन् । संक्रमणकालीन न्याय नेपाली ढाँचामा टुङ्गो लगाउनुपर्ने विषयमा बेलाबेलामा बहस हुँदै आएको पनि छ । तर सरकारले कस्तो खालको ढाँचा बनाएर टुङ्गो लगाउने भन्ने स्पष्ट पार्न सकेको छैन । अब प्रचण्ड सरकारले यसको टुङ्गो लगाओस् । 

राष्ट्र संघका महासचिव गुटेरेस र प्रचण्ड स्वयंले नै भनेजस्तै अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र द्वन्द्वपीडित परिवारको सहमतिमा संक्रमणकालीन न्याय टुंग्याउन कुनै ढिलाइ गर्नु हुँदैन । 

अब पनि सरकारले किन्तु र परन्तु जोडेर संक्रमणकालीन न्यायलाई लम्ब्याउन खोज्छ भने त्यो माओवादीका लागि पनि सबैभन्दा ठूलो दुर्घटना हुन सक्छ । 

किनकि न्यायका लागि पीडित राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय अदालतको ढोका ढक्ढक्याउन पनि सक्छन् । पीडितलाई त्यता जान नउक्साइ सरकारले जतिसक्यो छिटो यसलाई टुङ्गोमा पुर्याओस् । 

साथै गुटेरेसले संक्रमणकालीन न्यायका लागि राष्ट्र संघ सघाउन तयार रहेको सन्देश दिएकाले फेरि कुनै अनमिन भित्र्याउने कोसिस गरियो भने मुलुकका लागि दुर्भाग्य नै हुनेछ । 

दलहरु मिलेर कोही कसैले पनि किन्तु र परन्तु नभनी यसको समाधान गरियोस् । अब कोही पनि गंगामायाहरु वर्षौँदेखि आमरण अनसन बस्न नपरोस् । 

गणतन्त्र खतरामा छ भन्ने बहाना पारेर कोही माओवादी नेता कार्यकर्ता संक्रमणकालीन न्यायलाई छायाँमा पार्ने गरी सडकमा उत्रिने काम पनि कथं नहोस् । 



नयाँ