arrow

सबै पार्टी मिलेर अगाडि बढ्नुको विकल्प छैन : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
Kp oli pokhara-2080-7013.jpg

पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मुख्य लक्ष्य नै देश र जनताको समृद्धि रहेको बताएका छन् ।

एमाले गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित विशेष समारोहमा अध्यक्ष ओलीले दिगो विकासको माध्यमबाट देश र जनताको समृद्धि गर्ने सङ्कल्प बोकेर एमाले अगाडि बढेको स्पष्ट पारे ।

कृषिमा आधुनिकीकरण, उद्योग क्षेत्रमा लगानीको  वातावरण, पर्यटन तथा प्राकृतिक सम्पदाको उपयोग गरी देश र जनताको समृद्धि गर्ने गन्तव्य एमालेको रहेको उनको भनाइ छ । 

उनले पछिल्लो समयमा देशको आर्थिक अवस्था कमजोर भएको छ, कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सबै पार्टी मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । 

वर्तमान अवस्थामा देखिएको अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउन लोकतान्त्रिक पार्टीको भूमिका महत्वपूर्ण भएको भन्दै उनले लोकतन्त्र प्राप्तिपछि भएका विकासका काम र संविधानबाट प्राप्त उपलब्धिलाई जनतामाझ लैजान जरुरी भएको बताए । 

एमालेका हरेक कार्यकर्ता दिनको १८ घण्टा जनताको सेवामा जुट्दै आउँदो निर्वाचनमा एमाले पार्टीलाई सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित गर्नुसमेत उनले जोड दिए । 

एमालेका पालामा विकास निर्माणका काम धेरै भएको दाबी गर्दै अध्यक्ष ओलीले वृद्धभत्ता, आफ्नो गाउँ आफैँ बनाऊँ,  गाउँगाउँमा सडक बाटो, शिक्षा-स्वास्थ्य जस्ता कामहरु गरेर लोकप्रियता हासिल गरेको स्पष्ट पारे । 

आफूले कुनै किसिमको भ्रष्टाचार नगरेको दाबी गर्दै अध्यक्ष ओलीले कम्बोडियामा आफ्नो लगानी नभएको र त्यो भ्रम छर्न रचिएको प्रपञ्च भएको  बताए ।

सुन तस्करी काण्डमा मुछिएकालाई कानुनी दायरामा ल्याउनसमेत उनले जोड दिए । 

पार्टीका उपाध्यक्ष रामबहादुर थापाले एमाले समाजवादको बाटोमार्फत देश र जनताको समृद्धितर्फ अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

उनले एमालेको दसौँ महाधिवेशनको कार्यदिशा पनि बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमार्फत देश र जनताको समृद्धि गर्ने नै रहेको विश्वास दिलाए ।  

नेपाली जनताको जीवनस्तर उकास्न कृषिमा आधुनिकीकरण र औद्योगीकरणलाई जोड दिनुपर्ने थापाको भनाइ थियो । 

सो अवसरमा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहणसमेत गराइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ