- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दर्शैँ नेपालीहरूको प्रमुख चाड हो । आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन मान्यजनवाट टीका प्रसाद ग्रहण गरी विशेष रूपमा पूर्णिमासम्म नै दशैँ मनाइन्छ ।
दशैँ हिन्दूधर्मीहरुको महान् पर्व भएकाले आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिन घर घरमा जमरा राखी नवमीसम्म नवरात्रि विधिले प्रत्येक दिन फरक–फरक देवीको पूजा गर्छन् । विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको हुनाले यस दिनलाई विशेष पर्वको रुपमा हेर्ने गरेका छन् ।
दुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र जमरा लगाइ यो पर्व मनाउने गरिन्छ भने किम्बदन्ती अनुसार यसै दिन रामले रावणको बध गरेका थिए । यसलाई असत्यमाथि सत्यको विजयको रुपमा लिने गर्दछन् । यसै कारण दशमीको दिनलाई विजया दशमी भनिएको हो ।
यस चाडलाई राज्यले पनि राष्ट्रिय चाडको रुपमा मनाउँछ । फूलपातीदेखि पूर्णिमासम्म सबै सरकारी निकाय तथा विद्यालयहरू बन्द गरिन्छ भने गैर सरकारी निकायहरू पनि फुलपातीदेखि द्वादशीसम्मका लागि बिदा दिइन्छ । यस चाडको अवसरमा घर आगन सफा राख्ने, नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार खानाहरू खाने तथा खुवाउने र आफ्ना नाता कुटुम्बहरूवाट टीका तथा जमरा लगाई आशीर्वाद लिने गरिन्छ ।
दशैँलाई आ–आफ्नो हैसियतका रुपमा मनाउनु पर्छ भनिएता पनि राज्यमा देखिएको आर्थिक मन्दी, बेरोजगारी, कालाबजारीका कारण दशैँ महँगो पर्वको रुपमा विकसित हुँदै गएको छ ।
कतिपयले दशैँलाई महँगो र कष्टकर रुपमा लिने गरेका छन् भने कतिपय वर्गमा रबाफ भड्किलो र प्रतिस्पर्धाको रूपमा विकसित हुँदै गइरहेको छ । हुने खानेले दशैँलाई देखासिखी र प्रतिष्ठाको रुपमा हेर्ने गरेको र गरिबका लागि कष्टकर बन्दै गएको कुरा सुन्नमा आइरहेका छन् ।
यसै सन्दर्भमा रुपन्देही जिल्ला भैरहवा बस्ने कृति थापा मगरको विचारमा ठूला व्यापारी देखि साना व्यावसायीहरू समेतले दशैलाई कमाउने धन्दाको रुपमा मौका छोप्ने हुदा सर्व साधारणलाई दशैँ अत्यन्त महँगो हुँदै गइरहेको उनको विचार छ ।
नवलपरासी जिल्लामा कार्यरत राजेशकुमार आर्यको विचारमा सीमित वर्गले दशैँलाई समाजमा आफ्नो हैसियत र प्रतिष्ठाको रुपमा मनाउने गरेको हुँदा दशैँ आफ्नो औकातअनुसार मनाउनु पर्छ भने पनि दशैँले सधै ऋण बोकाएर जान्छ । वर्ष दिनमा एकपटक आउने दशैँलाई राम्रोसँग मनाउने रहर कसलाई हुँदैन र ?
नवलपरासीका नन्दकिशोर चौधरी भन्छन्, ‘छोराछोरीहरू नयाँ लुगा र खसीको माग गर्छन् तर आर्थिक मन्दीका कारण व्यवसाय ठप्प छ । छोराछोरीलाई देशको आर्थिक अवस्था, महँगी र कालाबजारीका कारण उनका रहर पूरा गर्न कति गारो छ भन्ने कुराको बारेमा के थाहा ?’
नवलपरासी जिल्ला पश्चिमकी शाइदा निशा पठान भन्छिन्, ‘एउटा खसी किन्ने कुरा त आकाशको फल जस्तै भयो महँगीका कारण एक किलो मासु किन्न पनि अत्यन्त कठिन छ । खाधान्न, तरकारी र लत्ताकपडाको भाउ विगतमा भन्दा पनि महँगो छ ।’
काठमाडौँमा बस्ने एक गृहणीको (नाम राख्न नचाहेकी) को भनाइमा ‘पसलै पिच्छे एकै समानको भाउ फरक–फरक छ । सरकारले बजार अनुगमन गरिरहेको छ भनेर संचार माध्यमहरूमा सुन्न पाइन्छ तर यसको नियन्त्रण हुन सकेको छैन । सामानको फरक भाउको बारेमा ब्यापारीसँग सोध्दा ठाडो जवाफ दिन्छन् । कसरी मनाउने दशैँ ? आफ्नो चाडपर्व मनाउने रहर कसलाई हुँदैन र ?’
दशैँ मनाउन विदेशबाट स्वदेश फर्किएका परिवारहरू घर आउँदा भारतका नाकाहरूमा लुटिएका छन् भने विमानस्थलहरूमा अनावश्यक झण्झट र सास्ती खेप्नु परेको छ ।
अर्काको देशमा रगत र पसिना बगाएर देशको ढुकुटी भरिरहेका युवाहरू दशैँ मनाउन घर आउँदा लुटिएका छन् । मनोरन्जन गर्ने नाममा, धुमपान, मध्यपान, जुवा, तासले कयौँ मानिसहरूको परिवार बिचल्लीमा परेका छन् । दशैँमा मद्यपानको कारण यस समयमा झैँझगडा र हिंसामा पनि वृद्धि भएको छापाहरूमा आइरहेका छन् ।
विगतमा एक परिवारका घरमुलीले दशैँमा थापेको सबै तलब जुवामा हारेपछि उनका परिवारका छोरा र श्रीमती दशैँ मनाउनबाट बञ्चित भएका थिए रे । यसबाट ती महिला र बालकमा कस्तो असर परयो होला ? देखासिखीका कारण ऋण काढेर भए पनि दशैँ मनाउने होडबाजीले गर्दा कतिको घरबारको बिचल्ली भएको छ ।
तसर्थ यो चाडलाई सबै वर्गले उत्तिकै महत्व दिएर आ–आफ्नो तरिकाले मनाउने गरेका छन् । सबै चाडपर्वहरू नेपालको पहिचान र सांस्कृतिक धरोहर हुन् । चाडपर्व भड्किलो, रबाफयुक्त र खर्चिलो बन्नु हुदैन ।
परम्परा र संस्कृतिलाई समय सापेक्ष परिमार्जित गर्दै लैजान पनि त्यति नै आवश्यक छ । परम्परा र संस्कृति धान्ने नाममा, अनावश्यक मानसिक विचलनले परिवार र समाजमा नराम्रो असर पर्छ ।
धर्म, संस्कृति तथा परम्परा जगाउनु पर्छ । यसमा दुईमत छैन । तर परम्परा जोगाउने नाममा कसैको उठिवास भने हुनु हँुदैन । बर्सेनि मनाइने यस्ता चाडपर्वहरूमा राज्यको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त हुनुपर्छ ।
मानवीय संवेदनशीललाई कुल्चेर कालाबजारी गर्ने व्यापारीहरूको लाइसेन्स खारेज गर्नेसम्मको हिम्मत राज्यले गर्नुपर्दछ । चाडपर्वको नाममा भइरहेको विकृतिलाई रोक्न सरकार अत्यन्त कठोर हुन आवश्यक छ ।
चाडपर्वलाई सरल, सहज र व्यवहारिक बनाउन सबै राज्य र नागरिकको उत्तिकै दायित्व हुन्छ । परम्परा मनाउने नाममा हुनेखानेले रबाफ र प्रतिष्ठाको रुपमा चाडपर्व मनाउँदा अन्य समाजमा नहुने वर्गलाई कस्तो असर पर्छ भन्ने सबैले बुझ्नुपर्छ ।