arrow

कोशीले आज नयाँ मुख्यमन्त्री पाउँदै 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असोज २६ शुक्रबार
koshi-pradesh-sabha-2080-03-21.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै छ । भावी मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तथा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता केदार कार्की दुवैले गरेको दाबीमा आज टुंगो लाग्ने भएको हो । 

प्रदेश प्रमुख परशुराम खापुङले आज साँझ ५ बजेसम्म भावी मुख्यमन्त्रीको टुंगो लगाउने छन् । आङ्बोले गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ४ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् । उनले शुरुआतमा हस्ताक्षर बुझाएका थिए । 

त्यसपछि कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ८ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४७ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

 आङबोले बुझाएको पत्रमा राखिएको आफ्नो समूहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समूहले प्रतिवाद गर्दै आएको छ । सो समूहले आङबोले बुझाएको हस्ताक्षर नक्कली भएको भन्दै अस्वीकार गर्दै आएको छ । 

सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेश गर्दा कांग्रेसका सबै २९ सांसदको हस्ताक्षर छ । तर कांग्रेसकै डा शेखर कोइराला पक्षका ८ सांसदले कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका हुन् । 

एउटै दलका सांसदको हस्ताक्षर दुवैतर्फको उम्मेदवारीमा प्रयोग भएको छ । यस्तोमा अब प्रदेश प्रमुख परशुराम खापुङले कसलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्ने संकट देखिएको छ ।

यद्यपि कार्कीलाई हस्ताक्षर बुझाउने बेलामा ती आठ जना सांसदहरु सशरीर उपस्थित भएर कार्कीका पक्षमा हस्ताक्षर गरेपछि उनको पक्षमा आधिकारिकता आउने सम्भावना प्रवल छ । 

सो आन्तरिक विवादका कारण उत्पन्न परिस्थितिका बारेमा परामर्श गरेर आज निर्णय लिने प्रदेश प्रमुख खापुङले जानकारी गराएका छन् । जसअनुसार कोशीमा आज १० महिनाको अवधिमा पाँचौँ मुख्यमन्त्री नियुक्त हुनेछन् । 

एमालेले अप्रत्याशित तरिकाले कार्कीलाई समर्थन गरेपछि केन्द्रमासमेत सत्ता समीकरण बललिने शंका पनि भइरहेको छ । तर मध्यावधिमा नजाने उपाय स्वरुप एमालेले कांग्रेसका कार्कीलाई समर्थन गरेको हो । 

यही स्थितिमा कार्की नै मुख्यमन्त्री हुनेछन् । तर आज कांग्रेसको बैठक बस्दै गर्दा के निर्णय गर्छ भन्ने पनि महत्वपूर्ण छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ