arrow

कविताको मूल्य 

logo
शीतल गिरी,
प्रकाशित २०८० असोज २० शनिबार
sheetal-giri-2080-06-20.jpg

विम्व कवि रमेश श्रेष्ठले एकल कविता वाचन पोखरा र काठमाडौँमा सम्पन्न गरिसकेका छन् । उनका कविता अति मन पर्छ मलाई । 

उनले बनाएका चित्रहरू सधैँ हेरूँ हेरूँ जस्तो लाग्छ मलाई । प्रेम, पीडा र दुःख मिसिएको पाउने गरेको छु कविता र चित्रमा । 

उनको कविता वाचन शैली पनि बेजोडको छ । प्रस्तुति सुनिसकेपछि उनका कविता पढ्न बस्दा त्यही वाचनशैली याद आँउछ । 

कतै नअड्की, शब्द र वाक्यांश वाचन गर्दा आरोह अबरोह मिलाएर, दुई वाक्यांशबीचको विश्रामलाई वडो महत्व दिएर कवितावाचन गर्दा रहेछन् । 

रमेश श्रेष्ठ पोखराको माटोमा हुर्किएर सशक्त कविको रूपमा आपूmलाई उभ्याउँदा पोखराको गौरवलाई अझै गर्विलो बनाए । 

मानिस आफ्नै क्षमता र व्यवहारले सानो ठूलो बन्दछ, खुशी र उदास हुन्छ, सम्मान र तिरस्कार पाउँछ । गाह्रो कुरा हो विश्वास प्राप्त गर्नु र प्रायः मानिसहरू लालायित पनि हुने गरेका छन् ।

हो, केही थाहा पाएर पनि भिन्न प्रकृति, प्रवृत्तिका पाइएका छन् । या त स्व प्रतिष्ठामा रमेका छन्, खहरे झैं स्वाट्ट बढारिएका छन् । कला र साहित्यको माध्यमले रमेश श्रेष्ठले आफूलाई चिनाउँदै सफल बन्न पुगेका छन् । 

चिनिएका तर मैले राम्ररी चिन्न नपाउँदाका कवि रमेश श्रेष्ठलाई उनको आमन्त्रणमा उनकै घरमा एकरात बिताउँदा उनको व्यक्तित्व, विचार, कविता र चित्रसँग संगत गर्ने संयोग मिल्यो । 

२०६३-२०६४ सालमै हजार रुपैयाँको टिकटमा वाचित कविता सुन्न आउनेहरूको संख्या कम थिएन । 

कवि र कविताको उपेक्षा गर्ने–गरिने यो समयमा टिकट शो मा । त्यो पनि रु. १००० को टिकट काटेर आउनेको जमात देख्दा मलाई लाग्यो— रमेश श्रेष्ठले मानिस कमाएका रहेछन् पोखरामा । 

कविता सुन्नु त्यो पनि टिकट काटेर अनुचित ठान्नेको जमात धेरै छ हाम्रो समाजमा । 

मलाई पनि लागेको थियो टिकट काटेर कविता सुन्ने जमात पक्कै धेरै छैन । तर मेरो सोच गलत रहेछ । 

मानिस कमाइएको छ, कवितामा शक्ति छ र वाचन शैली आकर्षक छ भने टिकट काटेर कविता सुन्ने स्रोताको कमी हुँदोरहेनछ । 

रमेश श्रेष्ठले एकल कविता वाचनबाट प्राप्त रकम वृद्धाश्रममा दिएर समाजमा अनुकरणीय कार्य गरे । निस्वार्थ समाजसेवी, अक्षरका पूजेरीलाई सलाम गर्नै पर्ने हुन्छ र गर्दैछु । 

रमेश श्रेष्ठको एकल कविता वाचन श्रवण गर्ने निम्ता पाउँदा पोखरा जाउँ कि नजाउँ जस्तो लागेको थियो । 

पोखरालाई मैले एकातिर प्रकृति सम्पदा पर्याप्त रहेको रमणीय तर छाडा संस्कृतिको बाहुल्य रहेको रूपमा बुझेको थिएँ । 

यो बुझाइ गलत रहेछ । पोखरा त साहित्य र साहित्यकारलाई माया गर्ने थलो पो रहेछ । 

स्वर्गीय अलि मियाँ, स्वर्गीय धर्मराज, वर्तमानका सरुभक्त लगायतको कारणले जति चर्चित छ केही न केही रुपमा साहित्यकै कारण बदनाम नभएको हैन । छाडा संस्कृतिलाई काखी च्यापेर, भारतको लोकल रेलमा भट्याइने खालका पंक्तिमा साहित्य भनेर गजलमा रमाउने पनि भेटिन्छन् ।

पोखरा र होटल बाराही एक अर्काको पुरक बन्न पुगेको छ अहिले— हो त्यही होटेल बाराहीमा कार्यक्रम थियो रमेश श्रेष्ठको एकल कविता वाचन ।

प्रेम भूमिका गीतहरू भनेर नामकरण गरिएको कार्यक्रम मैले सोचे भन्दा धेरै राम्रो थियो । 
‘घाम थियो उज्यालो थिएन 
रात थियो एकान्त थिएन 
किन थिएनन् आफ्नै कुराहरू
 तिमी थिएनौ त्यसैले केही पनि थिएन ।’ 

उनको कविता कति मीठो । सधैँ सुनु सुनुजस्तो लाग्ने । कवितामा भेटिने जीवन दर्शन, मानिसको पीडा र यथार्थ कति स्वभाविक रूपमा प्रस्तुत । कति गम्भीर छ कविता । 

जीवन बोलेको छ कविताले । 

अर्थ गहन छ तर भाषाशैली र प्रस्तुति सरल छ । 

भाषा र कलाको कारणले पोखराबासीबाट उनले मोह, पे्रम र सद्भाव प्राप्त गरेका छन् । 

होटल बाराहीमा रमेश श्रेष्ठको कविता वाचन अत्यन्तै उत्साहजनक र मीठो माने पोखरेली साहित्यानुरागीहरूले । 

कविहरूले मानिस बनाउन सक्नुपर्दो रहेछ साहित्य मन पराउनेको जमात सजिलै पाउन सकिन्छ । 

यसको उदाहरण रमेश श्रेष्ठ बन्न पुगेका छन् । साहित्यको नाममा जब विकृतिको प्रचार प्रसार गरिन्छ तब स्वस्थ्य–स्वच्छ साहित्य पछाडि परेको जस्तो लाग्दछ । तर साहित्यको शालीनताको स्थान स्वार्थमय विकृतिजन्यले लिन सकेको छैन र सक्दैन पनि ।
 
गुरुकुलले पनि साहित्यप्रति आम मानिसमा रुची जगाउँदै आएको थियो । साहित्यको नाममा विकृति, छाडापनलाई टेवा दिनु भने हुँदैन, भोलिका पुस्ताले, इतिहासले कालो भनेर भन्न नपाओस्, सजग सहनु पर्छ । कवि रमेश श्रेष्ठको कविताको पंक्ति जस्तै— 
‘अनुहारभरि भय पोतेर
 किन उदाइरहेको छ जून 
पोखिन नसकेको शीत झैँ 
कर्कलोमाथि’

  
            



नयाँ