arrow

ओलीलाई कर्णालीमा धोका 

गुलावजंगसँग बिच्किएका थिए ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
kp-sharma-oli-2080-04-28a.jpg

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई कर्णाली प्रदेशले धोका दिएको छ । बुधबारदेखि सुर्खेतमा जारी नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्षमा सल्यानका गुलावजंग शाह निर्वाचित भएसँगै अध्यक्ष ओली र महासचिव पोखरेललाई धोका भएको हो । 

कर्णालीमा ओलीले मीनबहादुर शाहीलाई जिताएर ल्याउन आफ्ना निकट नेताहरूलाई निर्देशन दिएका थिए । तर प्रतिनीधिहरुले शाहलाई भारी मतले जिताइदिए ।  एमाले पोलिटब्युरो सदस्यसमेत रहेका शाह ३६९ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कालिकोटका मीनबहादुर शाही पराजित भए । शाहीले २०७ मत पाए । 

अध्यक्षका अर्का प्रत्याशी प्रकाश रोकायाले ४ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जाजरकोटका लालबहादुर महतारा र मुगुका दानसिं परियार पराजित भए । यस्तै सचिवमा सुर्खेतका ध्रुवकुमार शाही विजयी हुँदा दैलेखका रुद्रबहादुर शाही पराजित भए । कर्णालीमा पदाधिकारी नै ओली–पोखरेलसँग टाढा रहेको टिम आएको छ । 

अध्यक्ष  ओली कर्णालीमा शाहीलाई सर्वसम्मत नेतृत्व चयन गर्न चाहन्थे । महासचिव शंकर पोखरेल मीनबहादुर शाहीलाई अध्यक्ष बनाउन चाहन्थे । तर, कर्णालीका २१ मध्ये अधिकांश केन्द्रीय सदस्य र १० मध्ये ८ जिल्ला अध्यक्षसँगको छलफलपछि भने ओलीको मुख बन्द भएको थियो ।  उनले शाहीलाई माहौल बनाउन नसकेको भन्दै उपाध्यक्ष वा सचिव बसेर सर्वसम्मत नेतृत्व चयन गर्न सल्लाह दिएर काठमाडौं फर्किएका थिए । 

अध्यक्ष ओली र महासचिव पोखरेलको साथ रहेको भन्दै शाही पक्षले चुनावी प्रचार गरेको थियो । टिकटकमा कार्यकर्तासँगको भिडियो भाइरल भएपछि ओली गुलावजंगसँग बिच्किएका थिए  । तर, कर्णालीका ओली र पोखरेलनिकट नेताहरू नै मीनबहादुरलाई एकै चोटि अध्यक्ष बनाउँदा पद्धति बिग्रने भन्दै उपाध्यक्ष वा सचिव बसेर सर्वसम्मत गर्नुपर्ने पक्षमा थिए । 

उनलाई यसअघि पनि ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको सदस्य बनाएका थिए । अध्यक्षमा निर्वाचित गुलावजंगलाई स्थायी कमिटी सदस्य यामलाल कँडेलको साथ थियो । मीनलाई स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीको साथ थियो । गुलावजंगको विजयसँगै कँडेलले कर्णालीमा आफ्नो पकड कायमै राखेका छन् । २०४० सालबाट अनेरास्ववियु पाँचौँमा आबद्ध भएर राजनीतिमा होमिएका शाह हाल एमालेको पोलिटब्युरो सदस्यको जिम्मेवारीमा छन् ।  

२०५६ सालमा तत्कालीन एमाले विभाजनपछि बनेको नेकपा मालेमा आबद्ध भएका शाह मालेको तेस्रो अधिवेशनबाट सल्यान जिल्ला कमिटी सचिव बनेका थिए । २०५७ मा तत्कालीन राष्ट्रिय युवा सङ्घको केन्द्रीय सचिवालय सदस्य बनेका शाह २०६६ मा तत्कालीन नेकपा एमालेको अञ्चल कमिटी सदस्यको जिम्मेवारीमा पुगेका थिए । उनी एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ