हो, म यतिबेलै सम्झन्छु
बालापनको झझल्को
घरमा भरिएको मकैको घोगा
खेतमा लहलहै झुलेको धानका बाला
दिनभरिको कामबाट थाकेर
घर पुगेका बाको मुहार ।
यसपालि दशैँको गर्जो कसरी टार्ने भनेर
आमासँग कुरा गरिरहेको दृश्य
आमाको कानको शोभा बढाएका
ढुङ्री र गलाको तिलहरी
बाँडा कहाँ बन्धक राखेर
दशैँको गर्जो टारेको व्यथा ।
एक भारी लुगाको कुम्लोसँग ऋणको कुम्लो बोकेर
देखावटी मुस्कानमा बा घर आएको क्षण
नयाँ लुगा पहिला सिलाउन हामीले गरेको हानथाप
नयाँ लुगा लगाएर पूरै गाउँ घुमेको क्षण ।
हामी रोइदिन्थ्यौँ
बाले मुठ्ठी चिउरा दिएर फकाउँदा
हामी दङ्ग परेर खुशीले उफ्रिन्थ्यौँ
बा कसरी दशैँको रिन तिर्ने भनेर छट्पटिँदा ।
हो, म यतिबेला यस्तै बाल्यकालको सम्झनामा हराउने गर्दछु
मन आनन्दित पनि हुन्छ
र, सँगै सम्झँदा बाले बोकेको
पीडाको भारी पहाड
थामिनसक्नुको बोझिलो लाग्छ ।
अहिले म सोच्दछु
बा महान् हुनुहुँदो रहेछ
आफ्नो दुःख लुकाएर हामीसँगै हाँस्नुहुन्थ्यो
हामीसँगै रमाउनु हुन्थ्यो
हाम्रो खुशी खोज्न आफू दुःखका पहाड बोकेर डुल्नुहुन्थ्यो
दुःखका पहाड बोक्दा बोक्दै
एकदिन सालिक हुनुभयो हाम्रा बा !