- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि कथा आह्वान गरिएको छ । बाह्रखरी मिडियाले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गरिएको हो ।
नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा आउँदो असोज ३० गतेसम्म 12kharibooks@gmail.com मा ई–मेल गरेर कथा पठाउन सकिनेछ । संसारभरिबाट नेपाली भाषामा कथा पठाउन सकिनेछ ।
बाह्रखरीलाई प्राप्त हुने सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ ।
तीमध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीयका साथै ‘उत्कृष्ट कथा, २०८०’ पुस्तकका लागि थप २२ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ ।
संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।
यस्तो छ विज्ञप्ति–
कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धनमा बाह्रखरी मिडियाले विगत पाँच वर्षदेखि निरन्तर चलाएको अभियानको अर्को कदमका रुपमा पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ घोषणा गरेको छ ।
आख्यान साहित्यको सशक्त विधा, कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन र पुरस्कृत गर्ने उद्देश्य रहेको यस प्रतियोगितामा आफ्नो रचना पठाउन बाह्रखरी मिडियाले भदौ ३१ गते एक पत्रकार सम्मेलनमार्फत कथा आह्वान गरेको हो ।
नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा सम्पूर्ण प्रतियोगीहरूले २०८० असोज ३० गतेसम्म 12kharibooks@gmail.com मा इमेल गरेर कथा पठाउनुपर्नेछ । नेपाली भाषाका सर्जकहरूले संसारभरिबाट कथा पठाउन सक्नेछन् ।
डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को निर्णायक समूहमा सशक्त समीक्षक प्रा. डा. सावित्री कक्षपति रहनुभएको छ भने सदस्यमा सशक्त कथाकार श्री महेशविक्रम शाह र युवा पाठकका प्रिय लेखक श्री सुविन भट्टराई हुनुहुन्छ ।
बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ ।
ती कथामध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘बाह्रखरी उत्कृष्ट कथा–२०८०’ पुस्तकका लागि थप २२ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।
उत्कृष्ट कथासंग्रहको पुस्तकमा प्रतियोगिताबाट प्राप्त २५ कथाका साथै स्थापित कथाकारहरूबाट प्राप्त पाँच कथाहरू पनि समावेश गरिनेछ ।
यस वर्ष बाह्रखरी उत्कृष्ट कथा–२०८० कथासंग्रहको पुस्तकमा आफ्नो नयाँ रचना दिनका लागि श्री भाउपन्थी, श्री भागिरथी श्रेष्ठ, श्री सीता पाण्डे, डा. राजेन्द्र विमल तथा श्री गणेश रसिकले सहमति जनाउनुभएको छ ।
गत वर्ष यस प्रतियोगितामा संसारभरबाट ५९६ कथाहरू प्राप्त भएको थियो ।
कथा प्रतियोगिताको नतिजा २०८० पुस ६ गते शुक्रबार एक विशेष समारोहका बीच सार्वजनिक गरिनेछ । सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा–२०८०’ को लोकार्पण पनि गरिनेछ ।
डिश होम बाह्रखरी कथा प्रतियोगिताको प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । त्यस्तै, लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तृतीय भएको थियो ।
त्यसैगरी, प्रतियोगितको दोस्रो संस्करणमा लाहानकी मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो ।
तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, स्वप्निल नीरवको ‘बूढो घर’ द्वितीय र रेणुका जिसीको ‘मुडुली’ तृतीय भएको थियो ।
चौथो संस्करणमा दाङका नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम, रमेशजंग थापाको ‘डढेको आकाश’ द्वितीय र रुमु न्यौपानेको ‘घूँघट’ तृतीय भएको थियो ।
गत वर्षझैँ यस वर्ष पनि उत्कृष्ट कथासंग्रह पुस्तकको प्रकाशन फाइन प्रिन्टले गर्नेछ ।
बाह्रखरीले आयोजना गर्दै आएको यस कथा प्रतियोगिताको टाइटल स्पन्सर डिश होम (डिश मिडिया नेटवर्क लि)ले गर्दै आएको छ ।
यस वर्षको एसोसिएट पार्टनर नेपाल टेलिकम रहेको छ भने प्रकाशन पार्टनर फाइन प्रिन्ट रहेको छ । यस प्रतियोगिताका अन्य सहयोगी संस्थामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल आयल निगम लिमिटेड रहेका छन् ।
सर्त तथा नियमः
– रचना नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्नेछ ।
– अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहोर्यायाएर पठाउन पाइने छैन ।
– कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुञ्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।
– छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
– ‘डिसहोम बाह्रखरी कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न बाह्रखरीसँग पूर्वस्वीकृति अनिवार्य छ ।
– कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ ।
– प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ ।
– प्रतियोगिताका लागि छानिएका कथाकारलाई बाह्रखरीले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ ।
– कथा पठाउनका लागिः
इमेल– 12kharibooks@gmail.com
सम्पर्कः ०१–४१०६५१, ०१–४१०६५६, ९८०१८४९६१९