arrow

गजल र ज्ञानु

logo
शीतल गिरी,
प्रकाशित २०८० भदौ ३० शनिबार
article-sheetal-giri-2080-0.jpg

पहिले पहिले गजललाई विदेशी विधा भनिने गरिए पनि आज यो विधा नेपालीको आफ्नै भएको छ । धागो कात्नुलाई अरबीमा गजल भनिन्छ ।     दशौँ शताब्दी अघिदेखि नै अरबको तुस शहरका खान्दानी धागो कात्नेहरूले त्यहाँको लोकगीतभन्दा पृथक अंदाजमा आफ्नो पेशा जस्तै नरम कतै नटुटेको गीत गुन्गुनाउन थाले । 

गजल (धागो कात्नेहरूले) गुनगुनाएकोलाई अरूहरूले गजल भन्न थाले । प्रत्येक जाति विशेषका आफ्ना पेशासँग सम्बन्धी संस्कृति हुन्छ, प्रायशः त्यस्ता संस्कृतिले जाति, स्थान वा पेशाको नाम पाउँछ । गजलको अर्थ—  ‘प्रेमिका अथवा आइमाईसँग कुराकानी गर्नु’ पनि हुन्छ । यो मान्यता लामो समयसम्म कायम रह्यो । परिवर्तन स्वभाविक हो र अहिले रसिक मिजास मात्रै भन्ने पर्खाल भत्किएको छ ।         

समाजका, राष्ट्रका, मानवका समस्याहरू उठाउन (बोल्न) सक्षम छ आजको गजल । गजलको नजर आज प्रेमिका अथवा आइमाईसँग मात्रै सीमित छैन । दशौँ शताब्दीमा फारसी शायर ‘रोदकी’ ले सूत्रपात गरेको गजल फिरदौशीको हात परेपछि ‘शाहनामा’ मा माझियो ।         

शायरहरूले दरबार भित्र्याएपछि गजलको अर्थै बदलियो । प्रेमिका अथवा आइमाईसँगको बन्न पुगेको थियो दरबारमा गजल । गजल शब्द अरबी भएता पनि यसको शैशवकाल फारसी साहित्यमा भयो ।     
    
गजलको गुण धागोजस्तै नरम र कतै नटुटेको एकनाशको हुनुपर्छ भनिए पनि समयको साथ साथै गजलमा पनि परिवर्तन आयो र विभिन्न विषयमा गजल रचिन थाल्यो ।         

धेरै पछिमात्र यसको विस्तार उर्दू साहित्यमा हुनपुग्यो । अफसोस्, नेपाली गजल शास्त्रीय मान्यताका मापदण्ड भने न्यून रूपमा छन् ।     

छन त छ ..... तर लिंगबाट हटेर छ । 
        
धन्यवाद ....... यसकारण भन्नुपर्छ कतिपय भने भाव पक्षको कारण निर्क स्तरीय पनि छन् । 

म भावपक्ष सबल भएको वहरवद्ध गजल मन पराउँछु ।         
    
....... थाहा छैन, मुसायराले व्यापकता यहाँ कहिलेदेखि पाउन थाल्ने हो । उर्दू भाषा त भारतीय उपमहाद्वीपको हजार वर्ष अघिको उपज न हो । 

भारतीय उपमहाद्वीपको विशिष्ट ऐतिहासिक र सांस्कृतिक परिस्थितिहरूले अगाडि ल्याएको आर्य भाषा समूहमा जन्मिएको नयाँ भाषा न हो उर्दू ।         

इतिहास नियाल्दा एउटा कुरा के स्पष्ट हुन्छ भने— धार्मिक र राजनीतिक आन्दोलनले ल्याएको ठूलो परिवर्तनले भाषाहरूमा परिवर्तन ल्यानएको छ । 

गजल गेय विधा भएको हुँदा श्रोता र पाठकको हृदयको तारलाई बहुत चाँडो झंकृत पार्दछ ।     
    
अरबी कसिदाको प्रारम्भिक स्वरूपबाट जन्मिएको, फारसीमा बामेसरी रूप–लावण्य र शब्दकोशलाई चार चाँद लगाएको, उर्दू र हिन्दीमा हुर्किएको गजल नेपाली माटोको लागि एक नववधू जस्तै हो । 

भारत र पाकिस्तानमा अति लोकप्रिय रहेको यो गजल विधालाई राणाकालमा युवाकवि मोतीराम भट्टले नेपालमा भित्र्याएका हुन् । आज यस सत्यलाई कसैले नकार्न सक्दैन । 

यथार्थमा मोतीरामले भित्र्याएको गजल सक्षम मालीको अभावले सुक्यो, बढो गहिरो र काला दिन थिए ती । आज मूल्याङ्कन गर्दा यत्ति त भन्न सकिन्छ ।         

यो झुटो र आग्रहपूर्वकको लेखाइ होइन । किनभने आफूले देखेको बुझेको सत्य राख्दैछु । भूगोलको काम त्यस रेखाको अभावमा चल्न सक्दैन । त्यहाँ रेखा अति महत्वको हुन्छ । यसकारण नक्शामा सधैँ मोटो रेखाले महत्वको रहेको जनाइरहेको हुन्छ । हुन पनि हो यस रेखाको अभावमा भूगोल अगाडी बढ्न सक्दैन । 

हो, जमीनमा खोज्दा त्यस रेखा अस्तित्वहीन जस्तो लाग्छ, यथार्थमा नपाउँदा । नेपालमा गजलको इतिहास मोतीराम भट्टबाट शुरु हुन्छ । सय वर्ष नाघेको इतिहास बोकेको गजलले आफ्नो विभिन्न कालखण्डमा धेरै गजलकारहरूलाई उभ्याइसकेको इतिहास छ ।         

त्यतिखेर याने विधा श्रृंगारिक र प्रणयजन्य विषयवस्तुमा सीमित रहेको हुँदा यसले नेपालमा निरन्तरता पाउन सकेन र चालीस वर्षसम्म ओझेलमा रह्यो । चार दशक ओझेल परेको कुरा गर्दा अहिले नहाँसेर के नै पो गर्न सकिन्छ र !     
    
चार दशकको त्यस समयको लागि त हामी हाँस्न सक्छौँ । तर यो पनि सत्य हो त्यसै गरी हामी बाँचेको समयको लागि पनि हाँस्ने तयारी गर्नुपर्छ । किनभने हामी बिर्सन्छौँ, ज्ञान राम्रै गरिन्छ यस कुरालाई मान्छौँ । र जब देख्दछौँ मानसिकताभन्दा फरक बहर, रदिफ, काफिया र सवल अर्थको अभावमा गजल बन्दैन, यसकुरोलाई पालन गर्न नसक्दा मुरमुरिन्छौँ । तब पनि आफूमा भएको अज्ञानको पक्षमा अडि लिएर चारु, राग, विरागमा अडकिन्छौं । 

गजल के हो ? सर्वप्रथम यसतर्फ सोच्नु पर्ने भएको छ । के प्रेमजन्य वाताएलाप नै गजल हो त ? कि पीडित हृदयको करुण चित्कार गजल हो ।  

श्रृंगारिक शायरको कलमबाट उब्जेको प्रणय गीत अर्थात् तस्वीव नै पछि गएर गजल बन्यो कि ? शायर पनि मानव हो र उसको जीवनमा खण्ड हुँदैन, विभाग हुँदैन । ऊ अखण्ड हुन्छ र समग्र हुन्छ । 

तर गजल विषयक ज्ञान अखण्डमा कसरी लिने ? यो त विभाजन गरेर थाहा पाउन सकिन्छ र विभागमा रहन्छ । यही यसको सुविधा हो । फरक किसिमले बुझ्नुको शर्त हो । पृथ्वीलाई हामी थाहा पाउन थालेदेखि नै भन्छौँ यो आकाश होइन । यो होइन, त्यो होइन यसरी असत्यलाई इन्कार गर्दा गर्दै हामी सत्य स्वीकार गर्न पुग्दछौँ । यही तरिका ज्ञानको हो । न इति न इति ।         

यसको विभाजन ज्ञानको अस्त्र हो । यो अस्त्र चलाउन जो कुशल हुन्छ उसले धेरै कुरा प्राप्त गरेको हुन्छ । तथ्य परक सत्य उसैले प्राप्त गर्छ । यही अस्त्र जब कुनै व्यक्तिले आफैमा प्रहार गर्छ तब उसले धेरै कुरो प्राप्त गरेको हुन्छ । मनोविज्ञान उसैको हात पर्छ । 

हो, यही मनोविज्ञान प्राप्त गर्न ज्ञानुवाकर पौडेलले आफूलाई एकहोरो रूपमा लगाए । गजललाई नेपालको संसकार सुहाउँदो बनाउन प्रयासरत नेपाली गजलकार ज्ञानुवाकर पौडेल हुन् भन्ने बुझेको छु । ज्ञानुवाकर विक्रमको २००९ सालमा काठमाडौँको गौशालामा जन्मेका हुन् । 
        
उनी ६ वर्षको उमेरमा मातृविहीन भए । उनका बाबुको २७ विघा जमीन कैलालीमा भएको हुँदा बालक ज्ञानुवाकरको बाल्यकाल त्यहाँका आदिवासी राना थारूको बीचमा बित्यो । यसबाट उनको गुणको सत्यता थाहा पाउन सकिन्छ । जसरी सृष्टिमा तीनवटा गुणको स्तर हुन्छ । 

उनको जीवन पनि तीन खण्डमा बाँडिएको पाउँछौँ— तम तल, रज माझमा, सत्व माथि । जीवनको यो तीन तले नक्शा यथार्थ र वैधानिक भएको थाहा हुन्छ । हो, यस जीवनलाई ज्ञानुवाकरले स्वीकारे । तबसम्म त्यस घरले काम दिने गर्छ जबसम्म त्यसमा रहिन्छ बसिन्छ, जबसम्म तलामा आउने जाने गरिन्छ । 

भर्याङले तीन वटै तलालाई आपसमा सम्बन्ध गराएको हुन्छ । हो ज्ञानुवाकरले नेपाली साहित्यमा त्यही भर्याङको व्यवस्था मिलाए । वास्तवमा आफूमा रहेको तीनवटै गुणलाई राम्ररी व्यवस्थापन गर्न सफल स्वामी बन्न सकेको हुँदा नै उपेक्षा गरिएको गजलमा ध्यान केन्द्रित गरेर माथि उठाए । न त साहित्यमा बामे सर्न थालेकालाई अस्वीकार गरे, न त जानेको छु भन्ने घमण्डमा रहे ।

यही कुरा नेपाली साहित्य समृद्ध बनाउन भनी खोलिएको सरकारी प्रतिष्ठानका प्राज्ञको चित्तमा बसेको थिएन । कारण त्यो त्यस्तो स्थान हो जहाँ गुणीहरूको निवास हुनु पर्ने हो, त्यहाँ पुगेका त निर्दयी थिए । 

प्रतिभा खण्डमा हुन्छ, ज्ञानुवाकरको सहयोगी स्वभाव अखण्ड हो, तब त व्याप्त हो । स्वभाव बदल्न परिवर्तन गर्न सकिन्न । तल–माथि हुँदैन । पद र प्रतिष्ठाको मोहले छेकवार लगाउन सक्दैन । जिज्ञासुलाई सहयोग गर्ने स्वभाव अहंकारले भरिएको हुँदैन, गुण भएको हुन्छ । 

संख्या गुणवानका सामु कतिलाई सहयोग ..... गणना गर्न छाडिदिन्छ । ज्ञानुवाकर बरोबर भारतको बाटो हुँदै कैलाली मौजानमा आवत जावत गर्ने हुँदा कैलालीका रैथाने थारूहरूको भाषान पनि शिन्दीको समकक्ष भएको हुँदा उनमा हिन्दी भाषाप्रति नजानिँदो मोह पलाएको रहेछ । 

नौ वर्षको उमेरमा पहिलो वाक्य “आमा” उच्चारण गर्न सिकेका मातृविहीन ज्ञानुवाकरले दश वर्षको उमेरदेखि पढ्न थालेका हुन् ।     
    
पढाईमा शुरुदेखि नै कमजोर रहेको हुँदा घरपरिवारबाट राम्रो पढाइ गर्न पुरस्कार स्वरूप दिने गरेको पैसाले सिनेमा हेर्ने गर्दथे । पढ्नपट्टि पटक्कै ध्यान नदिएको हुँदा घर परिवारले कचकच गर्नु स्वभाविकै हो र उनले अर्तीलाई अर्कै अर्थमा लिएको हुँदा घरबाट चौध वर्षको उमेरमा भागेर भारतको दरभंगा पुगे । यसबाट थाहा हुन्छ उनको जीवन विसर्जित रहेको छ । 

आरम्भदेखि अन्तसम्म उनको जीवनमा स्वार्थ रत्तिभर पनि पाइँदैन । चिन्तन र कर्मको अजस्र साधनामय उनको जीवन रह्यो । नजिकबाट चिनेकाको मूल्याङ्कनमा रजस् र तमस्सँग उनको सदा अनबन रहेको थियो । सात्विकको लागि पुरूषार्थ र प्रयत्न पनि निरन्तर गर्दै रहे । राजसि आदि भावको डर उनलाई सदा रह्यो र रहन्थ्यो सतत् सम्झौताको डर । उनको साधनामा जस्तो पापको हल्ला सदा मडारिइरहन्थ्यो ।      

गजलका साधक पुरुष ज्ञानुवाकरले आफूलाई तृप्त, कृतार्थ र तुष्ट अनुभव कहिल्यै गरेनन् । दरभंगामा उनीसहित केही मानिसले नक्कली डावरको लाल दन्तमंजन, कोलगेट टुथपेस्ट, आवला केश तेल आदि उत्पादन गर्न थाले । उत्पादन गरेका नक्कली सामानहरू केही समय आसामदेखि रक्सौलसम्म रेलका पेसेन्जरलाई बेच्ने गर्न थाले ।         

त्यहाँबाट फर्केपछि उनी काठमाडौँ जिल्ला अदालतमा बहिदारमा बहाली भए । तर उनको घर छोडेर भाग्ने बानी हटिनसकेको हुँदा बानी सुधार्नको निम्ति १६ वर्षको उमेरमा शाही नेपाली सेनामा क्लर्क बन्न पुगे । सत्ता उन्माद अधिकांश रजोगुणी हो, अधिकांश मात्र होइन सर्वाश राजसिक हो । 

ज्ञानुवाकरको प्रवृत्ति सौम्य थियो, सौम्यबाट सौम्यतर, अनि सौम्यतरबाट सौम्यतम । सौम्यतमको भूमिकामा अधिकांशले ज्ञानुवाकरलाई देखे । यसकारण धेरैलाई उनको विगतबारे थाहा हुन सकेन, यस्तो हुनु स्वभाविक हो ।         

नैतिक साधना, प्रायशः देख्न पाइन्छ, यसकारण नेपाली गजलको इतिहास खोतल्दा, हिजोको अवस्था पवित्र मनले खोतल्दा ज्ञानुवाकर पाइन्छ । केही कमी कमजोरी होलान्, तर पवित्र छन् । सज्जन छन्, समर्पित छन् । सेनामा हुँदा १८ वर्षको उमेरमा उनलाई पढ्ने जंग चलेको हुँदा दरबार हाइस्कुलमा कक्षा ७ मा भर्ना भए । ढिलै भए पनि अध्ययनतर्फ रूचि भएको हुँदा २३ वर्षको उमेरमा एसएलसी उत्तीर्ण भए ।     
    
उच्च शिक्षा प्राप्तिको लागि क्याम्पस जान सेनाको जागीर अवरोध वुझिएको हुँदा २०३३ सालमा जागीर छाडे । २०३४ सालमा प्रमाणपत्र तह पूरा गरी २०३६ सालमा स्नातक तहसम्मको अध्ययन पूरा गरे । 

ज्ञानुवाकर सेनामै हुँदा २०२९ सालमा वासु रिमाल ‘यात्री’ द्वारा सम्पादित ‘विदेह’ द्वैमासिकमा उनको “बालकाजको मुद्दा” नामक कथा प्रकाशित भयो, त्यो पहिलो रचना उनले ‘ज्ञानेश कान्तिपुरे’ को नामबाट लेखेका थिए । 

त्यसताका ज्ञानुवाकरले मुक्तकहरू लेख्थे र उत्साहपूर्वक कविगोष्ठीहरूमा भाग लिने गर्थे । यसप्रकार उनको जीवन व्यवस्थित बन्दै गयो र उनका प्रत्येक रचनामा उनको जीवन–कण यानी सत्व, रज, तम मिसिन पुग्यो । 

देश देशान्तरमा हण्डर खाएर प्राप्त गरेको अनुभव र गुण जीवनमा अविष्मरणीय पथपर्दशक बन्न पुग्यो । म यहाँ बहकिइरहेको छैन । बहकिएमा न त मेरो रचना नै राम्रो हुन सक्छ, न ज्ञानुवाकरको वास्तविक पाठक समक्ष राख्न सकिन्छ । 

न त म प्रशंसै प्रशंसाको भारी बोकाउन कलमको मसी खर्च गर्दैछु । लेखन कर्म साधना हो र यतिखेर म मानसिकता मार्फत ज्ञानुवाकरको सत्यसँग नाता जोड्न र उनको जीवनको केही अंशको उपयोग नेपाली साहित्यको लागि गर्न खोज्दैछु यो सत्य हो र यसको उपयोग आफ्नो लेखनमा गर्दैछु ।         

मुक्तकमा ज्ञानुवाकरले धाक जमाइसकेपछि मोती मण्डलका शम्भुप्रसाद, भीमनिधि तिवारी, उपेन्द्रबहादुर ‘जिगर’ आदिका गजलहरूबाट मोहित भएर २०३४ सालदेखि गजल लेख्न थाले ।     
    
२०३७ सालको जनमतमा सुधारिएको निरंकुश पंचायती शासनले जनअनुमोदन प्राप्त गरेपछि राजनीतिक दलहरू प्रतिबन्धित अवस्थामा रहे पनि नेपाली राजनीतिमा केही खुलापन भने आइसकेको थियो । 

आंशिक खुलापन पाएर नेपाली कविका मनमा रहेका उकुसमुकुसले छन्दोवद्ध कविताभन्दा सजिलो अभिव्यक्तिको सशक्त माध्यम खोजिएको थियो । ठीक त्यसैबेला ज्ञानुवाकरद्वारा अघोषित रूपमा समसामयिक गजल लेदनको आन्दोलन आरम्भ भयो । 

किशोर नेपाल, वासु शशि, पारिजात, जैनेन्द्र जीवनहरूबाट गजल विधामा अगाडि बढ्ने प्रोत्साहन पाए । त्यतिखेर गजललाई नेपाली साहित्यमा न राम्रो नै भनिएको थियो, न त नराम्रो । 

गजल प्रतिको अध्ययन भैनसकेको समयमा एकाग्रतापूर्वक लागे र समग्रमा गजल स्थापित गराए । प्रयोगको नाममा प्रयोग गर्ने, केही पृथकबाट नाम कमाउन खोज्ने भावना उनको मनमा थिएन । यसकारण उनले आफूलाई एकाग्र बनाएर गजलमा समर्पित भए । उनले आफ्नो मनमा रत्तिभर अहं नल्याएको हुँदा निस्वार्थको कारण स्वाहा हुनबाट बचे र धन्य भए ।     
    
जसले गजललाई नेपालको साहित्यिक इतिहासमा पुनःस्थापित गरे, व्यापक बनाए, युवासमुदायको ध्यान तान्न सके, साहित्य र नेपाली गजलको दृष्टिमा ज्ञानुवाकरको व्यक्तित्व प्रकाशमय छ । मानौँ के हुन् नै उनी सम्पूर्ण । 

उनी नेपाली गजलका भरभराउँदो आगो हुन्, गजल विरोधीका मुख थुन्न सक्ने, उनी गजलको सत्यमा तापिएर दिप्त भएका छन् । किशोर र युवा उमेरमा रहे भएका मलिनता, गजलमा समर्पित हुँदा बनेको ज्वालाले उज्ज्वल बन्यो । जीवनको सन्दर्भ बदलियो, केही गुमेन, सबै रूपान्तरण भयो । 

अप्रासङ्गिक जति ज्वलन्त बन्यो, गजलको मधुरो उज्यालो उनी भित्रको साधनाको आगोमा दिब्य बन्यो । क्रोध तेजमा रुपान्तरित भयो । आधुनिक नेपाली कवितामा देखिएको दुरुहता, शुष्कता, पुनरावृत्ति आदि कारणले गर्दा गजलले फस्टाउने मौका पायो । 

हिन्दी भाषाप्रति दखल, रेलमा बेच्नुपर्ने सस्ता शायरीका मनमोहक पुस्तकको गहन अध्ययनले पनि उनलाई गजल देख्न बल दिएको सत्यलाई उनी स्वीकार्छन् । सफल गजलकार ज्ञानुवाकर पौडेलका अनुसार मोतीराम भट्ट, भीमनिधि तिवारीले गजललाई नेपाल भित्र्याए पनि नविनताको अभावले नेपाली साहित्यमा उचित स्थान बनाउन सकेन । 

वर्तमान अवस्थामा नयाँ आभूषण, नयाँ चिन्तन र नयाँ व्यवहारले गजलमा नयाँ युगको भाव छताछुल्ल भरिएको पाउँछौँ र यही परिवर्तनले नै गजललाई हुर्किन मद्दत पुगेको बताउँछन् ।     
    
ज्ञानुवाकर पौडेलका गजलका शब्दहरू सामान्य भएर पनि तिनको अर्थरसले गर्दा सरर रसाउन सक्ने हुन्छन् । गजल गेय हुनुपर्छ तर गजलको भाव प्रष्टिनको लागि मंचमा पाठ्य नै ठीक हुन्छ भन्ने मान्यता राख्ने ज्ञानुवाकरमा सतही भावुकता र श्रृंगारिक शब्दावरण उतारेर नयाँ कलेबर र रूपमा अर्थात् समसामयिक ढाँचाको गजलको पुनरागमन गरी परिवर्तित नेपाली समाजको प्रतिविम्व गजलमा पाइन्छ । 

नेपाली गजललाई ऊर्दू र हिन्दी समक्ष पुर्याउन नसकेको यथार्थतालाई ज्ञानुवाकर स्वीकार्छन् । उनको भनाइमा आत्म सन्तुष्टि र लेखक हुनुको बाध्यताले लेख्ने गर्छन् भने विरोधाभास र विसंगतिपूर्ण वर्तमानमा बाँच्नका लागि वा लेखकीय अस्तित्वका लागि लेखिरहेका छन् । 

गजल लेख्न नसक्ने कतिपय गजलको सिद्धान्त लेख्छन्, गजल चिन्न नसकेर त्यहाँ बहकिन्छन् । गजलबाट उछिट्टिएर चारु, राग अलाप्दै उवारू बनेको पाइएको छ । 

कोही पनि परिपूर्ण छ यो भनिरहेको छैन, हठमा होइन समय चिनेर चल्नाले नेपालमा ज्ञानुवाकर र गजल एक अर्काको पर्याय बन्न गएको पाइएको छ ।          
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ