arrow

प्रहरीले अन्तर्राष्ट्रिय तहको प्रविधि प्रयोग गर्नुपर्छ : मन्त्री श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
Ganga Narayan Shrestha.jpg

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरीले अन्तरराष्ट्रिय तहको विज्ञान र प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्न जरुरी रहेको बताएका छन् ।

आज मकवानपुरको पदमपोखरी प्रहरी चौकीको उद्घाटन गर्दै उनले विज्ञान र प्रविधिको युगमा प्रदेशका प्रहरीलाई अत्याधुनिक उपकरणले युक्त प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने भन्दै प्रहरीको क्षमतालाई गुणात्मक ढङ्गले वृद्धि गर्नका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे । 

“देशका सम्पूर्ण प्रहरीलाई नागरिक मैत्री बनाउनेमा लागिरहेका छौँ । यसका लागि नागरिकको पनि सहयोग आवश्यक पर्दछ”, मन्त्री श्रेष्ठले भने, “प्रहरी भनेको एउटा विधि हो । यसलाई प्रभावकारी रुपमा प्रयोग गर्न सके प्रहरी मैत्री संस्कारको विकास हुन्छ ।” 

उनले पदमपोखरीमा इलाका प्रहरी कार्यालय आवश्यक रहेको भन्दै यसका लागि पहल भइरहेको बताए ।

कार्यक्रममा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले पदमपोखरीमा प्रहरी चौकी स्थापना हुनु खुसीको कुरा भएको भन्दै यहाँका नागरिक र प्रहरीबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । 

कार्यक्रममा मन्त्रालयका उपसचिव दीपकप्रसाद न्यौपाने, प्रजिअ सूर्यप्रसाद सेढाई, प्रहरी नायब महानिरीक्षक किरण राणा, हेउनपा-१३ का वडाअध्यक्ष पेमा लामा, मकवानपुर प्रहरी प्रमुख सीताराम रिजाल, प्रहरी उपरीक्षक चित्र गुरुङ, राकेश सिंह, सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा चौकी निर्माणमा योगदान गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । 

प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको रू दुई करोड २६ लाख १५ हजार एक सय १७ बजेटमा एक कट्ठा नौ धुर क्षेत्रफलमा महिला पुरुष अलग-अलग हिरासत कक्ष, महिला ब्यारेक, कार्यालय प्रमुख निवाससहित तीन तल्ले प्रहरी चौकीको निर्माण भएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ