arrow

कृषि विकासमा प्रदेश सरकारको साथ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
Shalikram jamarkattel.jpg

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कृषि क्षेत्रमा गरिएको लगानीमा प्रदेश सरकारले साथ दिने बताएका छन् ।

आज मकवानपुरगढी गाउँपालिका-५ सानो सुकौरामा माइती नेपाल र द कोकाकोला फाउन्डेसनको सहकार्यमा निर्माण हुन लागेको एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको शिलान्यासका अवसरमा मुख्यमन्त्री जमकट्टेलले कृषि र पशुसम्बन्धी तालिम र व्यावसायिक काममा प्रदेश सरकारको पनि सहयोग रहने बताए ।

उनले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रलाई आवश्यक कृषिजन्य सामग्री तथा अन्य सहयोग गर्न तयार रहेको बताए । 

मानव बेचबिखनमा परेका महिलालाई लक्षित गरी सीपमूलक तालिम प्रदान गर्न लागेकोमा उनले धन्यवाद समेत व्यक्त गरे ।

उनले माइती नेपालको इतिहास लामो रहेकाले सरकारले गरिनुपर्ने सहयोगमा आफू प्रतिबद्ध रहेको बताए ।

माइती नेपालका संरक्षक अनुराधा कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेशसभा सदस्यहरु इन्द्रबहादुर बानियाँ, कञ्चन बादे, एकालाल श्रेष्ठ, द कोकाकोला फाउन्डेसनका प्रतिनिधि आदित्य पाण्डा, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

द कोकाकोला फाउन्डेसनको क्रमागत आर्थिक सहयोगमा यसवर्ष  एक करोड ९० लाख लगानीमा महिला होस्टेल, तालिम हल र २० वटा गाई अट्ने गोठ निर्माण गरिने कार्यक्रम प्रबन्धक रामशरण पौडेलले बताए ।

सुकौरा एग्रो प्रालिको नाममा रहेको ६५ रोपनी क्षेत्रफलमा फैलिएको जमिन निःशुल्क भाडामा लिएर माछापालन, कुखुरा, बङ्गुर, गाईभैँसी, तरकारी खेती गर्ने लक्ष्य लिइएको पौडेलको भनाइ छ । 

“जग्गा १० वर्षका लागि भाडामा लिएका छौँ, यसलाई पछि थप्दै ३० वर्षसम्म गर्ने योजना  छ”, पौडेलले भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ