arrow

तीनवटा विधेयकमाथि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
bagmati-pradesh-shava.jpg
तस्बिर-फाइल

मकवानपुर । बागमती प्रदेशसभाको आइतबार बसेको दोस्रो बैठकमा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरिन् ।

यसैगरी, उक्त बैठकमा स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे ।

यस्तै, बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव टेबुल गरे ।

उक्त बैठकमा कानूनमन्त्री श्रेष्ठले प्रस्तुत गरेको सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकबाहेक तीनवटा विधेयकको सैद्धान्तिक पक्षमा छलफल भएको थियो ।

उक्त छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले सरकारलाई विधेयकमाथि थप विषयवस्तु समावेश गरी परिमार्जन गर्न सुझाव दिएका थिए ।

उक्त बैठकमा सदस्यहरूले उठाएको सरोकारको विषयमासमाजिक विकासमन्त्री मोक्तानले उच्च शिक्षालाई गुणात्मक दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा स्थानीय विद्यालयहरूलाई विज्ञान र गणित विषयमा शिक्षकहरू दरबन्दी उपलब्ध गराउने र चिकित्सक क्षेत्रलाई विस्तार एवं परिमार्जन गरी स्वास्थ्य क्षेत्रलाई जनताको पहुँचमा पुर्‍याउन सरकारले उच्च प्राथमिकताका साथ योजना कार्यान्वयन गर्दै लैजाने बताए ।

उनले उच्च शिक्षाकै क्रममा अनुसन्धानत्मक कार्यलाई नवप्रवर्द्धन तथा विकास कोष सञ्चालनबाट अनुसन्धानकर्ता र वैज्ञानिकहरूलाई शिक्षा, वनस्पति र चिकित्सक क्षेत्रलाई उत्पादनमूलक बनाउने कार्यलाई तीव्रता तुल्याउने लक्ष्य रहेको बताए ।

यसैगरी, बैठकमा स्वास्थ्यमन्त्री जोशीले प्रदेशमा रहेका अस्पतालहरूलाई स्तरोन्नति गरी सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन भौतिक पूर्वाधार विकासलाई जोड दिइने तथा चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई दक्षता हासिल गर्ने नयाँ प्रविधिको तालिम पनि उपलब्ध गराउँदै लैजाने नीति रहेको बताए ।

उनले अस्पतालमा आएका सर्वसाधारण नागरिक र बालबालिकाहरूलाई उपचारका क्रममा भइरहेको विभेद र ढिलाइलाई अब अनुगमन र प्रत्यक्ष निगरानीबाट अन्त्य गरी तत्काल उपचार सेवा पुर्‍याउनेतर्फ प्रदेश सरकारले छुट्टै निगरानी गर्ने र अस्पतालहरूको थप अपडेटका लागि प्रदेश सरकारले कुनै-कुनै अस्पताललाई अनुमति पत्र दिने क्रममा रोक नलगाउनेतर्फ स्पष्ट पारे ।

सोही बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा श्रेष्ठले प्रदेशको सबै जिल्लामा कृषकहरूको समस्यालाई पहिचान गरी उनीहरूलाई आधुनिक प्रविधिको तालिम दिलाई कृषि उत्पादन गर्ने क्रममा खाद्यान्न, तरकारी, फलफूल उत्पादनलाई व्यावसायिकरूपमा अगाडि बढाउन प्रदेश सरकारले कृषिमा नयाँ विधेयक ल्याइएको तथ्य उल्लेख गर्दै अब कृषिप्रति युवाहरूलाई बढीभन्दा बढी सहभागिता गराउनेतर्फ विधेयकले नयाँ प्रस्तावना ल्याएको उल्लेख गरे ।

उनले अब कृषकहरूले उत्पादन गरेको खाद्यान्न, फलफूल तरकारीको सरकारले मूल्य निर्धाणका साथै शीत भण्डारणको व्यवस्थापन गर्ने र सङ्घीय सरकारसँग कूटनैतिक माध्यममार्फत छिमेकी देशबाट आउने तरकारी, खाद्यान्न र फलफूललाई नियन्त्रण गर्नेतर्फ सीमा जोडिएको प्रदेश सरकारसँग पनि समन्वय गरी अघि बढाइने सरकारको उद्देश्य रहेको बताए ।

प्रदेशसभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो साढे १२ बजे बस्नेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ