arrow

तीन जिल्लामा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
public-holiday-sarwajanik-bida.jpg

भरतपुर । आज तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायले छोनाम (न्वागी) पर्वका अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । 

प्रदेशका चितवन, मकवानपुर र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । हालै बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

यस वर्ष पनि चेपाङ समुदायले सामूहिकरूपमा छोनाम (न्वागी) पर्व मनाउँदै छन् । शुक्रबार सामूहिकरूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घ बागमती प्रदेश सचिव तथा इच्छाकामना गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिए । उनले सामूहिक उत्सवको सबै तयारी गरिएको बताए ।

उनका अनुसार चितवन, धादिङ, मकवानपुर र गोरखाका चेपाङ धादिङको च्याङलीमा जम्मा भएर न्वागी मनाउँदैछन् । विगत आठ वर्षदेखि चेपाङ समुदायले चेपाङ सङ्घको पहलमा सामूहिकरूपमा न्वागी मनाउँदै आएका छन् ।

वर्ष दिनमा कम्तीमा नौ महिना जङ्गली कन्दमूल र सिस्नो खाएर प्राण धान्दै आएको लोपोन्मुख चेपाङ जातिले भदौ २२ गते मिठोमसिनो खाएर मुख फेर्ने इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ