arrow

लोकविश्वासमा टुना–मुना–मोहनी     

logo
शीतल गिरी,
प्रकाशित २०८० भदौ ९ शनिबार
article-sheetal-giri-2080-05-02.jpg

१, विषय प्रवेश
जुन शक्ति सदैव नै अदृश्य र अज्ञात रहन्छ, त्यसप्रति फरक–फरक किसिमको कल्पना गर्नु र मान्यताहरूको विकास गर्नु मानिसको लागि सर्वथा स्वभाविक हो । कुनै घटनालाई जब बस्तु जगतको कारणहरूसँग कुनै सम्बन्ध स्थापित गर्न सकिँदैन र जब त्यो नितान्त कल्पनाभन्दा बाहिरको हुन्छ तब त्यसलाई दैवी घटना मानेर मनलाई सान्त्वना दिइन्छ । कल्पनाभन्दा बाहिरका घटना र दैवी शक्तिहरूसँग मानिसले जुन किसिमको सम्बन्ध स्थापित गर्दछ, तब धर्म अथवा टुना–मुना–मोहनी या यस्तै नामकरण गर्न थाल्दछन् । समाजको रचनात्मक अभिव्यक्तिहरू, विशेष गरेर साहित्य र कलामा सामाजिक गतिविधि र क्रियाकलाप, धार्मिक विश्वास आदिको प्रत्यक्ष वा परोक्ष प्रभाव अवश्य पर्ने गर्दछ । धार्मिक क्रियाहरूका लागि दुई ओटा कुरा आवश्यक छः कल्पनाभन्दा बाहिरको घटना र दैवी शक्तिको प्रभावको अनुभूति, त्यस प्रति विश्वास एवं मान्यता साथै व्यवहार र प्रथाहरूको सृष्टि । 

यस्ता अनुभूतिले विश्वास र मान्यताको फरकफरक बाटोको विकास गर्न पुग्दछ । अतिमानवीय अदृश्य शक्तिलाई वशीभूत या नियन्त्रण गर्ने चेष्टाले धार्मिक क्रियाहरूको सृष्टि हुन्छ र यसले निर्माण गरेको क्षेत्रलाई टुना–मुना–मोहनी भनिन्छ । यसको विपरीत ती शक्तिहरू प्रति आत्म–समर्पण गरेर आफैँ नियन्त्रित हुन थाल्यो भने यो क्षेत्र धर्मको परिधिमा आउँछ । टुना–मुना–मोहनी त्यो कल्पना भन्दा बाहिरको शक्तिलाई भनिन्छ । जसमा अतिमानवीय जगत् या उसको कतिपय स्थितिहरूलाई नियन्त्रण गर्न सकियोस् र जसको क्रियाहरूलाई आफ्नो इच्छाअनुसार राम्रो–नराम्रो, शुभ–अशुभ उपयोगमा ल्याउन सकियोस् । कहिलेकाहिँ टुना–मुना–मोहनी जब सामाजिक रूपमा मान्य हुन्छ, तब त्यस समाजको सबै सदस्य ती शब्दसँग परिचित हुन्छन् । तर यस स्थितिमा पनि ती शब्द उनीहरूका संस्कृति बाहिरका मानिसहरूसँग भने गोप्य नै राखिन्छ ।         

मन्त्रलाई फलदायी बनाउनको लागि प्रायः तिनीहरूको उच्चारणको साथमा कतिपय क्रियाहरू गर्नु आवश्यक पर्छ । यस्ता क्रियाहरूले मन्त्रोच्चारणलाई नाटकीय तत्त्व प्रदान गर्दछ । जुन समयमा खास किसिमको टुना–मुना–मोहनी क्रियाहरू देखाउनु पर्ने हुन्छ त्यस समयमा कतिपय खाद्य तथा व्यवहार आदि निषिद्ध गरिएको हुन्छ । सबैभन्दा ठूलो त मन्त्र नै हो, अरू क्रिया र व्यवहार त्यसमा जोडिएको मात्र हो । कहिलेकाहिँ यस्ता क्रियाहरूमध्ये केही अनावश्यक हुन सक्छ । तर मन्त्र सधै नै आवश्यक अंगको रूपमा प्रत्येक टुना–मुना–मोहनीका क्रियामा उपस्थित रहन्छ ।     

यदि टुना–मुना–मोहनीका क्रिया आफ्नो अभिप्रायमा सफल हुन सकेन भने त त्यसको असफलताको सम्बन्धमा अभिचारकले मन्त्रको शब्द–क्रम अथवा त्यसको साथमा गर्ने क्रियाहरूमा कुनै त्रुटि ग¥यो होला भनेर प्रायशः सोच्ने र मान्ने पनि गरिएको छ । जब एक किसीमको टुना–मुना–मोहनी क्रिया गरिन्छ तब लक्ष्यमा त्यसको परिणाम पनि समानधर्मीनै हुनेगर्छ । यसलाई अनुक्रमणात्मक टुना–मुना–मोहनी भन्ने गरिन्छ । 

लोकविश्वास अनुसार यदि गर्भवतीलाई कुनै रूखको पहिलो फल खान दियो भने त्यस रूखमा अर्को वर्ष धेरै फल फल्नेछ । केही आदिवासीको चलन अनुसार जब कहिल्यै युवक प्रेमी आफ्नी प्रेमीका भेट्न रातिको समयमा उसको घर जाँदा उसले मशान घाटबाट केही माटो पनि साथमा लैजान्छ र त्यो माटो प्रेमीकाको घरको छानामा फालिदिन्छ । यसको प्रयोजन भनेको उनीहरूको गुप्त भेटको समयमा प्रेमीकाको आमा–बुवा साथै घरका अन्य मानिस गहिरो निद्रामा सुतिरहुन् र प्रेमी–प्रेमीकाको मिलनमा कुनै बाधा अडचन नआओस् भन्ने हो । टुना–मुना–मोहनी गर्नेलाई उसले गरेको क्रियाहरूको अनुक्रमणात्मक प्रभाव पर्छ भन्ने विश्वास हुन्छ र यस किसिमबाट उसको अभिष्टको सिद्धि हुन्छ ।     

यसको विपरीत अर्को किसिमको टुना–मुना–मोहनीमा समानताको ठाउँमा सम्पर्कको महत्त्व धेरै मान्य गरिएको छ । यदि कुनै बस्तुको कसैसँग सम्पर्क छ, या रहेको छ, तब यस्तो ठान्ने गरिएको छ कि सम्पर्कमा आएको वस्तुमा टुना–मुना–मोहनी क्रिया गर्नाले त्यो धारण–गर्नेमा क्रियाको प्रभाव पर्छ । कतिपय समाजमा शिशुको छेवर गर्दाको केश जतनगरेर राख्ने गरिन्छ र पछि त्यो बग्दै गरेको नदीमा बगाउने (सेलाउने) गरिन्छ । जसलाई टुना–मुना–मोहनीको लक्ष्य बनाइन्छ त्यसको केश, नङ र दिशा–पिशावको उपयोग यस्ता टुना–मुना–मोहनी क्रियाहरू पूरा गर्नमा गर्ने गरिन्छ । टुना–मुना–मोहनी क्रियाहरूको लक्ष्य र उद्देश्य सधै हानी पुगाउनु मात्र हुँदैन । शीकारी समाजमा छोराको नाललाई रुखमा झुण्याउने गर्दथ्यो, यसो गर्दा त्यो बालक ठूलो भएपछि कुशल शीकारी बन्छ भन्ने विश्वास थियो ।     

 जुन वस्तुहरूमा टुना–मुना–मोहनी क्रियाहरू गर्ने गरिन्छ त्यो निमित्त अथवा लक्ष्यसँग सम्वन्धित हुने गर्दछ । सम्पर्कद्वारा या समानताको कारण सह–अनुभूतिको भाव उद्दीप्त भै हाल्छ, जसबाट ती बस्तुमा गरिने क्रियाहरूले लक्ष्य या निमित्त प्रभावित हुनेगर्छ । यसै कारणले यस्तो टुना–मुना–मोहनीलाई सहानुभूत टुना–मुना–मोहनी भनिन्छ । यस्तो टुना–मुना–मोहनी सधै सकारात्मक मात्रै हुँदैन । टुना–मुना–मोहनीलाई तीन मुख्य कामको लागि प्रयोगमा ल्याउने गरिन्छः संवद्र्धनको लागि, संरक्षणको लागि र विनाशको लागि ।     

२, टुना–मुना–मोहनी र प्रारम्भिक कृषि         
सम्पूर्ण विश्वमा पाइने गरेको तथ्य अनुसार प्रारम्भिक कृषि कार्य टुना–मुना–मोहनीमा निकै निर्भर भएको ठानिन्थ्यो । यस प्रकारको टुना–मुना–मोहनीलाई प्रारंभिक कृषि कार्यमा एउटा विचित्र किसिमको महत्त्व दिइयो । सम्पूर्ण आदिवाशी जनजातीहरूमा रहेको विश्वास अनुसार अरू कार्यको अपेक्षा कृषि कार्य, चमत्कारिक शक्ति र विधिमा धेरै निर्भर गर्दछ, साथै पुरुषको श्रम र कौशलमा यो त्यती निर्भरता छैन, भन्ने रहेको छ । आदिवाशी जनजातीहरूले खेत बारीमा गर्ने श्रम एउटा नीरस दिनचर्या नभएर यो एउटा यस्तो प्रक्रिया हो जसले देवीबाट संरक्षण प्राप्त गरेको छ र मंगल उत्सव मनाउँने क्रममा कहिलेकाही बाँधा अवरोध पनि देखापर्दछ । कतिपय ठाउँमा जबसम्म त्यहाँका महिलाहरूले खेतमा नाचगान गर्दैनन् तबसम्म त्यो खेत जोतीदैन किनभने उनीहरूको विश्वासमा प्रेतात्माहरूलाई आदर नगरेसम्म बाली राम्रो हुँदैन । सानो भन्दा सानो कृषि कार्यमा पनि उर्वरता देवीलाई आह्वान र आदर गरिने समारोह गरिने प्रचलन धेरै जसो समाजमा रहेकै थियो ।         

जनजातिको सम्बन्ध कृषि जीवनसँग छ यसकारण चाड पर्वको समय पनि कृषिको आवश्यकता अनुसार निर्धारित गरिएको छ । चाडपर्वहरू मोज मजा गर्नका लागिमात्र होइन । यसको उद्देश्य कृषिको सफलता निश्चित गर्नको लागि हो, लोकविश्वास अनुसार यो टुना–मुना–मोहनीको माध्यमले गर्ने गरिन्छ । यसो भन्नु अवश्य नै अतिशयोक्ति हुनेछैन, गाउँ घरतिर कुनै पनि कृषि कार्य यस्तो पाइदैन जो कुनै न कुनै टुना–मुना–मोहनीमा अत्यधिक निर्भर नरहेको होस्, तर हिजो आज यस्ता कुरामा कमी आउँदै छ, हाम्रा अति प्राचीन पूर्वज, बाली सप्रोस् भनेर टुना–मुना–मोहनीमा निर्भर थिए र विधि–विधानको साथमा क्रिया गर्ने गर्दथे । कौटिल्यले आफ्नो ‘अर्थशास्त्र’ मा निर्देश गरेका छन्, वास्तवमा मन्त्रोच्चारण नगरिकन खेतमा बीउ राख्नु हुदैन ।     

कौटिल्यभन्दा पनि पहिले जब हामी वैदिक साहित्यमा हेर्दछौं तब त्यहाँ बीउ राख्दाखेरी सधै एक मुठी बीउ सुनको टुक्राको साथमा पानीले धुनु पर्दथ्यो अनि त्यो बीउ खेतमा छर्नु पर्दथ्यो र साथै यो मन्त्र ‘प्रजापति कश्यप देवतालाई नमस्कार, बाली सधै फलोस्–फुलोस् र अन्न साथै सम्पत्तिमा देवीको वास होस् !’ पढने गरिन्थ्यो । निसन्देह वैदिक अर्थव्यवस्थामा कृषिको स्थान गौण थियो । तर रोचक कुरो के भने कृषिको बारेमा अपेक्षाकृत जे जति अलिकती भनेपनि कुरो बैदिक साहित्यमा उल्लेख छ, त्यसमा यस (कृषि) प्रक्रियालाई टुना–मुना–मोहनी आदिमा अत्यन्त निर्भर रहेको मानिएको छ । अथर्ववेद अनुसार टुना–मुना–मोहनी गर्दा आकाशको विजुलीले खेती बालीको नाश गर्दैन । बीउको देवताको आह्वान आकाशबाट पानी पार्नको लागि गरिएको छ । खोला नालाबाट नहर बनाएर सीचाई गर्नको लागि गरिएको छ ।     

विधि–विधानपूर्वक टुना–मुना–मोहनी गरिएको अन्न ग्रहण गर्नेको भण्डार कहिल्यै रित्तिदैन । ‘तैतिरीय संहिता’ मा रहेको मन्त्र अनुसार, ‘खेतको हरियाली घ्यू र महले अभिषेक गरेको छ जसलाई सबै देवताले स्वीकार गरेको छ । मरूतले पूर्ण शक्ति दिएको छ, दूधले पूर्ण छ, हे खेतको हरियाली हामीलाई दूध कमी हुन नदिनू ।’     
    
‘अश्वलायन गृह्यसूत्र’ (२,१०.४), ‘संस्वायन गृह्यसूत्र’ (४,१३.५), भारद्धाज गृह्यसूत्र (२.१०) मा भनिए अनुसार खेत जोत्नुभन्दा पहिले कृषि देवताको पूजा अर्चना गर्नु पर्छ । ‘परष्कर गृह्यसूत्र’ (२,१७.९) मा सीता अर्थात् खेतको हरियाली देवीलाई धेरै महत्त्व दिइएको छ र ‘गोझिल गृह्यसूत्र’ (४.४.२७) मा भनिएको छ, जोत्दा, सम्याउँदा, विउ छर्दा, बाली काट्दा र अन्न खलामा राख्दा तत् सम्बन्धी धार्मिक क्रियाहरूको समयअनुसार आशा, अरड र अनघ जस्ता देवीहरूका साथसाथै सीताको पनि आह्वान गरिएकै हुनुपर्दछ । वैदिक प्रमाण विशेष रूपले महत्त्वपूर्ण छ ।     

खेतीको कामको लागि धैर्य, दूरदर्शिता र विश्वासको आवश्यकता हुन्छ । यसकारण कृषि समाजमा टुना–मुना–मोहनीको विस्तृत विकास भयो । प्रारम्भमा धरतीबाट बिरूवा कसरी निस्कन्छ यसबारे किसानहरूलाई थाहा थिएन । साथै खेती गर्ने औजार अपर्याप्त थियो, त्यसकारण खेती पातीको काममा धैर्य, दूरदर्शिता र विश्वासको आवश्यकता थियो । तर टुना–मुना–मोहनीबाट उनीहरूका यस्ता सबै मनोवैज्ञानिक आवश्यकताहरू कसरी पूरा हुन्थ्यो ? 

टुना–मुना–मोहनी वास्तविकतालाई नियन्त्रण गर्न सक्ने विश्वासमा आधारित छ । आफ्नो मनोरथको काल्पनिक सृष्टि गर्नको लागि यो भ्रम उत्पन्न हुन गयो । आफ्नो मनोरथले काल्पनिक सृष्टि गरेर तिनीहरूले आफ्नो इच्छा वास्तवमा पूर्ति गर्न सक्नेछन्, उनीहरूमा यो इच्छापूर्तिको लागि अझ धेरै मेहनत गर्ने भावना उत्पन्न गराउँछ भन्ने विश्वास थियो । टुना–मुना–मोहनीको आधार अज्ञान हो । तर यसलाई अज्ञान मात्र भन्नु गलत हुनेछ, किनभने यसले कर्मप्रति निर्देशित पनि गर्दछ यद्यपि यो मनोवैज्ञानिक दिशानिर्देश हुनेगर्छ ।     

३, टुना–मुना–मोहनी     
इच्छा शक्ति यसो त साधारण कुरो जस्तो लाग्दछ तर बास्तवमा यो त्यो चीज हो, जसमा मानिसको जीवन र मृत्युको रहस्य लुकेको हुन्छ । मानिससँग शक्तिको कुनै कमी छैन, तर यस शक्तिको सही प्रयोग तब हुन सक्दछ जब मानिसको इच्छा शक्ति बलियो हुन्छ । जुन मानिसको इच्छा शक्ति कमजोर हुन्छ, त्यस्ताको जीत भएपनि हारमा परिणत हुन्छ । संसारका नाम चलेका महानव्यक्तिहरू आफ्ना इच्छाशक्तिको बलमा बनेका छन् । मोहनी (सम्मेहन) र इच्छा शक्तिमा धेरै गहिरो सम्बन्ध छ । कहिले त यस्तो लाग्दछ यी दुईलाई अलग गर्न गाह्रो छ, किनभने सबभन्दा पहिले इच्छा शक्तिको नै जन्म हुनेगर्छ । हामी जुन कुरो प्राप्त गर्न चाहन्छौं त्यो कुरो पहिले इच्छाको रूपमा मनमा जन्मने गर्छ ।     
प्रायः जसो पसलेले यस्ता सामान देखाउँछ जसको आवश्यकता ग्राहकलाई हुदैन । यो त त्यस पशलेको इच्छाशक्तिको कारणले नै ग्राहकले हेर्ने गर्छ । इच्छाशक्ति र जिद्दि— दुई फरक–फरक कुरा हुन् । जिद्दि व्यक्ति आफ्नो निर्णय अरूमा थोपर्न प्रयत्न गर्दछ तर उसलाई कहिल्यै सफलता प्राप्त हुदैन, जिद्दिले कसैलाई कहिल्यै लाभ पु¥याउँदैन । यदि कुनै मानिस बिहान निश्चित समयमा उठ्न अलार्म लगाउँने निर्णय लिन्छ र लगाउँछ, यदि उसले अलार्म नलगाएको भए पनि निश्चित समयमै उठने थियो । व्यक्तिको इच्छाशक्तिको कारणले यस्तो हुने गर्छ ।         

संसारमा रहेको प्रत्येक धर्मका पुस्तक पढ्दा एउटै कुरो पाइन्छ । त्यो भनेको— विश्वास ! विश्वास !! मात्र विश्वास !!! हुन सक्छ यस्तो विश्वास स्वयम्मा होस् अथवा कुनै अरूमा, तर विश्वास त विश्वास नै हो । भागवानले मानिसलाई हरेक किसीमको सुख दिएका छन् र मानिसले पनि पूर्ण विश्वास राख्दछ । वास्तवमा धर्मले मानिसको यस शक्तिलाई काममा ल्याउने एउटा बाटो देखाएको छ । यसै बाटोबाट मानिस भगवानको शक्ति मान्नको लागि बाध्य हुन्छ ।     

एकातिर भगवानले आफ्ना मान्छेमा ‘तिमी आफ्नो देवको स्मरण गर उसले तिम्रो हरेक काम पुरागरि दिन्छ’ भन्ने विश्वास जगाएको छ । यसैले मानिस भगवानलाई खुशी बनाएर चाहेको प्राप्त गर्न चाहन्छ । यही धर्म शिक्षा हो र यही विश्वास हो । आफ्नो असफलता ‘भगवानको यस्तै इच्छा’ भनेर पनि मानिसले ठूलो सहारा प्राप्त गर्दछ । भाग्यलाई दोष दिनुको अर्थ हो, भगवाननै यस कामको दोषी हो, असफलताको लागि भगवान नै जिम्मेवार हो । जब मानिसले कुनै सफलता प्राप्त गर्दछ तब उ आफ्नो बखान गर्न थाल्दछ ।     

मानिस आफ्नो असफलताबाट पन्छिनको लागि भगवानको सहारा लिन्छ । यसो त धर्म शिक्षाले चाही भन्छ— ‘मलाई कहिले पनि आफ्नो असफलताको सहारा नबनाउँ । जे तिमी गर्नेछौं, त्यही त्यही पाउनेछौं ।’ धार्मिक ग्रन्थहरूमा यो कुरो प्रष्टसँग लेखिएको छ । तिमी आफ्नो हरेक इच्छा पुरा गर्न सक्दैनौं । तिमी त्यही गर्न सक्छौं जो भगवानले चाहन्छ । भाग्यको अर्थ यो हुदै होइन— जे गरे पनि, सबै कुरो पाइन्छ, भाग्यमा जे लेखिएको छ । भाग्यको मिलन जब कर्मसँग हुन्छ तबमात्र सफलता प्राप्त हुन्छ । यसको लागि भागवानमा विश्वास गर्नु पर्छ । आफूभीत्र रहेको जुन शक्ति छ, त्यो व्यक्तिको जीवनको सबभन्दा ठूलो साधन हो— यो विश्वास प्रत्येक व्यक्तिले राख्नै पर्छ ।     

भगवान र स्वयंमा विश्वास नै सफलताको रहस्य हो । असफलताको अर्थ टाउको समातेर रुन बस्नु होइन । रोएर सफलता प्राप्त गर्न सकिदैन, यसकारण कहिल्यै पनि निराश हुनु हुँदैन । असफलता र सफलताको बीचमा झूण्डिने प्रयास गर्नु हुदैन । म यो काम गर्न सक्छु भन्ने मनमा बसाल्नु पर्छ । टुना–मुना–मोहनी लगाउँनु छ भने मनमा विश्वास जगाउँनु पर्ने हुन्छ— ‘म यो काम सजिलै गर्न सक्छु’ । मन्दिरका पुजारीलाई आफू आफैमा पूर्ण विश्वास हुन्छ तब न उ भगवानको शरणमा रहि रहन्छ । टुना–मुना–मोहनीको लागि आफैमा विश्वास गर्नै पर्छ ।     

ढुङ्गाको मूर्तिमा प्राण हुँदैन, कसैको पनि इच्छा पुरा गर्न सक्दैन, यो थाहा हुँदा पनि मानिसले ढुङ्गाको भगवानको पूजा गर्दछन् । पूजा गर्न मरिमेटछन् । उनीहरूलाई पूर्ण विश्वास छ हाम्रो काम पुरा हुनेछ, जब कुनै व्यक्ति विशेष काम गर्नको लागि डराउन थाल्दछ तब अरूको सहायता कसरी गर्छ ? जब आफ्नो सहायता स्वयम् गर्न सक्दैन तब टुना–मुना–मोहनी जस्तो कलामा— जसमा अरूको साथको आवश्यकता पर्छ— त्यसबारे ज्ञान कसरी प्राप्त गर्न सक्दछ । यदि आफैमा विश्वास छैन भने त उसको शब्दले शारीरिक रोगलाई प्रभावित गर्न सक्दैन । यतिमात्र होइन, प्रयोगमा ल्याउन सक्दैन, किनभने यो बुझ्नको लागि पूर्ण विश्वासको आवश्यकता पर्दछ ।         

नचाहिँदो सोच कसरी जन्मन्छ ? यसको कारण के हो ? यो हिन भावना व्यक्तिमा कसरी जन्मन्छ ? यसको गहन रूपमा अध्ययन गर्दा थाहा हुन्छ— कुनै पनि काममा बारम्वार असफलताले हीन भावना जन्मन्छ । यसकारण कहिल्यै पनि आफ्नो मस्तिष्कमा हीन भावना एवं नचाहिदो सोच आउन दिनु हुँदैन । आदेश र कल्पनाको आपसमा बडो गहिरो सम्बन्ध छ । यस्तो लाग्दछ संसारको हरेक बस्तुको पछाडी कल्पनाको नै सबभन्दा ठुलो हात छ । 

कल्पनाले नै यथार्थ बुझ्नको लागि बाध्य पार्दछ, तर पनि सत्य कल्पनाभन्दा ठूलो हो । टुना–मुना–मोहनीमा आदेशको सबभन्दा धेरै महत्त्व छ, तर यो नभए पनि टुना–मुना–मोहनीमा काम चल्छ । लोकको मनमा अगाध, असीम, अनन्त र गूढ शक्तिको परिचय गराउँनको लागि टुना–मुना–मोहनी एउटा प्रभावशाली साधन हो । प्राणायाम, त्राटक, न्यास आदि साधनहरूको अभ्यास केहि दिनसम्म गरेपछि साधक टुना–मुना–मोहनी विद्या प्राप्त गर्न सक्दछ ।         

४, टुना–मुना–मोहनी र विज्ञानः समानता र विभेद     
टुना–मुना–मोहनी र विज्ञानमा केही समानताका संकेत पनि छन् । दुबैले प्राकृतिक नियमको उपस्थितिलाई स्वीकार्दछन् । टुना–मुना–मोहनीको मान्यतामा एउटा घटनाले अनिवार्यतः अन्य घटनाहरूमा प्रभाव पार्दछ, क्रियाको प्रतिक्रियाको सिद्धान्त स्वीकार गर्दछ । यस्तो लाग्दछ प्राकृतिक नियम–प्रणाली, अर्थात् सम्पूर्ण विश्वको घटना–क्रम निर्धारित गर्ने नियमहरूको वक्तव्यको रूपमा यसलाई सैद्धान्तिक टुना–मुना–मोहनी भन्न सकिन्छ । आफ्नो उद्देश्य पूर्तिको लागि मानव–व्यवहृत तरीकाको रूपमा यसलाई व्यावहारिक टुना–मुना–मोहनी भन्न सकिन्छ । लोकजीवनका टुना–मुना–मोहनी गर्न जान्ने तान्त्रिक टुना–मुना–मोहनीको व्यावहारिक पक्षसँग परिचित हुन्छन्, उनीहरूले त्यो मानसिक प्रक्रियाको कहिल्यै विश्लेषण गर्दैनन् जसमा उनिहरूको व्यवहार आधारीत छ, उनीहरूका लागि तर्क अन्तर्मुखी हो, बर्हिमुखी होइन । लोकविश्वास सिकार गर्न जादा शीकार सजिलै पाइयोस भनी, खेती सप्रियोस् प्रसस्त अन्न फलोस् भनी, समयमा बर्षा होस् खेती राम्रो बनोस् भनी, खोला–नदी–रह–दहमा प्रसस्त माछा मार्न पाइयोस् भनी, डुङ्गा नडुबोस् भनी, व्यापारमा लाभै लाभ होस् भनी, मनले चीताएकोसँग घरजम गर्न पाइयोस् भनी यस्तै यस्तै चाहनाको टुना–मुना–मोहनी लोकले गर्दै, अपनाउँदै आएको छ ।     

यस बाहेक सम्पत्ति रक्षाको लागि, दिएको ऋण नडुबोस् भनी, दुर्भाग्यबाट बच्नको लागि, रोग व्याधी हटाउँनको लागि, सहज तरिकाले सुरक्षित यात्रा होस् भनेर, अनी कसैले कुभलो चिताएको छ भने चिताउनेलाई नै खती पुगोस् आफूलाई केही नहोस् भनेर लोकजीवनमा टुना–मुना–मोहनीले स्थान ओगटेको छ । यतीमात्र नभएर आधी बेहरीले शत्रुको घर–बाली सखाप पारोस्, सम्पत्ति नष्ट भैजाओस्, महामारी फैलीयोस्, असमयमै मरोस् भनेर नैतिक दृष्टिले अशुभ कार्य हेतु पनि टुना–मुना–मोहनीको प्रयोग यीनै स्थीतीहरूमा गर्ने गरिएको पाइएको छ । जब यसका सिद्धान्तहरूलाई तर्कपूर्ण र युक्तिसँगत उपयोग गर्ने गरिन्छ तब यो विज्ञानको आधार बन्न पुग्दछ । आदर्शतः विज्ञानले पर्यवेक्षण र परीक्षणको आधार लिएर परिणामको कामना गर्दछ, जबकि टुना–मुना–मोहनी सधै नै भ्रमपूर्ण परिधिहरूको मान्यताको आधारमा टिकेको–बाचेको हुन्छ । टुना–मुना–मोहनीको क्षेत्रमा यसको प्रयोगको परीक्षण गर्नको लागि कुनै प्रयोगशाला हुँदैन । यो मानिसको व्यक्तिगत अनुभवको प्रतिफल हुन्छ र यसकारण यसलाई यसै रूपमा स्वीकार गर्नु पर्दछ, यद्यपि यो सत्य हो, केही टुना–मुना–मोहनी सम्बन्धी व्यवहार र क्रियाहरूले पूर्व–प्रेक्षित फल दिएको पाइएको पनि छ । केही परिस्थितिमा कारण–कार्य सम्बन्धको उचित लेखाजोखा हुन्छ र यसको फल त्यतीकै सत्य हुन्छ जती विज्ञानको ।     

५, लोकजीवनमा टुना–मुना–मोहनीका क्रियाहरू         
लोकजीवनमा पर्याप्त मात्रामा टुना–मुना–मोहनी घुलमिल भएको छ । प्राचीन कालदेखि नै मानव–जीवनको सम्पूर्ण संस्कार यसमा आधारित छ । यो जन्मदेखि मृत्युसम्मगर्ने गरिन्छ । टुना–मुना–मोहनीमा विश्वास गर्ने या नगर्ने यो एउटा फरक विषय हो । तर हरेक ठाउँमा आफ्नो आफ्नो संस्कृति अनुसार टुना–मुना–मोहनी गर्ने गरिन्छ ।         
टुना–मुना–मोहनी प्रतिको मोह समाजमा निम्नवर्ग, मध्यमवर्ग र उच्चवर्गका मानिसहरूमा समान रूपले देख्न पाइन्छ । गाउँघरमा फलानो व्यक्ति बोक्सी, बोक्सो हो भन्ने गरिएको प्रष्ट सुन्न पाइन्छ । उसले फलानो रुख सुकाइदियो, उसले ढिस्कानोको गाई, भैसीको दुध सुकाइदियो, उसले मशानघाटमा गएर लासलाई जीउदो बनाएर तन्त्रमन्त्र सिकेको हो— यस्ता धेरै थरिका कुराहरू सुन्न पाइन्छन् । प्रत्येक बर्ष दशैंको समयमा केटाकेटीहरूलाई आमा–बुवा, बाजे–बजैले कालो टीका लगाइदिन्छन्, घाँटीमा हिङ, लसुन, सरस्यु इत्यादी कालो कपडामा बाँधेमा केटाकेटीलाई भूत–प्रेत अथवा नोक्सान गर्ने टुना–मुना–मोहनीको प्रभाव पर्दैन भन्ने विश्वास गरिन्छ ।     

मानिसहरू प्रायशः ५ वटा खुसौनी अथवा कागती आइतवार या मङ्गलवार आफ्नो पसलको अगाडि झुण्डाइदिन्छन् । यसो गर्दा व्यापार बढ्दै जान्छ भन्ने मान्यता छ । शिशु जन्मेको समयमा ग्रामीण समाजमा सुत्केरी भएको घरको ढोकामा मानिसहरू टुना–मुना–मोहनी गर्दछन्— जब कुनै शिशु कसैको घरमा जन्मन्छ, तब त्यस घरको ढोकामा दाउरा सल्काएर राख्ने गरिन्छ, त्यहाँ फलामले बनेको हसीया राखिन्छ, चौवीसै घण्टा आगो राखिन्छ । यसो गर्दा आमा र शिशु दुबैलाई भूतप्रेतको डर हुँदैन भन्ने विश्वास गरिन्छ । शीशु जब बारम्वार डराउँछ अथवा झस्कन्छ, तब उसको टाउको तल ओछयानमा चक्कु अथवा फलामको हतियार राखिदिइन्छ, यसो गर्दा शिशु झस्किदैन, डराउँदैन भनेर विश्वास गरिन्छ, आमाले जब आफ्नो शिशुलाई तेल लगाउँछिन््, तब शिशुको आँखा, पैताला, निधार, आदिमा गाजल लगाइदिन्छिन् । यसो गर्दा शिशुलाई कुनै किसिमको खराब नजर लाग्दैन भनिन्छ । कहिलेकाहिँ शिशु धेरै रुदा, तब मङ्गलबार या आइतबार उसकी आमाले ५ वटा रातो खुर्सानी शिशुको चारैतिर घुमाएर आगोमा डढाउँछिन्, यसो गर्दा शिशुलाई सन्चो हुन्छ भन्ने विश्वास छ ।

शिशुलाई लिएर माइती जाँदा या घर फर्कदा चौबाटोमा ५ ओटा माटोको डल्लो पछाडिपट्टि फाल्नाले कसैको दुष्ट नजर लाग्दैन भन्ने मान्यता छ । जब कसैलाई दुःखमाथि दुःख थपिन्छ, त्यसलाई शनिग्रहको प्रकोप भनिन्छ र शनिबारको दिन नुहाएर कालो कपडामा कालो तिल राखेर कुनै ब्राह्मणलाई दान दिनाले शनिग्रहको फल निष्प्रभावी हुन्छ भन्ने मान्यता छ । 

केही मानिस शनिग्रहको फल निष्प्रभावी गर्न घोडाको नालको औँठी अथवा डुङ्गामा ठोकिएको काँटीको औँठी बनाएर लगाउँछन् । जब कुनै केटाकेटी सुकेनाश रोगले ग्रसित हुन्छ, तब बालक दिनहुँ सुक्दै जान्छ । यस्तो अवस्थामा बालकको तौल बराबरको गाईको गोबर आइतबार या मङ्गलबार कालो कपडामा बाँधेर पिपलको रुखमा झुण्डाइदिने या त्यस गोबरले घरको भित्तामा मानव आकार बनाउने गरिन्छ । जसरी जसरी गोबर सुक्दै जान्छ, त्यसै गरी बालकको रोग पनि हट्दै जान्छ भन्ने मान्यता छ ।     

फर्सी अथवा भाण्टाको बारीमा एउटा माटोको भाँडो (हाँडी) मा कालो पोतेर त्यसमा चुनाको टीका लगाएर राखिएको धेरैले देखेका छन्, त्यसमाथि गोबरको डल्लो रातो खुर्सानी राख्नाले तरकारी बारीमा कसैको नजर लाग्दैन भन्ने विश्वास गरिन्छ ।     

नयाँ घर बनाउँदाखेरि मानिसहरू हनुमानको पूजा गर्दछन् र एउटा बाँसको टुप्पामा थोत्रिएको कुचो, पुरानो जुत्ता र काम नलाग्ने चाल्नो बाधेर झुन्डाइदिनाले कसैको खराब नजर लाग्दैन भन्ने विश्वास गरिन्छ । जब कुनै व्यक्ति असाध्य रोगले पीडित बन्छ, तब घरका मानिस त्यस रोगीले ओकलेको खानेकुरो आइतबार या मङ्गलबारको दिन कुकुरलाई खान दिइन्छ । यसो गर्दा रोगी चाँडै रोगमुक्त हुन्छ भन्ने मान्यता छ । जब कुनै व्यक्ति मर्दछ र मानिस जब लासलाई मसानघाटमा लैजान्छन्, त्यस समय विशेष गरेर गर्भवती महिलाको मृत्युको समयमा बालुवा र सस्र्यौँ सरोवर मिलाएर घरदेखि मसानघाटसम्मको बाटोमा छर्दै जान्छन्, यसो गर्दा मृतात्मा फर्केर घरमा आउँदैन भन्ने विश्वास गरिन्छ । महिला खासगरी गर्भवतीको मृत्यु हुँदा उसको पाइतालामा सुई रोपिदिइन्छ, यसो गर्दा चुडैलको रूप धारण गर्न सक्दैन, गरि पनि हाल्यो भने घरमा प्रवेश गर्न सक्दैन भन्ने मान्यता छ । आज पनि हाम्रो समाजमा यस्ता थुप्रै किसिमका टुना–मुना–मोहनीले लोकजीवनमा आफ्नो स्थान कायम राखेकै छ ।         
सन्दर्भसामग्री     
१. श्रीवास्तव, सीएम (ई.सं. २०१४) वशीकरण सिद्धियां साधना एवं प्रयोग, दिल्लीः मनोज पब्लिकेशन्स ।     
२. गिरी, शीतल (२०७०) बज्जि र बज्जिका, काठमाडौंः नेपाल प्रज्ञा–प्रतिष्ठान ।     
३. चट्टोपाध्याय, देवीप्रसाद (ई.सं. १९७३) लोकायत, कोलकाताः प्राचीन भारतीय भौतिकवाद का अध्ययन ।     
४. दुबे, डां.श्यामाचरण (ई.सं. १९९८) मानव और संस्कृति, नयाँ दिल्लीः राजकमल प्रकाशन प्राली  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ