arrow

उल्झनमा कोशी सरकार

उपसभामुखले संसदीय परम्परा तोडेको मुख्यमन्त्री थापाको आरोप, बैठक अनिश्चित

‘अब हामी सबै ढोका खुल्ला गरेर जान्छौँ, अदालत जानु पर्छ कि प्रदेश सभामा बसेर छलफल गर्नु पर्छ कि बाहिर बसेर छलफल गर्नुपर्छ’

logo
विवेक मिश्र, 
प्रकाशित २०८० भदौ ४ सोमबार
uddav-thapa-congress-provin.jpg
तस्बिर – फाइल ।

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उपसभामुख सृजना दनुवारले संसदीय परम्परालाई तोडेको आरोप लगाएका छन् । 

कोशी प्रदेश सभा उपसभामुख दनुवार बिरामी बिदा बसेपछि आज बस्ने भनिएको प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । बिहान बसेको कार्य परामर्श समितिको बैठकसमेत बिना निष्कर्ष टुङ्गिएको थियो । 

उपसभामुखले आज गरेको काम गलत भएकोसमेत उनले बताएका छन् । विराटनगरको एक होटेलमा गठबन्धनका नेताहरूसँगको छलफलपछि मुख्यमन्त्री थापाले संचारकर्मीहरुसँग कुराकाकी गर्दै उपसभामुखले संसदीय व्यवस्थालाई धरापमा पार्ने काम गरेको आरोप लगाए । 

‘राज्य व्यवस्था र संसदीय व्यवस्थाबीच द्वन्द्व बढाउने काम उपसभामुखज्यूले गर्नु भएको छ’, थापाले भने  तर हामी द्वन्द्व बढाउँदैनौँ समाधान गर्ने उपाय खोज्छौँ ।’

विश्वासको मत लिने आधारहरू पनि धेरै रहेको उनले बताएका छन् । उनले अब कानूनी प्रक्रियामा जाने संकेतसमेत गरेका छन् । 

‘अब हामी सबै ढोका खुल्ला गरेर जान्छौँ । अदालत जानु पर्छ कि प्रदेश सभामा बसेर छलफल गर्नु पर्छ कि बाहिर बसेर छलफल गर्नुपर्छ । यसका लागि हामी तयारी गर्दै छौ । उपसभामुखलाई  विश्वासको मतमा बस्ने मनसाय थिएन भने समय नदिएको भए हुने थियो’ उनले भने । 

 विश्वासको मत लिनका लागि सबैसँग छलफल गरेर नै अगाडि बढेकोसमेत उनले बताएका छन् । मुख्यमन्त्री थापाले बजेटका विषयमा पनि सहमति भएको बताएका छन् । 

अघिल्लो सरकारले ल्याएको बजेटको  ८५ प्रतिशत नचलाउने र अहिलेको सरकारले  १५ प्रशित मात्रै  फेरबदल गर्ने सहमति भएको स्मरण गराउँदै उनले सहमति एउटा गरेर काम भने अर्कै गरेको देखिएको बताए । 

उनले हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेट पूरै परिवर्तन गर्नेसमेत संकेत गरेका छन् । अघिल्लो सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको भए पनि उपसभामुख बिदामा बसेसँगै अब प्रदेश सभा बैठक बस्ने नबस्नेबारे अन्योल सिर्जना भएको छ । 

यसअघि नै एमालेले आफ्ना ज्येष्ठ ७ र राप्रपाले २ जना जेष्ठ सदस्य सांसदहरूलाई बिदामा राखेको थियो । उपसभामुखले राजीनामा दिएको अवस्थामा जेष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने भएकोले एमाले र राप्रपाले उनीहरूलाई बिदामा राखेका हुन् ।  

कोशीमा यसअघि सरकार बनाउन गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएको थियो । प्रदेश सभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन राज्यमन्त्रीमा नियुक्त गरेको थियो । 

हाल कोशी प्रदेश सभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ