arrow

तस्कर र अपराधमा पुत्रमोह

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८० साउन २७ शनिबार
article-rajendra-panthi-2080-04-27.jpg

काठमाडौँ । नेपाली राजनीतिमा परिवारवाद र नातावादका हाँगाहरू बावाद, दाइवाद, भाउजूवाद, देवरवाद, लोग्नेस्वास्नीवाद, छोराछोरीवाद, प्रेमीप्रेमीकावाद, आफन्तवाद लगायतका थुप्रै वादहरू हावी भएका छन् । ती वादहरू अझै  झाङ्गिएर र फैलिएर सिङ्गो नेपाललाई नै आफ्नो पैतृक सम्पत्ति जस्तो बनाइ लोकतन्त्रलाई लुटतन्त्रको रुपमा स्थापित गरेका छन् । 

यी वादहरूले नेपाली राजनीतिलाई नै विकृत र हरेक राजनीतिक दललाई प्राइभेट कम्पनी बनाएका छन् । अहिले नेपालका कुनै पनि राजनीतिक दलहरू आफ्नो सिद्धान्त, विचार र वादबाट चलेका छैनन्, केवल चलेका छन् त व्यक्ति, सत्ता र कुर्सीवादबाट । 

अहिले त अपराध र तस्करलाई समेत राजनीतिको अङ्ग बनाई राजनीतिभित्र परिवारवादका रुपहरू विस्तारित हुँदै जाँदा तस्कर र अपराधमा शीर्षस्थ नेताहरूले आफ्ना पुत्रहरूलाई नै प्रत्यक्ष संलग्न गराई देशलाई तस्कर र अपराधको अखडा र आफूहरूलाई नाइके बनाएको देखिन्छ । 

हरेक व्यक्तिले आफ्ना सन्तति सज्जन, असल बनुन् भन्ने चाहना हुन्छ तर नेपालका राजनीतिक नेतृत्व र नेताहरूले त आफूजस्तै सन्तति पनि अपराधी र तस्कर नै बनुन् भनी पुत्रहरूलाई नै राजनीतिको आडमा अपराधी र तस्कर बनाउन लागेको देखिन्छ । 

अहिले अपराध र तस्कर काण्डका नाइकेको आरोपमा नेपालका पूर्व उपराष्ट्रपति, पूर्व सभामुख, पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री आदिका पुत्रहरूको नाम सार्वजनिक भएको देखिन्छ । देशका पूर्व तथा वर्तमान विशिष्ट पदाधिकारीहरूले नै राजनीतिका आडमा आफ्ना पुत्रहरूलाई तस्कर र अपराधमा सामेल गराएर आफूजस्तै पुत्रहरू पनि बनुन् भन्ने मोह प्रकट गरेको देखिन्छ ।

शीर्षस्थ नेताहरूले नै राज्यसत्ता र आफ्नो दललाई प्राइभेट कम्पनी बनाई राजनीतिभित्र अपराधीकरण र अपराधमा राजनीतिकरण मौलाएका छन् । शीर्षस्थ नेतृत्वमा नै देश बनाउने सपना भन्दा पनि कमाउने र लुट्ने जपना मात्रै देखिन्छ । आजको नेतृत्व नै आफ्ना घरपरिवारका सदस्यलाई अपराध र तस्करमा संलग्न बनाइ देशकै अस्तित्व सकाउने पक्षमा लागेको देखिन्छ । 

देशको नीतिहरूकै मूल र केन्द्रीय नीति राजनीति र यसको नेतृत्व नै अपराध र तस्करका नाइके बनेकै अवस्थामा यिनीहरूबाट नै देशले केही पाउला भन्नु दिवा सपनामात्र हो । नेपाली जनताले अहिलेका राजनीतिक दल र नेतृत्वका क्रियाकलापलाई वर्षौँ हेरे र भोगे । अब यस्तो अपराध र तस्करको राजनीति र नेतृत्वबाट यो देशको मुहार कहिल्यै फेरिन सक्दैन । 

अहिलेको नेपाली राजनीति भनेको विकृतिको पराकाष्ठा नै हो । नेपालको राजनीतिमा के भएको छैन र भन्ने अवस्थामा पुगेको छ । अब यो राजनीति यिनीहरूबाट नै सच्चिनेवाला छैन । यस्तो  राजनीतिले त देश सकाउनेवाला छ । 

आज नै देशका कुनै पनि निकाय वा संयन्त्रहरू शुद्ध, सफा, स्वच्छ र चलायमान छैनन् । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, कर्मचारी प्रशासन, शैक्षिक क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरू सबैमा चरम विकृति र विसंगति मात्र देखिन्छ । आज दिनको हजारौँ जना युवा जनशक्ति विदेशीन लाग्दा राज्यलाई चिन्ता, चासो र चिन्तन नै छैन । आज नेपालका गाउँ रित्तिदै छन् भने शहरमा वृद्धवृद्धा मात्र बसोबास गर्छन् । राजनीतिको चरम विकृतिले गर्दा देश दलाल, विचौलिया, अपराधी र तस्करको केन्द्र बन्न लागेको देखिन्छ ।

विगत तीस वर्षदेखि लगातार कुनै खास व्यक्तिहरू मात्र राज्यसत्ताको वरिपरि बसी देशलाई आर्थिक दुरावस्थामा पुर्याएका छन् । नेपालको राजनीति यति घृणित बनाइएको छ कि नाम लिँदा पनि मुख बिगार्नु पर्छ र दल वा कुनै नेताका नाम लिँदासमेत घृणा लाग्छ । 

कुनैबेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक कार्यक्रममै बोलेका थिए – गाउँमा नेता आउँदा जनताले चोर आयो भन्छन् । साँच्चै उनले भनेको सत्य सावित हुँदै गयो । आज नेता चोर मात्र होइन अपराधी र  तस्करका नाइके भएको प्रमाणित भएका छन् । 

लामो समयसम्म राज्यसत्ता चलाउने जिम्मेवार दलका जिम्मेवार नेताहरू अपराध र तस्करीको आरोपमा काल कोठरीमा जाकिएका छन् र कतिपय अझै अनुसन्धानकै घेरामा छन् । मूलधारको राजनीतिक दलका शीर्ष नेताहरू नै भ्रष्टाचार, कमिशन, ठग, संगठित अपराध र तस्करमा संलग्न छन् भने उनीहरूद्वारा निर्देशित र परिचालित कार्यकर्ता अछुतो छन् भनेर कसैले विश्वास गर्न सकिने ठाउँ नै छैन ।

राजनीतिक दलका शीर्ष नेताले नै राजनीतिलाई पेशा र व्यवसाय बनाएर देशको सम्पत्ति ब्रह्मलुट गरे । नेताहरूले नेपाली जनतालाई भ्रममा पारेर अनेक किसिमका आश्वासनका पोका बाँडेर सत्तालाई आफ्नो पैत्रिक सम्पत्ति जस्तो बनाई देशलाई खोक्रो बनाउने काम गरे । 

प्रजातन्त्रको पुनः बहाली भएको चौँतीस वर्ष बितिसक्दा पनि देश जहाँको त्यहीँ हुनु अत्यन्तै दुःखलाग्दो अवस्था हो । देशमा थुप्रै पटक व्यवस्था परिवर्तन भए तर जनताको अवस्थामा परिवर्तन हुन सकेन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको उपलब्धि भनेको नेता मोटाउँदै जाने र जनता दुब्लाउँदै जाने मात्र भयो । 

हुँदाहुँदा अहिले त राज्यबाट नै नेपाललाई अपराध र तस्करको अखडा बनाउन लागेको देखिन्छ । नेपालका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई बेचिने जस्तो आपराधिक काम गरियो भने अवैैध क्विन्टलका क्विन्टल सुनको कारोबार गरी नेपाललाई तस्करको अखडा बनाइएको छ । देशको जनसंख्याको करिब एक तिहाईलाई विदेश पठाएर राजनीतिलाई लाजनीति बनाइ राज्यसत्ता नै अपराध र तस्करमा लम्पट भएको देखिन्छ ।

नेपालको उन्नति र समृद्धिको लागि राजनीतिमा विचार, सिद्धान्त र नेतृत्व र नेतामा स्पष्ट भिजन, इमानदारी, नैतिकता, दूरदृष्टि, समाज सेवाको भावना, दृढ़ इच्छाशक्ति हुनुपर्छ । नेपालका मूलधार भनिएका दलहरू र नेतृत्वले आफ्नो नीति, सिद्धान्त, विचार र निष्ठालाई तिलाञ्जली दिएर भ्रष्टाचार र कमिशनतन्त्रमा लागेको हुनाले आज देशले यो दूरावस्था भोग्नु परेको हो । 

देशलाई जोगाउन नेपाली जनताहरूले यतिबेला अत्यन्तै सजग र सचेत भएर सोच्ने बेला आएको छ । कुनै पनि कुराको विकल्प हुन्छ । अबको विकल्प भनेको जतिसक्यो छिटो अहिलेको नेतृत्वलाई राज्यसत्ता र नेतृत्वबाट मिल्काउनै पर्छ र यिनलाई तिरष्कार र बहिष्कार गर्नुपर्छ । यो नेतृत्व असफल, असक्षम, अयोग्य र भ्रष्टाचारी प्रमाणित भएको छ र अब यो सच्चिन सकिने अवस्थामा नै छैन । यो फोहरको डङ्गुर हो । यसलाई जति धेरै समय राख्यो त्यति नै झन् दुर्गन्ध र रोगब्याधी बढाउने काम गर्छ र यसले देशलाई नै सकाउँछ ।

अबको राजनीति परम्परित ढंगले चल्न सक्दैन । सयौँ वर्ष पहिले देश र विदेशमा बनेका ती वाद र विचारले पनि नेपाली माटोलाई समयानुकूल परिवर्तन गर्न सक्दैनन् । अब कुनै व्यक्ति विशेषको भजन गाएर वा यो वाद र त्यो वाद भनेर देश बन्दैन । देश बनाउन संविधानको मूल मर्मलाई नै आत्मसात गरी  समयानुकूलका नीति र भिजन बनाई मैदानमै उत्रिनुपर्छ । ती परम्परित पार्टी प्रणालीलाई समय अनूकुल रुपान्तरण गरिनुपर्छ । 

राजनीतिक दलमा रहेको झोले र टीके प्रणालीलाई अन्त्य गरी जनशक्तिलाई उत्पादन र रोजगारमा लगाउनुपर्छ । अहिले देखिएको भ्रष्टाचार र विकृतिलाई अन्त्य गर्न एउटा अधिकार सम्पन्न उच्चस्तरीय सम्पत्ति छानबिन आयोग बनाउनुपर्छ र सबै भ्रष्टाचारीलाई कालकोठरीमा जाक्नुपर्छ । 

यति नगरेसम्म देश बन्नै सक्दैन । भ्रष्टाचारीको टाउको र हाँगा मात्र भाँच्ने होइन जरा नै उखेल्नुपर्छ । भ्रष्टाचारको जरा उखेल्नु भनेको अहिलेको राजनीतिक नेतृत्व र केही नेतालाई सदाको लागि बिदा गरिनुपर्छ । देशका प्रधान शत्रु भनेका अहिलेका नेतृत्वहरू नै हुन् भन्ने कुरा धेरै कुराबाट प्रमाणित भएकै छ । यद्यपि देशमा व्यवस्था परिवर्तन गर्न हिजो तिनीहरूले गरेको योगदानलाई बिर्सनु हुँदैन ।

नेपालको मूलधारको राजनीतिमा रहेका तुलनात्मक रुपमा केही स्वच्छ छन् भनिएका स्वच्छ बन्न सक्ने र सच्चिन सक्ने सम्भावना देखिएका दोस्रो वा तेस्रो पुस्ताका नेताहरूले राजनीति गर्नुछ भने आफूलाई समयानुकूल परिवर्तन गरी रुपान्तरणसहित राजनीतिमा आउनुपर्छ । 

अहिले जनतामा निकै निराशा र आक्रोश छ । जनताका प्रत्यक्ष सरोकारका मुद्दा लिई जनतासँगै साथमा नलाग्ने दल वा नेतालाई जनताले कुनै हालतमा साथ दिँदैनन् र दिनु पनि हुँदैन । नयाँ राजनीतिक दलहरू पनि क्षणिक पपुलिज्म र स्टन्टबाजीका पछाडि नलागी दिगो र भरपर्दो काममा लागि जनताको विश्वासयोग्य बन्नुपर्छ । 

नेपालको सार्वभौम सम्पन्न संसदलाई औचित्यहीन र प्रतिशोधको भावनाले अवरोध र बन्धक बनाएर, एकअर्कोलाई तथानाम गाली गरेर, भाषणबाजी गरेर, जनतालाई केवल आश्वासनका झुटा पोकाहरू फ्याँकेर र नेतृत्व र नेता भ्रष्टाचारमा चुर्लुम्म डुबेर देश बन्दैन । देश बनाउन निश्चित एजेन्डा र भिजनसहित नेतृत्व र नेताहरू अनि सबै किसिमका जनशक्ति इमानदारीका साथ मैदानमा उत्रिनु नै पर्छ । (भर्जिनिया,अमेरिका)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ