arrow

भारतले चामल नदिए तीन महिना भोकै

भारतको कृषि नीति अपनाउन सरकारलाई सुवेदीको आग्रह

सन् १९६५ मा भारतमा खाद्यान्ह संकट थियो, नेपालले त्यो बेला खाद्यान्ह निर्यात गर्दथ्यो, अहिले भारतले विश्वमा खाद्यान्ह बेच्छ नेपाल किन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
dr-arunkumar-subedi.jpg

काठमाडौँ । नेपाल भारत सम्बन्धबारे जानकार एवं विदेश विज्ञ अरुणकुमार सुवेदीले भारतले नेपाललाई चामल रोक्ने अवस्था नरहेको बताउँछन् । यद्यपि भारतले बासमती बाहेकका प्रकारको चामल निर्यातमा रोक लगाउँदा भने विश्वभरमै हल्लीखल्ली मच्चिएको उनले बताएका छन् । 

उनले अमेरिका र यूएईसमेत चामलको मूल्य बढाइसकेको उल्लेख गरेका छन् । उनले आफ्नो यूट्युबमा मंगलबार विचार प्रस्तुत गर्ने क्रममा बाहिरी देशमा मूल्य बढाउँदा नेपालमा पनि चाप भोगिसकेको उल्लेख गरेका छन् । 

उनले चीनसँगै पश्चिम अफ्रिकी राष्ट्रहरुमा यसको प्रभाव परिसकेको बताएका छन् । संसारमा चामलको निर्यात ५ करोड ६० लाख मेट्रिक टन हुने उल्लेख गर्दै सुवेदीले त्यसमध्ये २ करोड २० लाख मेट्रिक टनमात्रै भारतले निर्यात गर्ने बताएका छन् । 

युक्रेन युद्धले गहुँमा दबाब परेको भन्दै सुवेदीले (२० प्रतिशत रुस र युक्रेनले गहुँ निर्यात गर्ने) कृष्णसागरबाट युक्रेनी अन्न निर्यात गर्न अफ्रिकी राष्ट्रहरुले आह्वानसमेत गरेको उल्लेख गरेका छन् । 

संसारको ४० प्रतिशत हिस्सा चामल भारतले ओगट्ने भन्दै सुवेदीले भारतले क्युबा, अमेरिका लगायतमा चामल पठाउने गरेको बताएका छन् । उनले तीन महिनाको धान भारतबाट नेपाल आयात गरिएको तथ्याङ्क पेश गर्दै भारत सन् १९६५ ताका कस्तो थियो र अहिले कस्तो भयो भन्ने बारेमा बुझ्नु महत्वपूर्ण भएको उल्लेख गरेका छन् । 

सन् १९६५ मा तत्कालीन भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीले संकटलाई शक्तिमा परिणत गरेर कृषि क्रान्ति गरेका थिए । भारतमा सन् १९६२ मा चीनसँग र सन् १९६५ मा पाकिस्तानसँग युद्ध गर्दा चामल, गहुँ, मासु र अण्डामा ब्यापक संकट भएको थियो । 

त्यतिबेला शास्त्रीले कृषि उत्पादनको परिस्थिति हेरेर भारतवासीलाई एक दिन अनिवार्य उपवास बस्न आग्रहसहितको सम्बोधन गरेका थिए । त्यो अवस्थाबाट गुज्रेको भारतले अहिले विश्वलाई अन्न बेच्दै गर्दा त्यतिबेलाको अन्न बेच्ने नेपालले विश्वबाट अन्न किन्न परिरहेको छ । 

यसबारे जानकार सुवेदी भन्छन्, ‘भारतले त्यसपछि लिएको परिणाम स्वरुप अहिले भारत कहाँबाट कहाँ पुगेछ । तर नेपाल भने सन् १९६५ मा खान पुगेर अन्नपात निर्यात गर्दथ्यो । भारतको जनसंख्या निकै बढेको छ भने नेपालको भने कम छ । भारतले खाद्य सुरक्षा गरेर चामल र गहुँ बेच्न सक्षम भएको छ । नेपालले भने सबै चिज बाहिरबाट किन्दै आएको छ ।’ 

भारतबाट दूध नआउने हो भने लुम्बिनी क्षेत्र र गण्डकी क्षेत्रसमेत प्रभावित हुन सक्ने सुवेदीले बताए । अहिले नेपालमा चामल भारतले नदिने भन्दा हाहाकार भएको भन्दै भारतीय किसान नीति अवलम्बन गर्नुपर्नेमा सुवेदीको जोड छ । 

उनले कृषिमा भारतले मास कल्टिभेसनको परिस्थिति निर्माण गरिएको बताए । त्यस्तै ठूलो मात्रामा धान, गहुँसँगै नागपुरमा साइट्रसको उत्पादन बढेको बताए । त्यहाँबाट कागतीसमेत उल्लेख मात्रामा नेपाल आउने गरेको उल्लेख गरेका छन् ।   

उनले भारतलाई गाली त जसले पनि गर्ने तर सिक्ने कुरा पनि सिके त हुने नि भन्दै बलियो कृषि नीति अपनाउनु पर्नेमा जोड दिएका छन् । 

उनले सरकारलाई खाद्य सुरक्षा अपनाउनका लागि आग्रह गर्दै भनेका छन्, ‘नेपाल विश्व व्यापार संगठनको मानकमा मोस्ट फेभर नेसन एमएफएन पनि हो र भारतसँग हाम्रो विशिष्ट सम्बन्ध पनि छ । भारतसँग बासमती चामल किन्नेमा त हामी संसारकै एक दुई नम्बरमा पर्छौँ । तर नन बासमती चामलमा धेरै पछाडि छौँ । नन बासमती चामलमा पनि हामीलाई अरु देश सरह व्यवहार गर्नु भएन । हाम्रो ठूलो जनसंख्या पनि होइन । दिल्ली शहरको जति पनि जनसंख्या छैन । त्यसकारण अरुतिर निर्यातमा प्रतिबन्ध लगाए पनि ‘ह्वाइट इन्डिका राइस’ नेपालमा निर्यात गर्नका लागि प्रतिबन्ध लगाउनु भएन भनेर नेपाल सरकारले अभिलम्ब भारत सरकारलाई अनुरोध गर्नुपर्छ होइन भने यहाँ खपिनसक्नु परिस्थिति हुन सक्छ ।’

थप स्पष्ट पार्दै सुवेदी भन्छन्, ‘किनकि धेरै मान्छेले बासमती चामल एफर्ड गर्न सक्दैनन् । आम जनताहरुले खाने भनेको र श्रमजीवीहरुले खाने भनेको ह्वाइट इन्डिका राइस नै हो । यसरी तृडमूल मानिसहरुमा जुन खाद्य सुरक्षाको गम्भीर परिस्थिति निर्माण हुन सक्ने सम्भावना देखिएको छ यसलाई मध्यनजर गरेर सरकारले भारत सरकारलाई अनुरोध गरेर नेपालको हकमा नन बासमती राइसको निर्यात पनि नरोक्ने कुराका लागि भारत सरकारलाई राजी गराउनु पर्छ ।’ 
 



नयाँ