arrow

कोशीमा पहिचानवादीको बन्द : जनजीवन प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
kosi-banda.JPG

झापा । लिम्बुवान राज्य घोषणाको माग गर्दै कोशी प्रदेशमा आज बन्द आव्हान गरिएको छ ।  राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टीसहित सात पार्टीले बन्द आव्हान गरेका हुन्।

लिम्बुवान बन्दको कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ । पूर्व पश्चिम लोक मार्गमा सवारीसाधन छिटफुट देखिएता पनि सम्पूर्ण सवारीसाधनहरू निर्बाध रूपमा गुड्न सकेका छैनन् ।

राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टी, नेपाल सङ्घीय खम्बुवान, लोकतान्त्रिक पार्टी लिम्बुवान, राष्ट्रिय समिति (लो.स.पा.), किराँत खम्बुवान राज्य परिषद्, किराँत लिम्बुवान राज्य परिषद् र लिम्बुवान राष्ट्रिय मोर्चाले बन्द आव्हान गरेको हो ।

पार्टीले वि.स. १८३१ श्रावण १८ गते लिम्बुवान र तत्कालीन गोर्खाली शासकबीच भएको ताम्रपत्रको सन्धिलाई सोही साल श्रावण २२ को नूनपानी सन्धिले विस्थापित गर्दै लिम्बुवानको सार्वभौमसत्ता हरण गरेको जनाउँदै त्यस दिनलाई कालो दिनका रूपमा सम्झँदै आज उनीहरूले लिम्बुवान बन्दको आव्हान गरेको जनाइएको छ ।

पहिचान र अस्तित्वको आन्दोलनमा जोडिएर रहेको लिम्बुवानको मुद्दा प्रति प्रदेश न. १ ( कोशी प्रदेश ) को पुनः नामाङ्कन संयुक्त सङ्घर्ष जिल्ला समन्वय समिति झापाले आजको बन्दको पूर्ण रूपमा ऐक्यबद्धता जनाएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

 जनमुक्तिले ऐतिहासिक भूगोल लिम्बुवानको मुद्दा लिएर विगत वि.स. २०६६ सालदेखि निरन्तर रूपमा श्रावण २२ गतेका दिन विरोध स्वरूप बन्दको आव्हान गर्दै आएको छ । 

उक्त बन्दको आव्हान प्रति किरात याकथुङ चुम्लुङ,जसपा निकट लिम्बुवान राष्ट्रिय समिति, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका राजनीतिक दल, जातीय संघसंस्थाहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ