arrow

सरकार आफैँले भ्रष्टाचार लुकाउने काम गरिरहेको छ – केपी ओली

logo
सौरभ गिरी, 
प्रकाशित २०८० साउन १३ शनिबार
kp-oli-2080-04-13.jpg

नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा नैतिक जवाफदेहिता नरहेको बताएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीको आयोजनामा आजदेखि नेपालगञ्जमा शुरु भएको लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार आफैँले भ्रष्टाचार लुकाउने कोसिस गरिरहेको आरोप लगाउँदै सरकार केवल स्टन्टबाजीमा मात्र उत्रेको जिकिर गरे ।

 एअरपोर्ट बाहिर साउन ३ गते बरामद गरिएको करिब सय किलो अवैध सुनप्रति लक्षित उनले सरकारको जानकारी बिना उक्त काम हुनै नसक्ने दाबी गरे ।

अध्यक्ष ओलीले मिलिजुली खान गठबन्धन सरकार बनेको जिकिर गर्दै गठबन्धन नामको कुनै गन्तव्य नभएको बाँडीचुँडी खाने उद्देश्यले बनेको सरकारले मुलुकलाई केही दिन नसक्ने बताए । 

ओलीले अगाडि भने, ‘नेकपा एमाले बाहेक अब अर्को कुनै विकल्प छैन ।’ एमालेलाई कसैले पनि पराजित गर्न नसक्ने बताउँदै उनले एमाले अब मिसन २०८४ मा केन्द्रित भएको बताए ।

लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भएको हो । 

कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव पद्मा अर्याल लगायतले बोलेका थिए । भेला तथा प्रशिक्षण भोलिसम्म चल्नेछ । 

भेलामा लुम्बिनी प्रदेशमा एमालेबाट निर्वाचित राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ