arrow

प्रदेशमा पोषणको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री यादव

logo
निरञ्जन साह,
प्रकाशित २०८० साउन ९ मंगलबार
khadya-karyakaram.JPG

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा पोषणको स्थिति सुधार कार्यमा सघाउने सङ्घ संस्थासित सहकार्य र समन्वय गर्ने आग्रह गरेका छन् । सोमबार जनकपुरधाममा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र वल्ड भिजन इन्टरनेसनलको आयोजना तथा प्रदेश सरकार सँगको समन्वयमा विभिन्न समसामयिक विषयमा आयोजित पोषण सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशमा पोषण ठूलो समस्याको रूपमा देखिएकोले यसको समाधानको लागि आवश्यक सहकार्य र समन्वय गर्न तयार रहेको समेत मुख्यमन्त्री यादवले बताए । 

प्रदेशमा पोषण सम्बन्धी समस्या समाधान गर्न सङ्घीय र स्थानीय सरकारसित सहकार्य र समन्वय गरेर अघि बढ्ने पनि बताए। पोषण सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर छ, मुख्यमन्त्री यादवले भने यसको लागि हर सम्भव प्रयासको लागि प्रतिबद्ध रहेको जानकारी गराए। बहु क्षेत्रीय पोषण कार्यक्रम सञ्चालनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी मुख्यमन्त्री यादवले गराए। प्रदेशवासीको मौलिक हकको रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुहुँदै यसमा सबैलाई सहयोगको लागि पनि आग्रह गरे।

सो कार्यक्रमका अध्यक्षता गरेकी रुडुककि अध्यक्ष,नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले शिशुसँगै आमाको पनि पोषणको आवश्यकता रहेको बताइन् । पोषण अभावमा आमा कमजोर हुँदा शिशु स्वस्थ हुँदैन, उनले भनिन्–त्यसैले आमालाई पनि पोषणको आवश्यकता छ । मानवीय विकास सूचकाङ्कमा पछि परेको मधेस प्रदेशको विकासको लागि पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने नेत्री देउवाले माग गरिन्। प्रदेशमा स्वास्थ्यको अवस्था सुधार गर्न जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्नुपर्ने समेत उनले बताइन्।

छलफल कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले प्रदेशलाई सङ्घीय सरकारले ओझेलमा पारेको टिप्पणी गरे। कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र सिंहले केही दिनभित्रै मधेस प्रदेश पूर्ण खोपयुक्त प्रदेश घोषणा हुने जानकारी गराए। 
प्रदेशको १ सय १८ पालिका पूर्ण खोपयुक्त घोषणा भइसकेको र बाँकी १८ पालिका घोषणाको तयारीमा रहेको मन्त्री सिंहले जानकारी गराए।

सो अवसरमा पोषण सम्बन्धी राष्ट्रिय योजना आयोगको तर्फ बाट डा. किरण रुपाखेती, प्रदेश नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा . प्रमोद यादव लगायतले प्रस्तुतीकरण गरेको थियो । कार्यक्रममा उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव, वन तथा वातावरण मन्त्री रमेश पटेल, विना विभागीय मन्त्री सुरिता साह, प्रमुख सचिव किशोर चौधरी लगायत प्रदेश सरकारका सचिव तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ