arrow

स्वार्थी मान्छे

logo
विष्णु घर्ती ‘भनभनेली’
प्रकाशित २०८० साउन ६ शनिबार
bishnu-gharti-literature-2080-04-06.jpg

अग्लिँदै गएका छन्
रूपान्तरणका नाराहरू 
यत्रतत्र रुमल्लिएका छन् विचारहरू
फुकाइँदैनन् गुजुल्टाहरू
बरु बढिरहेछन्
सरापिरहेछ एकले अर्कोलाई 
आफैँ भविष्य द्रष्टा बनेर
एकनासले हेरिरहेको छ तमासा ।

थाती छन् जिम्मेवारीहरू जस्ताको तस्तै 
मैझारो भइरहेछ मौलिकता
बढिरहेछन् आयातित चलनहरू 
र फुत्तफुत्त खसिरहेछन्
एकएक पहिचानका पानाहरू ।

सिपालु भएको गफ लाउँछ
अनि हलो काट्छ र मुङ्ग्रो बनाउँछ
अजीवताको घोक्रो फुलाउँछ
मच्चाउँछ मनमोहक भाषण 
अरुभन्दा फरक बन्ने धुनमा ।

चिथोरिरहेछ धर्तीको शरीर 
खोपिरहेकै छ उनैको जीउ ज्यान 
विकासहरू नानाथरी गरिरहेकै छ 
उच्च स्वरमा फलाक्दै छ 
मनोमानी गरिएका 
तिनै विकासको राग अलापेर 
उसका सुन्दर कृतिहरू
बहेलिँदै छन् खोला¸ नाला र नदीहरूमा 
भत्किन थाल्छन् थामिएका बाँधहरू  
अनि कति ज्यान बग्ने हुन् 
अत्तोपत्तो छैन कोही कसैको
इतिवृत कहने कसरी रु

मान्छेले मान्छेलाई 
पिटेको छ¸ कोपरेको छ
ज्यूँदै पोलेको छ¸ पेलेको पनि छ 
सताएकै छ¸ गर्नु नगर्नु गरेर
ठग्नु र सम्पत्ति हडप्नु त के हो र ! 
अङ्गभङ्ग गरिदिएको छ¸ तड्पाएको छ
रेटिदिएको छ कोमल मन पनि 
अनि त पलपल ज्यूँदो लास बनाइदिएको छ ।

मानिएकै छ¸ तानिएकै छ
बग्रेल्ती विचारलाई छानिएकै छ 
कुन जन आफ्नो हो भनेर 
राखिएकै छ भण्डारमा 
सजाइएको छ अहमताको कृतिलाई 
वास्तै हुँदैन गर्नु पर्छ भन्नेमा 
प्रतिष्पर्धा हुन्छ गर्नु हुँदैन भन्नेमा 
छ यहाँ त्यसैको विजयोत्सव ।

आफ्नै मान्छे सम्झेर
गर्दैन मानवीय व्यवहार 
मान्छेलाई नै निर्जीव देखेर
दुत्कार्दछ दानवी पाराले 
मान्छेको मन हुन्छ¸ तन हुन्छ 
तन मात्रै दुख्दैन
मन अझै भक्कानिन्छ 
तन र मनले मान्छे भए पनि 
एकै नहुने रहेछन् तिनीहरू ।

हुन् महान् मानव 
मनलाई सम्मान गर्नेहरू 
तर यहाँ मनलाई अपमान गर्नेहरू
दिनका दिन हुँदैछन् वरिष्ठ  
गर्नु छ सलाम यिनैको ।

छँदै छैन सुर्ता 
अरुलाई पनि चाहिएला कि भन्ने 
होश छैन¸ अरु रहे म पनि रहुँला 
भन्दै हिँड्छ¸ म बाँचे भैगो नि 
अरु माथि नाँचेर नथाकेको त्यो 
कोही नभए
कसमाथि नाँच्ने होला ? 

मान्छे¸
तैपनि उन्मत्त नाँचेकै छ
कम्मर दश ठाउँ भाँचेकै छ 
बिना हेक्का हल्लिएकै छ 
जे पनि गर्दछ 
आफ्नो रागको लागि ऊ जसो पनि गर्दछ 
स्वार्थी हो मान्छे¸  स्वार्थी ।

(कवि घर्ती मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) का शाखा अधिकृत हुन्



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ