काठमाडौँ । नेपाल पुलिस क्लबको महिला टिम र टिपटप हेल्प नेपालको पुरुष टिमले सातौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबलको उपाधि उचालेका छन् ।
नेपाल भलिबल संघको आयोजनामा भएको लिगमा आफ्ना पाँचै प्रतिद्वन्द्वीलाई पराजित गरी शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको पुलिसले शनिबार सम्पन्न फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई ३–१ सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।
पुलिसले पहिलो सेट २५–१२ ले जितेको थियो । तर दोश्रो सेट २१–२५ ले एपीएफलाई सुम्पन पुग्यो । खेल १–१ को बराबरीमा गएपछि पुलिसले खेलमा सुधार गर्दै तेश्रो र चौथो सेट २५–२३, २५–१९ ले आफ्नो पक्षमा पार्दै ६ लाख नगदसहित उपाधि उचालेको हो ।
उपविजेता एपीएफले नगद ३ लाखमा चित्त बुझायो । यस्तै तेश्रो स्थानमा रहेको होङ्गवान्जी न्यु डायमन्ड युथ स्पोर्टस् क्लबले नगद १ लाख ५० हजार र चौथो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबले नगद ७५ हजार प्राप्त गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको लिगको पुरुष तर्फको खेलमा आफ्नो अविजित यात्रालाई कायम राख्दै टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले उपाधि उचालेको छ । हेल्प नेपालले पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
दोश्रो सेट पुलिसले २५–११ ले आफ्नो पक्षमा पार्दै खेललाई १–१ सेटको बराबरीमा ल्यायो । तर तेश्रो र चौथो सेट २५–१८, २५–१८ ले आफ्नो पक्षमा पार्दै टिपटपले उपाधि उचालेको हो ।
उपाधिका साथ हेल्प नेपालले नगद ६ लाखसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता पुलिसले नगद ३ लाख र ट्रफी प्राप्त गरेको छ ।
तेश्रो स्थानमा त्रिभुवन आर्मी क्लब रह्यो । आर्मीले नगद १ लाख ५० हजार प्राप्त गर्दा चौथो स्थानमा रहेको एपीएफले नगद ७५ हजार प्राप्त गरेको हो ।
८ दिनसम्म चलेको लिगमा सर्वोत्कृष्ट खेलाडी महिलातर्फ नेपाल पुलिस क्लबकी पुनम चन्द र पुरुषतर्फ टिपटप हेल्प नेपालका अइमल खान घोषित भए । सर्वोत्कृष्ट खेलाडीहरुले जनही ३५ हजार प्राप्त गरे ।
विधागततर्फ नेपाल पुलिसकी शान्तिकला तामाङ्ग उत्कृष्ट लिवेरो, कमला पुन उत्कृष्ट सेटर, उषा भण्डारी उत्कृष्ट स्पाइकर, रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक र सुमित्रा रेग्मी उदीयमान खेलाडी घोषित भइन् ।
यस्तै एपिएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भए ।
पुरुषतर्फ हेल्प नेपालका टोपबहादुर थापा उत्कृष्ट लिवेरो, अद्नान खान उत्कृष्ट सेटर, मजहर अली उत्कृष्ट स्पाइकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै उत्कृष्ट सर्भरमा एपीएफका हेमन्त मल्ल, उत्कृष्ट ब्लकरमा आर्मीका दुर्गाबहादुर खड्का र उदीयमान खेलाडीमा नेपाल पुलिसका रविन चन्द घोषित भए ।
विधागत तर्फका उत्कृष्टले जनही नगद १५ हजार र उदियमान खेलाडीहरुले जनही १० हजार प्राप्त गरे ।
विजयी टिम तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ग, गण्डकी प्रदेश सांसद लिलबहादुर थापा, राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ, पूर्व अन्तराष्ट्रिय खेलाडी एवं सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक दुर्जकुमार राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा पुरुषतर्फ तीन विभागीय टोलीसँगै टिपटप हेल्प नेपाल, दावाँली मिलन क्लब, सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लब र गण्डकी प्रदेश भलिबल संघ तथा महिलातर्फ तीन विभागीय टोलीसँगै न्यु डायमन्ड युथ स्पोर्टस् क्लब, एभरेष्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गरेका थिए ।