arrow

सरकारको आयुप्रति प्रचण्ड नै सशंकित, जनमतलाई समेटेर बलियो पनि बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरोध गरेको एमाले अचानक पछि हटेर संसद चल्न दिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू कति समय प्रधानमन्त्री बन्छु भन्नेमा यकिन छैनन् । संसदमा गत सोमबार सम्बोधन गर्दै गर्दा उनले विपक्षले राजीनामा मागेर हुन्छ र ? आफूलाई लाग्यो भने राजीनामा दिन्छु भने । 

तर उनी आफैँलाई कति समय प्रधानमन्त्री बन्छु भन्नेमा शंकाको लाभ लिइरहेका थिए । एमालेका केही नेताहरुले दशैँसम्म प्रचण्ड नेतृत्वको सरकार ढल्छ भन्ने संकेत दिइरहेका थिए । 

एमालेका एक उच्च नेताले प्रचण्डको सरकार ढल्ने र काँग्रेसको एकल सरकार बन्ने बारेमा केही नेताहरुलाई सुनाइसकेका छन् । ती एमाले नेताले कांग्रेसले नेतृत्व गरेको सरकारमा एमाले सहभागी हुने नहुने भन्ने बारेमा केही बताएका छैनन् । 

एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस र एमाले मिल्नुपर्ने तर्क सार्वजनिक रुपमा गरिरहेका छन् । एमालेका केही नेताहरुले यो विषयमा कांग्रेसका नेताहरुसँग कुराकानी पनि गरेको पाइन्छ । 

तर औपचारिक रुपमा काँग्रेस र एमालेका नेताहरुले यस्तो कुरा स्वीकार गर्न सकेका छैनन् । यस बीचमा एमाले अध्यक्ष केपी ओलीले पनि एमाले–काँग्रेस मिल्नु पर्ने भन्दै पटकपटक तर अनौपचारिक रुपमा बोलेका छन् । 

प्रचण्ड सरकारको बजेट फेल गराउने रणनीति एमालेले लिएको थियो । तर त्यो असफल भएपछि पछिल्लो पटक काँग्रेसका नेताहरुसँग एमालेका नेताहरुको बाक्लो सम्पर्क रहेको छ । 

बजेटको विषयमा सत्ता गठबन्धनकै दलहरू एकीकृत समाजवादी, जनता समाजवादी पार्टी मात्र होइन, जनमत पार्टीले पनि चर्को आलोचना गरेको थियो । तर, अन्तिममा एकीकृत समाजवादी र जनता समाजवादी पक्षमा मतदान गर्ने निर्णयमा पुगे । 

प्रधानमन्त्री प्रचण्ड सांसद फकाउन जनता समाजवादीको संसदीय दलको बैठकमै पुगेका थिए । अर्थात् केही सातादेखि प्रधानमन्त्री प्रचण्डको सरकार ढल्न सक्छ भन्ने राजनीतिक वृत्तमा चर्चा भइरहेको बेला बजेटमा समर्थन जुटाएपछि प्रचण्ड केही हदसम्म ढुक्क भएका थिए । 

प्रचण्डले जसपा र एकीकृत समाजवादीलाई समेटेर ४ असारमा समाजवादी मोर्चा पनि बनाए । एमाले र काँग्रेससँग सौदाबाजी शक्ति बढाउने रणनीति लिएको देखिन्छ । 

तर यी सबै विषयलाई प्रचण्डले आफ्नो सरकार बचाउने उपायको रुपमा प्रयोग गर्न खोजिरहेका बेला उनले अझै सुरक्षित महसुस गर्न सकेका छैनन् । 

यद्यपि सीके राउतको जनमत पार्टी फेरि सरकारमा जाने भइसकेको छ । यो भनेको प्रचण्ड थप बलियो भएको संकेत हो । सांसद अनितादेवी मन्त्रीमा सिफारिससमेत भएकी छिन् । 

पछिल्लो पटक एमालेले राजीनामा मागेर सरकारको जग नै हल्लाएपछि गठबन्धनको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति गलत भएको भन्ने तहसम्म छलफल हुनुले गठबन्धनको जग हल्लिएको महसुस उनी आफैँले गरेको स्रोतको दाबी छ । 

गत सोमबार संसदमा जवाफ दिने क्रममा प्रचण्डले भनेका छन्,  ‘लामो समय प्रधानमन्त्री हुन्छु भन्ने मलाई अहिले पनि छैन । त्यसैले जति समय बसिन्छ वार् फुटिङमा पहल लिनुपर्नेछ ।’

त्यतिमात्र प्रचण्डले भनेनन् उनले आफूलाई सान्त्वना दिने आशयमै थप पनि भने,  ‘मैले १२–१३ दिन प्रधानमन्त्री भएका विश्वका नेताहरूबारे पढ्थेँ । हाम्रोमा पनि ६ महिना, ९ महिना, १० महिना प्रधानमन्त्री भएको शृंखलावद्ध अनुभव छँदैछ । लामो समय प्रधानमन्त्री नभए पनि जति दिन हुन्छ, राष्ट्र र जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने छ । मैले अरु बाँकी के नै गर्नु छ र ?’ 

यसले के संकेत गर्छ भने यो सरकारको भर छैन कुन बेला कसले समर्थन फिर्ता लिने हो त्यही बेला आफूले राजीनामा दिनुपर्ने हो भन्ने बारेमा उनी ‘कन्भिन्स’ रहेको प्रष्ट हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ