मोदीले मुस्लिमलाई हिन्दू बनाउन खोजेका छैनन् : निर्वासित तिब्बती राष्ट्रपति
एजेन्सी,
प्रकाशित २०८० असार ७ बिहिबार
377
Shares
नयाँ दिल्ली। निर्वासित तिब्बती सरकारका राष्ट्रपति पेन्पा छिरिङले प्रेस क्लब अफ अस्ट्रेलियालाई सम्बोधन गर्दै केही घटनाका कारण भारत बाहिरका मानिसहरूले भारतको अवस्थालाई फरक रूपमा व्याख्या गरेको र वास्तविकता नबुझेको बताएका छन्।
'हामी भारतमा बस्छौँ। म भारतमा जन्मेको हुँ। यो त्यति कठोर छैन जति अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा मोदीको दबाबकारी नीतिहरू सार्वजनिक भइरहेका छन्,' उनले भने, 'भारतीय प्रधानमन्त्री मोदीले मुस्लिमहरूलाई हिन्दूमा परिवर्तन गर्न खोजिरहेका छैनन्।'
उनले भारतमा केही गौ रक्षकहरूले अतिप्रक्रिया गरिरहेका बताएका छन्। 'कतिपय अवस्थामा जसका लागि सरकारलाई दोष लगाइन्छ। मलाई लाग्छ भारत विश्वको सबैभन्दा सहिष्णु देश हो। यति विविध संस्कृति, यति धेरै धर्म, विभिन्न किसिमका मानिसहरू छन्,' पेन्पा छिरिङले भारतको बारेमा सोधिएको प्रश्नमा भने।
'समस्या उत्पन्न गर्नेहरू जताततै छन्। केवल केही समस्या उत्पन्न गर्नेहरूका कारण तपाईँ सम्पूर्ण समुदायलाई दोष दिन सक्नुहुन्न। मलाई लाग्छ कि भारत एक धेरै लचिलो देश हो र यसको विविधतामा गर्व गर्दछ,' पेन्पा छिरिङले भने।
पेन्पा छिरिङको बयानको भिडियो साझा गर्दै केन्द्रीय मन्त्री राजीव चन्द्रशेखरले ट्विट गरे, 'भारत विश्वको सबैभन्दा सहिष्णु देश र सबैभन्दा विविधता भएको देश हो -- जहाँ प्रत्येक नागरिकलाई समान अधिकार छ।'
भारत-चीन मुद्दामा, पेन्पा छिरिङले भने, 'जब परम पावनलाई यो प्रश्न सोधिएको छ (भारत-चीन गतिशीलता परिवर्तनमा), उहाँले भन्नुहुन्थ्यो कि चीनको कुरा आउँदा भारत सधैँ धेरै सतर्क हुन्छ। अब म भन्न सक्छु कि अझै 'होसियारी' अपनाउनुपर्ने देखिन्छ।'