अमेरिकी राष्ट्रपति र स्वीडेनी प्रधानमन्त्रीबीच नेटो र युक्रेनबारे वार्ता हुँदै
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
997
Shares
अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को साता स्वीडेनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग ट्रान्साटलान्टिक सुरक्षा सहयोग र युक्रेनमा जारी युद्धबारे छलफल गर्ने भएका छन् ।
ह्वाइट हाउसले जुलाई ५ को बैठकबारे जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुवै नेताले हाम्रो बढ्दो सुरक्षा सहयोगको समीक्षा गर्नेछन् र स्वीडेनलाई जतिसक्दो चाँडो नेटोमा सामेल हुनुपर्छ भन्ने आफ्नो धारणालाई पुनः पुष्टि गर्नेछन् ।”
रूसले युक्रेनमाथि आक्रमण गरेको तीन महिनापछि स्वीडेनले मे २०२२ मा नेटोमा सामेल गर्न आग्रह गरेको थियो तर ३१ वटै सदस्य राष्ट्रले अनुमोदन गर्नुपर्ने यसको सदस्यता प्रयासलाई टर्की र हङ्गेरीले रोकेका थिए ।
पश्चिमी अधिकारीहरूले जुलाई ११ र १२ मा लिथुआनियामा नेटो शिखर सम्मेलन आयोजना हुँदासम्म स्वीडेनलाई औपचारिक रूपमा समूहमा स्वागत गर्ने अपेक्षा गरिएको छ ।
तर यसै हप्ताको सुरुमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले स्वीडेनले विरोध प्रदर्शनका क्रममा कुरानका पानाहरू जलाइदिएको भन्दै निन्दा गरेका थिए ।
ह्वाइट हाउसले भनेको छ, “बुधबार ह्वाइट हाउसमा बाइडेन र क्रिस्चर्सनले रूसको क्रूर आक्रमणको युद्धको सामना गर्न युक्रेनलाई सहयोग गर्ने हाम्रो साझा प्रतिबद्धताबारे पनि छलफल गर्नेछन् ।
उनीहरूले चीन, जलवायु परिवर्तन र उदीयमान प्रविधिहरूमा ट्रान्साएटलान्टिक समन्वयको बारेमा पनि कुरा गर्नेछन् ।