arrow

नेपाली राजनीतिमा लभ, लिभिङ टुगेदर र ब्रेकअप

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०८० असार १६ शनिबार
article-rajendra-panthi-2080-03-16.jpg

नेपाली राजनीतिमा के पो भएन, जे पनि भयो भन्ने कुरा थुप्रै घटना र तथ्यबाट प्रमाणित भएका छन् । दलहरूका बीचमा कहिले राम्रै लभ पर्छ भने कहिले अत्यन्तै नराम्रो ब्रेकअप। मूलधारका पार्टीहरू अनि कहिलेकाहिँ साना दलका बीचमा बारम्बार निर्वाचनका नाममा होस् वा सरकार निर्माणका नाममा लभ र ब्रेकअप चलिरहन्छ ।

यही लभ र ब्रेकअपमा नेपाली राजनीति अल्मलिरहेको छ । कहिलेकाहिँ त लभ,लिभिङ टुगेदर,बिहेवारी, हनिमुन अनि डिभोर्ससम्म पुगेको देखिन्छ । राजनीतिमा जे पनि सम्भव हुनसक्छ भन्ने भाष्य निर्माण गरी यतिसम्म वेश्यावृत्ति भएको देखिन्छ कि डिभोर्सपछि पनि गहिरो लभ परेको देखिन्छ । प्राकृतिक नियम विपरीत गरिएका यस्ता फोहरी क्रियाकलापले नेपाली राजनीति अत्यन्तै घिनलाग्दो अवस्थामा पुगेको हो । यस्तै राजनीतिभित्र व्यापारीकरण र अपराधमा राजनीतिकरण भित्रिएकाले आज नेपालको राजनीति अराजनीति र लाजनीतिमा परिणत भएको छ । 

विचारधारामा स्खलन र चरित्रमा भ्रष्टीकरण बढ्दै गएको हुनाले नेपाली राजनीतिमा अस्थिरता देखा पर्यो । राष्ट्रियता र देशप्रेम भावना शून्य हुँदै गयो । नेपाली जनताको आमूल परिवर्तन गर्न भनी पटक पटक जनआन्दोलन गरिए । पटक पटक व्यवस्था परिवर्तन पनि भए । राजनीतिक चरित्रमा सुधार हुन नसक्दा २१ औँ शताब्दी अनुकूल जनताको अवस्थामा खासै परिवर्तन हुन सकेन । 

जनताका आधारभूत आवश्यकताहरू गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा, सुशासन आदिमा समस्यै समस्या छन् । देशले झन् पछि झन् आर्थिक सङ्कट भोगिरहेको छ । दिनहुँ हजारौं युवा जनशक्ति देशमा रोजगार पाउन नसकेर  विदेशीएका छन् । राजनीतिक पार्टीका नेतृत्व पङ्त्तिहरू सत्ताप्राप्ति लागिमात्र लभ र ब्रेकको खेलमा रमाएका छन् । 

उनीहरूको मूल उद्देश्य भनेको सत्ताप्राप्ति मात्रै बनेको छ । सत्तालाई आफ्नो निजी सम्पत्ति जस्तो ठानेर आलोपालोको लागि लुछाचुडी गरिरहेका हुन्छन् । उनीहरूलाई कहिल्यै पनि जनताका समस्या र पीडाले पिरोलेको छैन । अनि कसरी नेपाली जनताको अवस्थामा परिवर्तन हुन सकोस् ?

नेपालको आधुनिक इतिहासमै नेपाली जनताको स्वतन्त्रता, समानता, सुव्यवस्था र अधिकार प्राप्तिको  लागि भनी २००७,२०४६,२०६२–२०६३ को जनआन्दोलनबाट व्यवस्था परिवर्तन भयो । पटक पटक व्यवस्था परिवर्तन गरिए पनि आन्दोलनले माग बमोजिम जनताको सामाजिक, आर्थिक,शैक्षिक आदि अवस्थामा उद्देश्य र सोचे अनुकूलको परिवर्तन हुन सकेन । 

आज बहुदलीय व्यवस्थाको पुनःप्राप्ति भएकै तीन दशक बितेको छ । विकास र समृद्धिको लागि तीन दशक भनेको थोरै समय पटक्कै होइन। लाओस, भियतनाम,सिंगापुर आदिजस्ता देशहरूले दश वर्षमा कति ठूल्ठूला उपलब्धि हासिल गरे तर हामी जहाँको त्यहीँ नै छौँ । आज आशाको प्रतीक्षा गर्दागर्दै तीन पुस्ताको समयावधि अन्योलमा बितेको छ । 

नेपाली जनताले प्रतीक्षाको घडी कहिलेसम्म कुर्ने हो थाहा छैन । राजनीतिक तरलता र अस्थिरका कारण देशको समृद्धिमा धेरै बाधाहरू देखा परे । मूलधारका राजनीतिक पार्टीहरूको जहिलेसुकैको तथाकथित गठबन्धन र सिन्डिकेट प्रणालीले नेपाललाई असफल राष्ट्रतिर धकेलिरहेको छ । राजनीतिक दलहरू पूर्ण रुपमा व्यवसायिक र जिम्मेवारविहीन भएको हुनाले देशले विकास र समृद्धि पाउन सकेको छैन । 

राज्यका संरचनाहरू प्रायः निष्क्रिय छन् । देश भ्रष्टाचार र कुशासनले चुर्लुम्म डुबेको छ । देशको मूलनीति राजनीति नै  लाजनीति भएपछि सामाजिक, राजनीतिक, आर्थिक अराजकता झन् पछि झन् बढ्दैछ । राजनीतिक दलहरूमा देखिएको असक्षमता, बेइमानी, अंहकार, दम्भले जनताको जीवनस्तरमा समयानुकूल परिवर्तन हुन सकेन । संविधानमै समाजवादउन्मुख समाज निर्माण गर्ने भनिए पनि ती शब्दहरू त्यही संविधानमा सीमित हुन पुगेका छन् । दलहरूको नेतृत्वमा जिम्मेवारी, उत्तरदायित्व र जवाफदेहिता नै छैन । यिनै र यस्तै कारणले आज असफल मुलुक भनेर चिनिएको छ ।

राजनीतिक व्यवस्थाको दृष्टिकोणले संसारकै उत्कृष्ट व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय व्यवस्था भनिए पनि यसको सही कार्यान्वयन गर्न नसक्दा अब यो व्यवस्था पनि हाम्रो देशका लागि असफल हुने त होइन भन्ने अवस्थामा पुगेको देखिन्छ र अब यसको विकल्प पनि केही छैन । विविधतामा एकता भएको सानो र सुन्दर देशलाई संघीयताका नाममा भौगोलिक,जातीय र धार्मिक,भाषिक पहिचान दिने भनेर कुनैबेला जनतालाई थोत्रा आश्वासनका पोकाहरू बाँड्नाले प्रदेशको नामकरणकै सवालमा आज आन्दोलनहरू भइरहेका छन् ।

आज तिनै स्थानीय र प्रदेश सरकारमा दलका कार्यकर्ता पाल्ने र पोस्ने काम पनि भएको छ। गाउँगाउँमा सिंहदरबार पुर्याउने भनियो तर त्यो कार्यान्वयन हुन सकेको छैन । देशका आर्थिक सूचकहरू अत्यन्तै कमजोर भएका छन् । राजनीतिक नेतृत्व सत्ता कब्जा गर्ने र आलोपालो बाँडीचुँडी खाने दाउमा नै वर्षौँदेखि लम्पट छ । नेपाली जनताले बारम्बार आफ्नो आक्रोश र पीडा पोख्दा पनि मूलधारका पार्टीहरू सच्चिने अवस्थामा देखिएका छैनन् बरु अब सकिने हुन् कि भन्नेतिर लागेको पो देखिन्छन् ।

देशलाई एउटा निश्चित गोरेटोमा लैजाने र समृद्धि मुलुक बनाउने पहिलो दायित्व भनेको राजनीतिक दल र तिनीहरूको नेतृत्वले नै हो । राजनीतिक नेतृत्वमा निश्चित सपना र योजना, आत्मविश्वास, राष्ट्रियता, सेवाको भावना, इमान्दारीता, जवाफदेहीता र उत्तरदायीत्व भएमात्र देशले विकास र निकास  पाउन सक्छ । राजनीतिलाई व्यवसायीकरण गर्नाले  देश समृद्धिको बाटोतिर लाग्न सकेको छैन । नेपालका मूलधारका दलहरूमा देखिएको असक्षमता,अविश्वास, अहंकार,पदलोलुपता, वैचारिक स्खलन,चारित्रिक भ्रष्टीकरण र दलीय र व्यक्तिगत स्वार्थका कारण देश सही गन्तव्यतिर लाग्न सकेको छैन।

राजनीतिमा इमान्दारिता,कर्तव्यनिष्ठता, अनुशासन र जिम्मेवारबोध हुनु महत्त्वपूर्ण पक्ष हुन् । जब यी राजनीतिक आदर्शहरू व्यवहारमा देखिँदैनन्, कार्यान्वयन हुन सक्दैनन्  । अनि मनपरितन्त्र र अराजकता शुरु हुन्छ । नेपाली राजनीतिमा कुर्सीको बाँडफाँट मिल्दा एकापसमा हिमचिम गर्ने, लभ पर्ने, चाटाचाट गर्ने,लिभिङ टुगेदर हुने अनि केही समयपछि भनाभन,झगडा, मनपरि गालीगलौज र अन्त्यमा हानाहानको अवस्थामा पुगेको देखिन्छ । यतिसम्मकि बोलचाल बन्द गरी कुटाकुट भएपछि पनि लाजै नमानी पुनः लभ र लिभिङ टुगेदर र चाटाचाट गर्ने सम्मको अनुशासनहीन कार्यले नेपालको राजनीति लाजनीति भएको हो ।

सबैभन्दा पछिल्लो घटनालाई नै दृष्टान्त रुपमा लिँदा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेपाली काँग्रेससका सभापति शेरबहादुर देउवासँग लभमा परेको एक सार्वजनिक कार्यक्रममार्फत नै उद्घोष गरेका थिए । जब नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुई दुई पटक संसद विघटन गरे अनि ओली र प्रचण्डको चलिरहेको लभ र लिभिङ टुगेदर ब्रेकअप भयो । 

अनि देउवासित पुन:प्रचण्डको गहिरो लभ पर्यो । गत स्थानीय,प्रदेश र संघीय निर्वाचनमा काँग्रेस र माओवादी एउटै मुटु र एउटै मन बनाउन खोजे,उनीहरूका बीचमा राम्रै लभ नै पर्यो र लिभिङ टुगेदर पनि भयो । तर बीचमा स्वार्थ बाझिएकाले ब्रेकअप भइदियो । यसले माओवादी अध्यक्ष र एमाले अध्यक्षका बीचमा तोडिएको माया एक्कासी पलायो र तुरुन्तै बालकोटको बार्दलीबाट लिभिङ टुगेदर भएको घोषणा गरियो । 

तर त्यो लिभिङ टुगेदर धेरै दिन टिकेन। त्यसपछि  देउवा र प्रचण्डका बीचमा पुनः लभ परी लिभिङ टुगेदर चलिरहेको छ। यो कति दिनको लिभिङ टुगेदर हो, कति बेला ब्रेकअप हुने हो थाहा छैन । फेरि ककसको बीचमा लभ,लिभिङ टुगेदर र ब्रेकअप हुने हो त्यो पनि हेर्न बाँकी नै छ । फेरि ओली र देउवाबीच लभ पर्दै गएको चर्चा पनि चलिरहेकै छ । पटक पटक गरिएका मन,मुटु र विचार नमिल्ने यस्ता क्षणिक र स्वार्थी दलीय नेतृत्वद्वारा गरिएका लभ अथवा लिभिङ टुगेदरले देशको समृद्धिमा भने ब्रेकअप लागेको छ ।

नेपालको संविधान अनुसार सरकार निर्माण गर्ने सन्दर्भमा निश्चित एजेन्डा र उद्देश्य प्राप्तिका लागि विभिन्न दलकाबीचमा लभ र लिभिङ टुगेदर हुनु स्वभाविक होला । तर अप्राकृतिक र विचार नै नमिल्ने दलसित लभ पर्नु भनेको अस्वभाविक नै हो । भिन्न भिन्न विचार बोकेका पार्टीहरू दलीय र व्यक्तिगत स्वार्थले लिभिङ टुगेदरलाई बिहेमा पुर्याई हनिमुन मनाई घरजम नै गर्न खोज्नु राजनीतिक वेश्यावृत्ति नै हो । 

यस्तो किसिमले जबर्जस्त बनाउन खोजिएको घरजम कहिल्यै सफल हुँदैन । नेपालमा कम्युनिष्ट पार्टीको नाम भजाएर विभिन्न किसिमका पसल खोलेका कमरेडहरूका बीचमा त लभ र लिभिङ टुगेदर हुन सक्दैन भने काँग्रेस र माओवादी लगायत विभिन्न पार्टीहरूका  बीचमा हुन गएको यो राज्यसत्ताको लिभिङ टुगेदर कतिदिन जाला ? सत्ताको लभ र लिभिङ टुगेदर यतिसम्म हाँस्यास्पद देखिन्छ कि कुनै बेला प्रचण्डको टाउकाको मूल्य तोक्ने काँग्रेसका सभापति देउवा आफू निर्वाचनमा पहिलो पार्टी बन्दासमेत आफ्नो प्रेमी वा प्रेमिका तेस्रो पार्टी बनेको माओवादी केन्द्रलाई सत्ताको नेतृत्व सुम्पेर कहिले पुनः आफूले नेतृत्व पाऊँला भनेर ज्योतिषीलाई हात हेराउँदै बसेका छन् ।

प्रजातन्त्रको पुन:प्राप्तिदेखि अहिलेसम्म आउँदा लगातार पाँच वर्षको एउटै दलको सरकार चलेको रेकर्ड नै छैन । कहिले पार्टी भित्रको आन्तरिक किचलोले सरकार ढलेको छ भने कहिले पार्टी पार्टी बीचको असमझदारीले सरकार ढलेको छ । जब सरकारले स्थायित्व प्राप्त गर्न सक्दैन अनि देशमा कसरी सुशासन होस् ? 

राजनीतिक दलमा राष्ट्रियता र समृद्धि भन्ने भावनाको विकास हुन सकेन र उनीहरू जसरी हुन्छ आफू र आफ्नालाई पोस्ने,लुट्ने र खाने भन्नेतिर लागे अनि देशभित्र भ्रष्टाचारको जालो नराम्ररी फैलियो । यो जालो राज्यका सबै अङ्गमा पुग्यो । भ्रष्टाचारीलाई कानूनी कठघरामा उभ्याउने देशको सर्वोच्च निकाय स्वयं अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि भ्रष्टाचारमा चुर्लुम्म डुब्यो । न्यायपालिका पनि स्वतन्त्र,निष्पक्ष र भ्रष्टाचारमुक्त बन्न सकेन । प्रशासनिक र शैक्षिक संस्थाहरूमा बिचौली र माफियाको प्रवेश गराई उनीहरूद्वारा नै संस्था चलाउन थालियो । राजनीतिमा ढाँट,लुट र खाउ भन्ने सिद्धान्त लागू गरियो अनि देशले आज आर्थिक दूरावस्था बेहोर्नु परेको हो ।

शासन व्यवस्था भनेको साधन हो, त्यो साध्य होइन । कुनै राम्रो शासन व्यवस्था परिवर्तन गर्दैमा स्वभाविक र स्वत: देश र जनतामा समृद्धि आउने होइन । व्यवस्थालाई सही कार्यान्वयन गर्न सकियो भने मात्र देशको समृद्धि हुनसक्छ । नेपाल जस्तो लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको मुलुकमा संविधानअनुसार  सार्वभौमसत्ता नेपाली जनता छ भनिएको छ तर त्यो सार्वभौमसत्तालाई दलहरूले जनतालाई भ्रममा पारी आफ्नो नियन्त्रणमा लिएका छन् । राजनीतिलाई मागी खाने भाँडो बनाई सार्वभौमसत्ता जबर्जस्त आफूमा नियन्त्रित गर्न खोजेको देखिन्छ । दलहरूको विचारधारामा स्खलन आउनाले एउटा दल र अर्को दलको बीचमा आचरण, शैली, पद्धति आदि केहीमा फरक छैन ।

के काँग्रेस, के कम्युनिष्ट, के राजावादी, के समाजवादी, के साम्यवादी, के संविधानवादी  कुनै दलको चरित्र, व्यवहार र आचरण केहीमा अन्तर छैन । सत्ता पाउँदा लभ र लिभिङ टुगेदर अनि गुमाउँदा ब्रेकअप र डिभोर्सको पुनरावृत्ति चलिरहेको हुन्छ । जबसम्म राजनीतिमा नैतिकता हुँदैन तबसम्म जुनसुकै व्यवस्था र जुनसुकै दलको नेतृत्व भए पनि देशमा सुशासन र समृद्धि हुन सक्दैन ।

एक दलले अर्को दललाई जतिसक्दो आरोप, सत्तोसराप, गालीबेइज्जत गरेर देशको विकास र समृद्धि हुन सक्दैन । अहिले देश विकासको पहिलो खुट्किला चढ्नु भनेको सबै मिलेर एउटा निश्चित मापदण्ड अपनाएर योजनागत ढंगले भ्रष्टाचारको अन्त्य गरी जनतालाई  सुशासनको प्रत्याभूति दिनु नै हो । 

अब दलहरूले दलीय स्वार्थका लागि तथाकथित दलीय  गठबन्धन र सिन्डिकेट प्रणालीलाई अन्त्य गर्नुपर्छ । राजनैतिक नेतृत्वले आफ्ना दललाई व्यवसायीकरण र व्यापारीकरणबाट उम्काई नितान्त सेवाको भावनामा परिणत गर्नुपर्छ । दलभित्र झोले र टीके प्रणालीको अन्त्य गरिनुपर्छ । 

अहिलेसम्म जेजति कार्यकर्ता छन् भनिएका छन् तिनलाई रोजगारमा लगाई राष्ट्रिय उत्पादन र आम्दानीमा हिस्सेदार बनाउनु पर्छ । कार्यकर्ता पाल्ने र पोस्ने कार्यले भ्रष्टाचार अन्त्य हुन सक्दैन । नेपाली राजनीतिमा जे पनि हुन सक्छ भन्ने भाष्यलाई अन्त्य गरिनुपर्छ । राजनीतिक नेता भनेको कार्यकर्ताको मात्र होइन जनताको हुनुपर्छ । र दलहरूका बीचमा स्वच्छ लोकतान्त्रिक प्रतिस्पर्धात्मक लभ हुनुपर्छ । (भर्जिनिया, अमेरिका)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ