arrow

बागमतीमा सत्तापक्ष र प्रतिपक्षबीच टकराब बढ्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
parliament-bagmati-province.jpg

बागमती ।  बागमती प्रदेशमा विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । नेकपा (एमाले) र राप्रपाले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेशसभाको बैठक चल्न दिएका छैनन् । 

राप्रपा संसदीय दलका नेता उद्धव थापाले सरकारको आगामी आवको बजेट असन्तुलित र पक्षपाती भएको भन्दै बजेटप्रति असन्तुष्टि व्यक्त गरे । 

सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि विनियोजन गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची तय भए पनि प्रदेशसभा सदस्यको लगातारको अवरोधपछि बागमती प्रदेशसभाको बैठक पुन: स्थगन गरिएको छ ।

मङ्गलबारको बैठकमा एमाले र राप्रपाको अवरोधपछि सूचना टाँस गरेर स्थगन गरिएको बैठक बुधबार बिहान ११:०० बजेका लागि बोलाइएको थियो । दलहरूबीच सहमति नजुटेपछि विशेष कारणवश भन्दै दिउँसो १:३० बजे बैठक बस्ने गरी समय निर्धारण गरिएकामा सो समयमा पनि बैठक बस्न सकेन । 

दिउँसो ३:३० बजे बैठक बस्ने समय निर्धारण गरिए पनि सो समयमा पनि बैठक नबसेपछि पुन: साँझ ५:०० बजे बैठक बोलाइएकामा करिब आधा घन्टा ढिला गरी बैठक सुरु भएको थियो । 

बैठक सुरु भएलगत्तै प्रदेशसभाका सभामुख भुवन पाठकले प्रदेशसभा सदस्यलाई समय दिने जानकारी गराएलगत्तै प्रदेशसभा सदस्यहरूले उठेर बैठक अवरोध गरेपछि बैठक अघि बढ्न सकेन । 

एमाले र राप्रपाले प्रदेशसभाको बैठकमा आफ्ना माग सत्तापक्षले सम्बोधन नगरेसम्म बैठक चल्न नदिने बताएपछि प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको बैठक यही असार १७ गते आइतबार दिउँसो २:०० बजेसम्मका लागि स्थगन गरिएको जानकारी दिनुभयो । 

अहिले बागमती प्रदेशमा सत्तापक्ष र प्रतिपक्षको टकराब बढ्दै गएको छ । आगामी आर्थिक वर्षको बजेट सम्बोधनमा प्रतिपक्षी दललाई पूरै निषेध गरिएको भन्दै सत्तापक्ष र प्रतिपक्षि दलका बीचमा टकराब बढ्दै गएको हो । बजेट पुन:लेखन नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए। 

बजेटमा सरकारले आफूखुसी गरेको भन्दै निरन्तररूपमा विरोध गर्दै आएको एमालेले बागमती प्रदेशसभा चल्न दिएको छैन । बागमती प्रदेशसभाको बैठक एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यको लगातारको अवरोधपछि पुन: स्थगन गरिएको हो । 

सरकारले ल्याएको बजेट जस्ताको तस्तै सके सहमतिमा नसके बहुमतका आधारमा पारित गरिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ