arrow

तराई-मधेसमा उखरमाउलो गर्मी

logo
अजय साह,
प्रकाशित २०८० जेठ २८ आइतबार
temperature.jpeg

धनुषा । तराई-मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि  जनजीवन अस्तव्यस्त बन्दै आएको  छ । 

दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ । क्षीरेश्वरनाथ नगरपालिका- ५ महेन्द्रनगरकी किसान रामपरी यादव भन्छन्, “खेतीपातीको काम त बिहान-बेलुका गर्छौँ । विगतमा भन्दा यो वर्ष त साह्रै गर्मी भएजस्तो लाग्छ । पहिला गर्मी हुँदा शीतलमा बस्न ठूलाठूला रुख हुन्थे, अहिले त रूख पनि कहाँ पाउनु ? बुढाले छाता ओड्नुभयो भने म सलको सप्को टाउकोमा हाल्छु, बुढाले टाउकामा फेटा बाँधे म छाता ओड्छु । यो घाम त वर्षौँंदेखि छाता र सप्कोले छल्दै आएका छौँ ।”

मिथिला नगरपालिका-६ ढल्केवर निवासीआरती कुमारी भन्छिन्, “घरबाट निस्किँदा घामबाट जोगिन ‘सनब्लक’ प्रयोग गरेकी थिएँ, पसिनाले सबै गयो । छाताले पनि घाम छेक्दैन । अहिले चर्को घाम छ । एकछिन घाममा बस्दा टाउको दुखेर मर्नु न बाँच्नु हुन्छ । घाम सहनुभन्दा अर्को विकल्प नै के छ र ?”

महेन्द्रनगरका युवा सोनु मण्डलको भनाइ छ, “जसरी जाडोमा चोक चोकमा दाउरा बाल्ने, निःशुल्क चिया बाँड्ने गरिन्छ, त्यस्तै गर्मीमा पनि केही उपाय निकाल्नुपर्छ । गर्मीमा चोक चोकमा पानीको व्यवस्था गर्नुपर्छ । सडकमा पानी छर्कने व्यवस्था गर्न सके केही सहज हुन्थ्यो । स्थानीय सरकारले यसमा ध्यान दिनुपर्छ । अत्यधिक घामबाट बच्ने उपायबारे पनि नागरिकलाई जानकारी दिनुपर्छ ।”

“आजभोलि त असाध्यै गर्मी छ, बिहान बेलुका मात्रै अटो चलाउँछु । दिउँसो त कोही बाहिर निस्कँदैन । दिउँसो अटो चलाउन पनि सकिँदैन । बिहान बेलुका अटो चलाउँदा पनि पसिनाले निथ्रुक्कै भइन्छ । घाम भयो भनेर घरमा बस्न पनि मिल्दैन, बिहान-बेलुकाको छाक टार्न पनि अटो चलाउनै पर्‍यो,” अटोरिक्सा चालक जगदीश पासवान बताउनुहुन्छ ।

बटेश्वर गाउँपालिका- ५ शान्तिपुरका घुरन महतो भन्छन्, “एकतले घर छ, दिउँसो त तातेर बस्नै नसकिने हुन्छ । सहनै सक्दिनँ, दिनभरि नलको चिसो पानीले नुहाइरहन्छु । गर्मीले परिवारका सदस्यका शरीरभर घमौरा आएका छन् । मलाई पनि अलि अलि घमौरा आएको छ ।”अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनेको छ ।

जीविकोपार्जनको माध्यम दैनिक ज्यालादारी मात्रै हुने आफूहरूजस्ता मजदुरलाई गर्मीमा काम गर्न निकै कठिन भएको वर्दिवास- ३ का दुर्गा परियार बताउँछिन्। विगत १५ वर्षदेखि मजदुरी गर्दै आएकी उनी पछिल्ला वर्षमा बर्खायाममा सहनै नसकिने गरी गर्मी बढ्ने गरेको बताउछिन् ।

अहिले तराईका धेरै क्षेत्रमा सरकारी कार्यालयका काम गर्न जान पनि कठिन भएको सेवाग्राहीहरू बताउँछन् । सहरी क्षेत्रमा मानिसहरूको चहलपहल निकै कम देखिन्छ । दिउँसोको समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणको भनाइ छ ।

दस दिनदेखि गर्मी बढेकाले जनजीवन अस्तव्यस्त  हुनाका साथै मधेश क्षेत्रका विद्यालय एक साताका लागि बन्द गरिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ