arrow

बिर्तामोडमा अत्याधुनिक अस्पताल बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २६ शुक्रबार
birtamod-hospital.JPG

 झापा । सुदूर पूर्वी जिल्ला झापाको पुरानो व्यापारिक केन्द्र बिर्तामोडमा सरकारी तवरको अत्याधुनिक अस्पताल भवन निर्माण हुने भएको छ । नगर अस्पतालको हाताभित्र अर्को अत्याधुनिक भवन निर्माण हुने भएको नगर प्रमुख पवित्रादेवी महताराले बताइन । 

अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने गरी नयाँ भवन बनाउन लागिएको उनले जानकारी दिएकि छ्न । भौतिक पूर्वाधार व्यवस्थित भएपछि मात्रै नगर अस्पतालको सेवा विस्तार गर्न सकिने भएकाले सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको नगर प्रमुख महताराले बताइन् ।

मेयर महताराले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर नगरले काम गरिरहेको जनाउँदै नगर अस्पतालको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाइँदै लैजाने बताइन् ।

बिहीबार बिहान अस्पताल परिसरमा आयोजित कार्यक्रमका बीच नगर अस्पतालको नयाँ भवन शिलान्यास गरिएको छ ।  सङ्घीय सरकारले उपलब्ध गराएको १५ करोड रुपैयाँको लागतमा नगर अस्पतालको नयाँ भवन निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिएका छन् ।

विभाष इन्टरनेशनल काठमाडौँले २०८१ फागुन २६ मा पूरा गर्ने गरी भवन निर्माणको ठेक्का लिएको छ । यसअघि गत फागुन २० गते सभामुख देवराज घिमिरेले नगर अस्पतालको एउटा भवन उद्घाटन गरेका थिए ।

हाल नगरवासीको सुविधाका लागि निर्माण भएको नगर अस्पतालमा हरेक दिन दुई सयको हाराहारीमा सर्वसाधारण उपचारका लागि आउने गरेका छन् । नगर अस्पतालमा डाइलासिस सेवा पनि उपलब्ध छ ।

वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीको अध्यक्षतामा शिलान्यास समारोह भएको हो । तीन तले अस्पताल भवन २८ हजार ९६१ स्क्वायर फिटको हुने नगरका इन्जिनियर नरेन्द्र श्रेष्ठले बताए ।

भवन निर्माण सम्पन्न भएपछि बिर्तामोड नगर अस्पताल १५ शय्याबाट २५ शय्याको हुनेछ । नगर अस्पतालमा अहिले एक जना एमडीजीपी, तीन जना एमवीवीएस डाक्टर सहितको सेवा उपलब्ध छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ