arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

थुनछेक बहसमा उठ्यो ३३ किलो सुनको चर्चा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २४ बुधबार
nakkali-bhutani-sharanarthi-16-aaropi.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा ३३ किलो सुनको चर्चा गरिएको छ । बहसको क्रममा प्रतिवादीका वकिलहरुले बिना आधार र हचुवा प्रमाणको भरमा व्यक्तिलाई आक्षेप लगाउँदै ठगी र संगठित अपराधको मुद्धा ल्याएर अदालतलाईसमेत बदनाम गराउने खेल भएको भन्दै ३३ किलो सुनको मुद्धा प्रकरणलाई जोडेका थिए ।

‘आरोप केशव दुलालको पक्षबाट बहस गर्ने वकिलहरुले ३३ किलो सुन जस्तै बिना ठोस प्रमाण यो मुद्धा अदालतमा ल्याएर अदालतकै बदनाम गर्न खोजेको बताएका थिए । 

बुधबारदेखि प्रतिवादीहरुको तर्फका वकिलहरूले बहस थालेका छन् । आइतबारदेखि मंगलबारसम्म सरकारी वकिल र जाहेरवालातर्फका निजी वकिलले बहस सकेपछि प्रतिवादीतर्फका वकिलहरुले बुधबारदेखि प्रतिरक्षा बहस थालेका थिए । 

बुधबार मात्रै काठमाडौं जिल्ला अदालतमा तीन जना प्रतिवादीहरु केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको तर्फबाट १३ जना वकिलहरुले प्रतिरक्षा बहस गरेका थिए । 

बुधबार सबैभन्दा पहिले यो प्रकरणमा बिचौलीका रुपमा अभियोग लगाइएका केशव दुलालको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए । दुलालको बचाउ गर्दै विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, योगेन्द्रबहादुर अधिकारी, नरबहादुर योगी र राजन भट्टराईले बहस गरेका हुन् ।  

दुलालको तर्फबाट ६ जनाले  बहस गरिसकेपछि अर्का बिचौलिया सानु भण्डारीको पक्षबाट सबैभन्दा पहिले वकिल विनोद शर्माले प्रतिरक्षा बहस गरेका थिए । सानुको पक्षमा शर्मापछि चूडामणि पोखरेल, शिवप्रसाद रिजाल, साधुराम सापकोटा, शरदप्रसाद कोइराला, खडानन्द कँडेल र निरसिंह कुमार खत्रीले बहस गरेका थिए । 

सानुसँगै टंकको पक्षमा पनि तिनै वकिलले बहस गरेका थिए । उनीहरुले दुलाल, भण्डारी र टंकविरुद्ध लगाइएको अभियोग पुष्टि हुनै नसक्ने तर्क गर्दै प्रहरीसँग प्रमाण पनि नरहेको दाबी गरेका थिए । 

बहसका क्रममा अधिवक्ता विकास भट्टराईले दुलाल आफैँ पनि अमेरिका जाने भनेर ठगिएका व्यक्ति भएको जिकिर गरेका थिए । बिहीबार सानुको पक्षबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्न बाँकी छ । 

मंगलबार पक्राउ परेका मध्येका टेकनाथ रिजाल, सानु भण्डारी र केशव दुलालले बयानका क्रममा पोलेका अजयक्रान्ति शाक्य, राजेश बज्राचार्य, नैनकला थापा, आरुजू राणा देउवा, मञ्जु खाँड, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बेचन झा, प्रेमकुमार राईविरुद्ध पनि अनुसन्धानका निम्ति अदालतले निर्देशन दिन सक्नुपर्ने बहसमा उत्रिएका अर्का अधिवक्ता हरिप्रसाद कँडेलको जिकिरमा अदालतलाई नोटिस गरिएको थियो ।

 ‘ठगी मुद्दाका अन्य कसुरमा पोलेकै आधारमा अभियुक्त पक्राउ पर्छन्  । तर यो केसमा उनीहरू पक्राउ परेनन्  । जघन्य अपराधमा जोडिएका उनीहरूविरुद्ध अनुसन्धान गर्न अदालतले आदेश दिने कि नदिने ?’ उनले भने । 

नेपाली नागरिकलाई नक्कली कागजातका आधारमा भुटानी शरणार्थी बनाउने कार्यले मुलुकको अन्तर्राष्ट्रिय छवि र स्वाभिमानमा गम्भीर असर गरेको हुँदा पक्राउ सबै अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिनुपर्ने सरकारी वकिलको माग छ । 

कांग्रेस नेता बालकृष्ण खाँड, एमाले नेता टोपबहादुर रायमाझीको बहसका लागि पूर्वमहान्यायाधिवक्तादेखि नेपाल बार एसोसिएसनका बहालवाला अध्यक्ष र पूर्वअध्यक्षहरूले बहस गर्नेछन् । 

यसअघि नै निर्धारण भएको बहसको समयअनुसार सरकारी वकिलले तीन दिन समय पाएका थिए । अभियुक्त पक्षका वकिलहरूलाई भने ६ दिनको समय दिइनेछ । 

जिल्ला अदालत काठमाडौंमा जारी थुनछेक बहस सकिएपछि अभियुक्तहरूलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री  रायमाझी, पूर्वगृहमन्त्री खाँड, बहालवाला सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल र सानु भण्डारी, बादलका छोरा प्रतीक थापालगायत ३० जनालाई अभियुक्त बनाइ अभियोगपत्र दायर गरिएको छ । 

जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् । १२ जना अझै फरार रहेका छन् । फरार अभियुक्तको हकमा प्रहरीले पत्राउ परेका बखत ६० दिनको समय लिएर अनुन्धान गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ