arrow

प्रचण्ड–सभामुखबीच वार्ता

संसदमा प्रचण्डले स्पस्टीकरण दिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
prachanda-devraj-pm-speaker.jpg

काठमाडौं । नेकपा एमाले लगायतका प्रमुख प्रतिपक्षी दलहरु संसद अवरोध गरेपछि संसद खुलाउने विषयमा सभामुख देवराज घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । 

प्रमुख प्रतिपक्ष लगायतका दलहरुसँग कुराकानी गरेर संसदको अवरोध हटाउन र बजेटमाथिको छलफल प्रारम्भ गर्न सभामुखले प्रधानमन्त्रीलाई सम्झाएका हुन् । 

प्रधानमन्त्रीसँगको छलफलमा सभामुख घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेको घिमिरेको सचिवालयले जनाएको छ । 

आइतबार प्रतिनिधि सभा अवरोध भए लगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । सभामुखसँगको संवादमा प्रधानमन्त्रीले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको भन्दै सोमबारको संसदमा आफूले प्रस्टीकरण दिने बताएका छन् ।

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही मार्फत विपक्षी दलहरूलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरे पनि उनीहरुले संसद अवरोध कायमै राख्ने बताएपछि प्रधानमन्त्रीसँग सभामुखले छलफल गरेका हुन् ।

प्रधानमन्त्री भारत भ्रमणको क्रममा विवादास्पद अभिव्यक्ति दिएको र नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर संसद अवरोध भएको थियो । 

नागरिकता विधेयक प्रमाणीकरण गर्न कार्यपालिकाले राष्ट्रपतिलाई पत्र लेख्ने कुरा असंवैधानिक भन्दै विधायिकामाथिको अतिक्रमण गरेकाले राजनीतिक विषयसमेत जोडिएको थियो । 

फूलबारी बन्दरगाह प्राप्त गर्ने नाममा नेपालको भूमि नै भारतलाई दिन्छौँ भन्ने खालको अभिव्यक्तिप्रति माफी माग्नुपर्ने विपक्षी दलहरुको भनाइ रहेको छ । सभामुख घिमिरेले सबै दलहरुसँग बजेट पारित गर्ने समय कम भएकाले यसको महत्व बुझिदिन आग्रह गर्दै आजैबाट संसद चालु गर्न सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

हिजोको प्रतिनिधि सभाको बैठक भने विषयमै प्रवेश नगरी स्थगित भएको थियो । आजको बैठक बिहान ११ बजे बस्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ