arrow

शैलेन्द्र थापाको मुक्तक संग्रह ‘भोगाइ’ को लोकार्पण

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
bhogai-book-shailendra-gagan.jpg

काठमाडौं । साहित्यका विविध क्षेत्रमा कलम चलाउने सर्जक शैलेन्द्रकुमार थापाको दोश्रो कृति मुक्तक संग्रह ‘भोगाइ’को लोकापर्ण भएको छ। 

सर्जक थापाको मुक्तक संग्रह ‘भोगाइ’ को लोकार्पण नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गरे । थापालाई मुक्तककार मदन नेपाल, बद्री उप्रेती, समाजसेवी हुतराज बस्नेत, लिलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, लगायतका व्यक्तिहरुले मुक्तक वाचन गरेर मुक्तक संग्रह भोगाइको लोकार्पण गर्न साथ दिएका थिए।

सर्जक थापाको पहिलो कृति ‘अनुभूति’ गजल संग्रह २०७२ सालमा नै प्रकाशित भएको छ । भोगाइ मुक्तक संग्रह थापाको दोस्रो कृति हो। यस कृतिका प्रकाशक शैलेन्द्रका दाजु महेन्द्रकुमार थापा हुन् भने पुस्तक प्रकाशनमा सहयोगीको रुपमा दाजुहरु पार्थराज थापा, ओमराज थापा छन्। 

लोकार्पण कार्यक्रमको सभापतित्व सुरेश वैद्यले गरेका थिए। कार्यक्रममा उपस्थित विभिन्न व्यक्तित्वहरुले  गजल र सर्जकप्रति आआफ्नो धारणा व्यक्त गरेका थिए।

स्वतन्त्र लेखनलाई प्रस्थान विन्दु बनाउने सर्जक थापाले आफ्नो मुक्तक संग्रहमा समसामयिक विषयमा‌ कलम चलाएका छन् । 

विशेषगरी वर्तमान बाटो बिराएको राजनीतिलाई सही बाटोमा ल्याउने ध्येयले थापाले कतै तीव्र ब्यंग्य प्रहार गरेका छन् भने कतै राष्ट्रप्रति अगाध चिन्तन देखाउँदै समाजका विसंगतिहरूलाई उजागर गरेका छन् । 

साहित्यमा सर्वाधिक खोजी गरिने शब्द र विषय प्रेमलाई भने यस मुक्तक संग्रहमा कम प्राथमिकतामा राखिएको देखिन्छ । कतै भने जीवन दर्शन र आफ्नै भोगाइलाई सटिक ढंगबाट प्रस्तुत गरिएको छ ।

केही प्रतिनिधि मुक्तकहरू–

राम राज्यको कुरा गर्यौ रावणको पथमा चल्यौ 
आफन्तलाई टाढा देख्यौ परचक्रीको पाउ मोल्यौ 
नजिककाई भूत ठान्यौ व्यस्त छौ पराई पुज्न
तेही भएर हे बडाहरू हाम्रा निम्ति सड्यौ गल्यौ ।।
     १
फर्क फर्क हे विदेशिएका पौरखी हातहरू
मेटाउनु छ मुलुकबाट अन्धकार रातहरू
लुला र बुढाले सकेनन् समस्या छिचोल्न
आउनै पर्छ पन्छाउन समस्याका खातहरू ।।
      २
जीवन हो यो आशामा बाँचेको छ
केही होला की मनमा साँचेको छ
तर सर्वत्र यहाँ निराशा पस्किनाले
यत्र तत्र दुनियाँको मन भाँचेको छ ।। 

६४ वर्ष पहिले सोलुखुम्बू जिल्लाको साविक सल्यान गावीस वडा नम्बर ९ खाल्पामा पिता स्व. भीमराज थापा तथा माता स्व. रेन्द्रेश्वरी थापाका कनिष्ट पुत्रका रूपमा कृतिकार थापाको जन्म भएको हो । 

आफ्नो बालापनको रमाइलो र उन्नति प्रगति गर्न नपाइ १३–१४ वर्षको कलिलो उमेरमा घातक रोग ‘मस्कुलर डिस्ट्रोफी’ का कारण चार दिवारभित्र खुम्चिन बाध्य भएता पनि थापामा अन्य युवाहरु भन्दा कम उर्जा भने पक्कै छैन । 

अदम्य तर्कशक्ति  भएका शैलेन्द्र थापा साहित्यको क्षेत्रमा केहीगर्ने प्रवल इच्छा शक्ति र हुटहुटीको कारण यहाँसम्म आइपुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ