arrow

कांग्रेस रुपान्तरण अभियान

देउवाको कार्यशैलीप्रति नेताहरुको चर्को आक्रोश

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २१ आइतबार
congress-leaders-2080-02-20.jpg

पोखरा । नेपाली कांग्रेसका संस्थापन इतरका नेताहरुले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति चर्को आक्रोश पोखेका छन् । नेपाली कांग्रेस रुपान्तरण अभियान अन्तर्गत पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा सहभागी नेताहरुले यस्तो आक्रोश पोखेका हुन् । 

नेताहरुले महाधिवेशन भएको दुई वर्ष बित्न लाग्दा पनि विभागहरु गठन गर्न नसकेको, हरेक राजनीतिक निर्णय एक्लै गर्ने गरेको, लामो समयसम्म केन्द्रीय समिति बैठक नबोलाएको भन्दै सभापति देउवाप्रति आक्रोश पोखे । 

उनीहरुले चुनावमा झोलामा पैसा बोकेर आउनेलाई र आसेपासेलाई मात्र टिकट वितरण गरेको आरोप लगाए । नेतृत्व नसच्चिकन यस्तै अवस्था अझै रहिरहे आफूहरु चुप लागेर नबस्ने उनीहरुले चेतावनी दिए ।  नेतृत्वले पार्टीको विधि विधान सबै लत्याएर मनोमालिन्य ढङ्गले पार्टी कब्जा गरेको आरोप पनि लगाए ।

पार्टीका केन्द्रीय सदस्य मधु आचार्यले हरेक दुई महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने विधानमा व्यवस्था भए पनि १० महिनासम्म बैठक बस्न नसकेको भन्दै अब पनि केन्द्रीय कार्यसमिति बैठक नबोलाइए विशेष महाधिवेशन आह्वान गर्न आफूहरु बाध्य हुने चेतावनी दिए ।

पार्टीका उपसभापति र महामन्त्रीहरुले पटकपटक केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको भए पनि नेतृत्वले नसुनेकोप्रति उनले आक्रोश पोखे । 

‘नेताहरुलाई विनम्रतापूर्वक भन्छौँ, पार्टीका औपचारिक प्लेटफर्महरु यदि सञ्चालनमा ल्याइँदैन । बेलैमा मिटिङहरु बसाइँदैन । केन्द्रीय समितिको बैठक बस्दैन । वर्षमा एक पटक बोलाउनुपर्ने महासमितिको बैठक पनि बस्दैन’, नेता आचार्यले भने, ‘पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरेको ६ महिनाभित्रमा नीति अधिवेशन गर्ने भनेको कुराको यदि नीति अधिवेशन पनि बोलाइँदैन भने फेरि विधानले दिएको अधिकारहरु प्रयोग गरेर हामी भोलि विशेष महाधिवेशनसमेत बोलाउन बाध्य हुनेछौँ ।’

पार्टीले भ्रष्टाचारका कुराहरुलाई ढाकछोप गर्दै हिँडे आगामी दिनमा निकै कठिनाइ हुने चेतावनी दिँदै उनले कांग्रेस बिग्रिन र सिद्धिन लागेकोले पार्टीलाई सो अवस्थाबाट जोगाउन रुपान्तरण अभियान चलाएको उल्लेख गरे । आफूहरुको अभियान कुनै गुटको नभई कांग्रेसको चिन्ता गर्नेहरुको अभियान भएको स्पष्ट पारे ।

‘एउटा निष्कर्षमा, समाधानमा जानका लागि पार्टीलाई जबरजस्त आवश्यकता भइसक्यो । अब यही गतिविधिबाट, यही हिँडाइबाट, यही ढाँचाबाट या भ्रष्टाचारका कुराहरुमा पनि हामी ढाकछोप गर्दै हिँड्ने, पार्टीले एउटा प्रष्ट अभिव्यक्ति नदिने, यही ढंगले हिँड्यौँ भने जनताका बीचमा बस्नुपर्ने पार्टी र जनताको नजरमा दिनहुँ व्यवहार गर्नुपर्ने पार्टी साथीहरुलाई कठिनाइ हुनेछ । गाह्रो हुनेछ । यसले पार्टी दिनदिनै कमजोर बनाउँदछ’, उनले भने ।

‘वास्तवमा यो कुनै गुटको मिटिङ होइन । कुनै गुटको अभियान होइन । कांग्रेस बिग्रिन लाग्यो । कांग्रेस सिद्धिन लाग्यो । कांग्रेस कमजोर हुन थाल्यो । कांग्रेसलाई जनताले माया गर्न छाडे । र पार्टी सदस्यहरु पनि दिग्भ्रमित हुन थाले’, उनले थपे, ‘अब यो अवस्थाबाट कांग्रेस जोगाउनुपर्छ । भोलिको भविष्य यही कांग्रेसबाट खोज्नुपर्छ । साथीहरुलाई यहि भित्र आश्वस्त गर्नुपर्छ ।’

नेता आचार्यले भने, ‘जेजे परिवर्तन गर्नुपर्छ, जेजे सुधार गर्नुपर्छ । हाम्रै बीचबाट हामी नै गरौँ । हाम्रै कांग्रेसलाई राम्रो बनाउँ । यसैलाई बलियो बनाऔँ । यहीँभित्र देश र जनताको भविष्य सुनिश्चित गरौँ भन्नका लागि यो अभियान अगाडि बढेको हो । त्यसकारण कांग्रेसको बारेमा चिन्ता गर्ने अभियान व्यक्तिको अभियान या गुटको अभियान हुँदैन । कांग्रेसको चिन्ता गर्ने अभियान नेपाली काँग्रेसको अभियान हो । त्यसकारण यो सिंगो कांग्रेसको आवश्यकता हो । सिंगो कांग्रेसको आन्दोलन अभियान हो ।’

पार्टीका पूर्व केन्द्रीय सदस्य गुरु घिमिरेले पार्टीमा विचारको पुनव्र्याख्या र संगठन पुनर्गठन जरुरी रहेको बताए । अरु पार्टीका नेताभन्दा रामचन्द्र पौडेल र शेरबहादुर देउवाको उचाइ अब्बल रहनु पार्टीको उज्यालो पक्ष रहेपनि केन्द्रीय समितिको बैठक नै नबस्ने, कार्यकर्ताको भावना नसमेट्ने जस्ता विषय अँध्यारो पक्ष रहेको उनको भनाइ थियो । 

उनले भने, ‘हामीले निदाएको बहाना गरेको नेतृत्वपंक्तिलाई पानी छम्केर ब्युँझाउन खोजेको हो । यो अभियानलाई नजरअन्दाज गरियो भने नतिजा खतरनाक आउँछ भन्ने पनि बुझिराख्नुस् ।’ 

नेतृत्वको अदूरदर्शिता र अकर्मण्यताका कारण मुलुक अधोगतितिर गइरहेको भन्दै उनले नेतामा नेतृत्व मात्र होइन, विकास गर्ने इच्छाशक्ति पनि आवश्यक पर्ने बताए । समाजले दुःख पाएको खराब व्यक्तिको आतङ्कले नभइ, असल मानिसको मौनताले भएको भन्दै त्यही मौनतालाई तोड्दै यो अभियान थालेको उनले स्पष्ट पारे ।

अब्राह्म लिङ्कनको भनाइ सापट लिँदै नेता घिमिरेले भने, ‘तिमीले रुख काट्न ६ घण्टा दियौ भने म चार घण्टा बञ्चरो उध्याउनमा समय खर्च गर्छु । अनि दुई घण्टामा सजिलै रुख ढाल्छु ।’ ‘अब हामीले ६ घण्टा नै रुख काट्न समय खर्चियौं भने रुख ढाल्न सक्दैनौ, उल्टै हामी थाक्छौं’, अभियानलाई सशक्त ढंगले अघि बढाउन धेरै सोंच विचार, छलफल र बहस गर्न आवश्यक छ ।’

संसारभरका राजनीतिक पार्टीहरु जति पूरानो हुँदै जान्छ त्यति खारिँदै, परिपक्व बन्दै गएको उदाहरण पेश गर्दै उनले कांग्रेस पुरानो पार्टी भएर पनि खिइँदै, बिग्रँदै गएको बताए । 

अभियानका गण्डकी संयोजक देवराज चालिसेले पार्टीले लिएको यथास्थितिको नीति र थितिबाट पार्टी र मुलुक अगाडि बढ्न नसक्ने स्पष्ट पारे । उनले भने, ‘सत्तामा पुग्नकै लागि पार्टीको सिद्धान्तलाई बेच्ने काम भयो, बिपीको आदर्शलाई तिलाञ्जली दिएर माओवादीसँग चुनावी तालमेल गर्ने अवस्थामा कांग्रेस किन पुग्यो ?’ 

उनले थपे, ‘सरकारका माध्यमबाट पार्टीको विश्वास बढाउनुको साटो घटाउने काम भएको भन्दै चालिसेले सिद्धान्तमा घुँडा टेकियो, मुलुकलाई अधोगतिमा लैजान कांग्रेसको प्रयोग भयो ।’

भ्रष्टाचार राष्ट्रिय रोग रहेको भन्दै नेता चालिसेले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नै मानव तस्करीका आरोपित छन्, डामिएका व्यक्तिले नेतृत्व गरेको आयोगबाट केही हुँदैन, भ्रष्टाचार नियन्त्रणका लागि स्वतन्त्र र शक्तिशाली संयन्त्र चाहिन्छ ।

उनले थपे, ‘जुन चरित्रबाट पार्टी चलिरहेको छ, त्यसबाट कार्यकर्ता तहमा उत्साह छाएन, चाल, चेहरा र चरित्र फेर्न जरुरी छ, यसैका लागि हो अभियान ।’ 

नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नका लागि मात्र अभियान थालेको नभइ संगठन जोगाएर पार्टीको शाखलाई अझै माथि पु¥याउने प्रयास आफूहरुको रहेको उनले स्पष्ट पारे । ‘नेतृत्वका लागि यो खबरदारी हो’, उनले भने, ‘आफै सच्चिए राम्रो, नत्र विधान अनुसार नै अविश्वास ल्याउने वा विशेष महाधिवेशन बोलाउने काम पनि हुन्छ ।’
कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा, नेताहरु कृष्ण केसी, विष्णुदेवी पाण्डे, रघुनाथ पौडेल, खगेन्द्रराज रेग्मी, वैकुन्ठ न्यौपाने, भोजराज अर्याल, वसन्त सिके, केबी भण्डारी, नारायणमणि लामिछाने, झल विक, नवीन श्रेष्ठ, हरिप्रसाद श्रेष्ठ, भेषबहादुर पौडेलले सुझाव दिएका थिए ।

जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष नवराज शिवाकोटी, विद्यार्थी नेता निर्दोषविक्रम पौडेल, भरत लम्साल, सीता काफ्ले, भरत रखाल, चूडा खनाल, जगदीश उपाध्याय, गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डे, चन्द्रबहादुर राना, कृष्ण पोखरेल, गोकुल सापकोटा लगायतले कांग्रेस जोगाउन नेतृत्व सच्चिनुपर्नेमा जोड दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ