arrow

नेपाल र श्रीलङ्कामा अन्तर्देशीय भुक्तानी प्रणालीका लागि फोनपे र लंकापेबीच समझदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १९ शुक्रबार
fone-pay-lanka-pay-mou-2080-2023.jpg

काठमाडौँ। नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपेले, नेपाल र श्रीलङ्काबिच अन्तरबद्धता योग्य भुक्तानी प्रणाली विकासको लागि सहकार्य गर्न श्रीलङ्काको राष्ट्रिय भुक्तानी नेटवर्क लंकापेसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यस किसिमको डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रबीचका प्रयोगकर्ताहरूलाई निर्बाध रूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउँछ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवस कुमार सापकोटा र लंकापेका सिइओ चन्ना डि सिल्भाले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौँस्थित श्रीलङ्का दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरि प्रमुख निलुषा दिलमिनीको विशेष उपस्थिति रहेको थियो भने एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजि डिरेक्टर डेनियल डि.श्रेष्ठ र फोनपेका अध्यक्ष विश्वास ढकालको उपस्थिति रहेको थियो।

यो सहकार्य दुई देशबीच भ्रमण गर्नेहरूको सहजताका लागि अत्यन्त प्रभावकारी हुनेछ। श्रीलङ्काका नागरिकहरू नेपाल भ्रमण गर्दा लंकापेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोनपे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन् । त्यसै गरी, श्रीलङ्का जाने नेपाली नागरिकहरूले फोनपेद्वारा अधिकृत एपहरू प्रयोग गरी ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन् । यस पश्चात् फोनपे वा लंकापे मध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरूले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्नेछन्।

यस सहकार्यमा उत्साहित हुँदै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने, “यो सहकार्य भनेको नयाँ अवसरहरू विस्तार गर्न, वित्तीय समावेशीकरण बढाउन र समृद्ध डिजिटल अर्थतन्त्र सिर्जना गर्न प्रविधिको प्रयोग गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो। 

यो सहकार्यले, नवप्रवर्तन र अन्तर आबद्धताद्वारा राष्ट्रको आर्थिक वृद्धिलाई नयाँ उचाइमा पुग्नको लागि मद्दत पुर्‍याउने छ। यो साझेदारी हाम्रो लागि निकै महत्त्वपूर्ण छ । हामीले नेपालमा मात्र नभई हाम्रो सबैभन्दा नजिकको दक्षिण एसियाली देश श्रीलङ्कामा पनि क्रसबोर्डर डिजिटल भुक्तानीलाई छिटो, सुरक्षित र सजिलो बनाउन मद्दत गर्नेछौँ।”

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै, लंकापेका प्रमुख कार्यकारी अधिकृत चन्ना डि सिल्भाले भने, “हामी फोनपेसँग अन्तर आबद्धताको यो यात्रा सुरु गर्न पाउँदा हर्षित छौँ। यो साझेदारी, श्रीलङ्कामा डिजिटल भुक्तानीमा फड्को मार्ने उद्देश्यको महत्त्वपूर्ण कोसे ढुङ्गा साबित भएको छ।

यो रणनीतिक साझेदारीले हाम्रा ग्राहकहरूको लागि सहज र समावेशी भुक्तानीको वातावरण सिर्जना गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ। हाम्रा सम्बन्धित प्लेटफर्महरूबीचको दुरी घटाई, हामी नयाँ सम्भावनाहरू खोल्दै छौँ जसले व्यक्ति र व्यवसायहरूलाई सहज रूपमा भुक्तानी कारोबार गर्ने वातावरण बनाउँछ।”

ग्रुप स्ट्राटेजि डिरेक्टर डेनियल डि. श्रेष्ठले पनि आफ्नो विचार व्यक्त गर्दै भने, “श्रीलङ्काको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कसँगको यो समझदारी— हामीले बैङ्क तथा वित्तीय संस्थाहरूसँग संयुक्त रूपमा नेपालमा हासिल गरेका सफलताहरूलाई अन्तर्राष्ट्रिय बजारमा पनि दोहोर्‍याउने हाम्रो दीर्घकालीन रणनीतिको हिस्सा हो। डिजिटल भुक्तानी सेवाहरूमार्फत हाम्रा देशवासीहरूको जीवन सजिलो बनाउने यस संयुक्त अभियानमा हामीलाई विश्वास गर्नुभएकोमा हामी लंकापेलाई धन्यवाद दिन्छौँ। हाम्रो अन्तर्राष्ट्रिय विस्तारको यात्रामा, हामी विश्वस्त छौँ कि— हामीले हाम्रा स्वदेशी प्रविधिहरू र ज्ञानहरू अन्तर्राष्ट्रिय बजारमा लैजाने अवसरहरू मात्र पाउने छैनौँ, हामीले अन्तर्राष्ट्रिय बजारमा सफल साबित भएका प्रविधि र ज्ञान नेपालमा पनि प्रयोग गर्ने प्रशस्त अवसर प्राप्त प्राप्त गर्नेछौँ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा अतिथि तथा प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गर्दै फोनपेका अध्यक्ष विश्वास ढकालले आफ्नो उत्साह व्यक्त भने, “यो फोनपेका लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि डिजिटल भुक्तानी क्षेत्रमा अन्तर आबद्धता हासिल गर्ने ऐतिहासिक कदम हो। लंकापेसँग हाम्रो सहकार्यको प्रयासलाई मूर्तरूप दिन सहयोग र मार्ग निर्देशन गर्नुहुने नेपाल सरकार, नेपाल राष्ट्र बैङ्कलाई हामी हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौँ। श्रीलङ्का नेपालबीचको यो भुक्तानी अन्तरबद्धताले उहिलेसम्म दुई देशबीच रहँदै आएको सांस्कृतिक सम्बन्धसँगै व्यापारिक कारोबारलाई पनि सहज र सर्वसुलभ बनाई दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनलाई महत्त्वपूर्ण कोशे ढुङ्गा साबित हुनेछ।”

फोनपेको बारे
फोनपे एक भुक्तानी प्रणाली अपरेटर हो जसले अन्तर-बैङ्क व्यक्ति-देखि-व्यक्ति (पर्सन टु पर्सन: पि टु पि) र व्यक्ति-देखि-व्यवसायी (पर्सन टु मर्चेन्ट: पि टु एम) लेनदेनहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ। फोनपे, नेपाल राष्ट्र बैङ्कद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटर: पि एस् ओ) को रूपमा इजाजत पत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो र हाल पनि राष्ट्र बैङ्कद्वारा नियमन गरिँदै आएको छ। ‘पि सी आइ डि एस् एस्’ प्रमाणीकरण प्राप्त गर्ने फोनपे, नेपालको पहिलो गैर-कार्ड-आधारित ‘पि एस् ओ’ पनि हो।

फोनपे एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो। नेपालमा आइ एस ओ २७००१ : २०१३ प्रमाणित भुक्तानी सेवा सञ्चालकको रूपमा, फोनपेले बैङ्क र वालेट ग्राहकहरू साथै व्यवसायहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरू दिँदै नगदरहित अर्थतन्त्रमा योगदान गरिरहेको छ। फोनपे, भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा आविष्कारहरू ल्याउनमा केन्द्रित छ।
 
लंकापेको बारे
लंकापे श्रीलङ्काको प्रमुख राष्ट्रिय डिजिटल भुक्तानी सेवा नेटवर्क हो। यसले देशका विभिन्न वित्तीय संस्थाहरू र भुक्तानी सेवा प्रदायकहरूमा सुरक्षित र प्रभावकारी लेनदेनको सुविधा प्रदान गर्दै राष्ट्रिय भुक्तानी नेटवर्कको रूपमा काम गर्दछ। सन् २००२ मा स्थापित लंकापे, लंकाक्लियर प्रालिको स्वामित्वमा सञ्चालित रहेको छ। लंकाक्लियर, श्रीलङ्काको केन्द्रीय बैङ्क र देशका वाणिज्य बैङ्कहरू बीचको संयुक्त कम्पनी हो।

लंकापेले रियलटाइममा अन्तर बैङ्क रकम ट्रान्सफर, अनलाइन र मोबाइल बैङ्किङ सेवाहरू, इलेक्ट्रोनिक बिल भुक्तानी, डेबिट र क्रेडिट सेवाहरू, र एटिएम सेवाहरू सहित भुक्तानी सेवाहरू प्रदान गर्दछ। नेटवर्कले सहभागी बैङ्कहरू र भुक्तानी सेवा प्रदायकहरू बीच अन्तर सञ्चालन सुनिश्चित गर्दछ, जसले ग्राहकहरूलाई निर्बाध रूपमा रकम ट्रान्सफर गर्न र विभिन्न प्लेटफर्महरूमा भुक्तानी गर्न सम्भव बनाउँदछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ