arrow

बाल चित्रकथा ‘राक्षस तर्साउने केटाहरू’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
rakchayak-tarsaune-ketaharu-book.jpg

काठमाडौं । बाल चित्रकथा  ‘राक्षस तर्साउने केटाहरू’ कथालयले सार्वजनिक गरेको छ । जेना बाउरले लेखेको यो चित्रपुस्तकमा मालगोसिआ जायातका चित्र समावेश छन् । 

पुस्तकको नेपाली अनुवादक भिक्टर प्रधान हुन् । भिक्टर प्रधान विगत २० वर्षदेखि नेपाली बालसाहित्यको क्षेत्रमा कार्यरत छन् । 

स्लोभेनियामा सन् १९७५ मा जन्मिएकी लेखक जेना बाउरले शुरुमा राजधानी लुबिआनाको थिएटर अफ एकेडेमीमा नाटकशास्त्र पढिन्, रेडियो, फिल्म र टेलिभिजनबारे अध्ययन गरिन् । 

स्नातकपछि बालबालिकाका लागि काल्पनिक कथा लेख्न थालिन् । उनको पहिलो पुस्तक ‘दि विच भ्यानिसर’ भेचेरनिसा अवार्ड–२००३ का लागि मनोनयनमा परेको थियो । उनको सर्वाधिक लोकप्रिय पुस्तक ‘स्कारी फेइरी इन दि फियरफुल फरेस्ट’ हो । 

सन् २०११ मा प्रकाशित यो पुस्तक विभिन्न विदेशी भाषामा अनुवाद भएको छ ।  २०१३ मा भेचेरनिसा र डेसेट्निका अवार्डका लागि मनोनयनमा परेको यो पुस्तकले गोल्डेन पियर सिल प्राप्त गर्यो । यस्तै, उत्कृष्ट अनुवादका लागि लिथुआनियामा आईबीबीवाई अवार्ड दिइएको थियो ।

पुस्तककी चित्रकार मालगोसिआ जायात ग्राफिक डिजाइनर पनि हुन् । उनले पोल्यान्डको कारकोस्का एकेडेमीबाट फाइन आर्टस्मा स्नातक गरेकी छन् । उनले विभिन्न देशमा बालपुस्तकका लागि चित्र बनाएकी छन् । उनले यही पुस्तकमा चित्र बनाएबापत सन् २०२० मा दि व्हाइट रेबेन्स सूचीमा पर्दै इन्टरनेसनल युगेनबिबियोथेक अवार्ड पनि पाइन् । 

यो चित्रकथा दुई साथी ओट्टो लोकस र फिलिप राबिटीबीचको रमाइलो कुराकानीमा आधारित छ । आफ्नो कोठामा राक्षस लुकिरहेको फिलिपले सुनाएपछि ओट्टोले ‘केही हुँदैन’ भनेर सान्त्वना दिन्छ र दुवै फिलिपको कोठामा जान्छन् । 

ओट्टो भन्छ– राक्षस तीन किसिमका हुन्छन् । डाङ्ग्रे, दाह्रे र भुत्ले । डाङ्ग्रे ज्यादा चलाख हुँदैनन्, ब्यान्ड बाजासित डराउँछन् । दाह्रे उपद्र्याहा हुन्छन्, एक्लै दोक्लै भेटे भने छाड्दैनन् । भुत्ले राक्षसचाहिँ उग्र, धूर्त र डरलाग्दा हुन्छन् । यिनै तीनमध्ये कुनै न कुनै हुनुपर्ने अनुमान गरी धेरै मेहनत गरेर राक्षस खोज्छन्, तर्साउन विभिन्न गतिविधि गर्छन् । तर, उनीहरू सफल हुँदैनन् । त्यसपछि श्रीमान् र्याटलसँग सहयोगका लागि आग्रह गर्छन् । उनी धेरै काममा पोख्त व्यक्ति हुन् ।

के उनले राक्षसलाई पत्ता लगाउलान् ? त्यहाँ राक्षस नै थियो कि अरू कुनै जीवजन्तु ? चित्रकथाको अन्त्यले हाम्रो धारणा नै बदल्छ । र, हरेक राक्षसको केही न केही कमजोरी हुने भएकाले निडर भएर अघि बढ्न पनि सन्देश दिन्छ ।

स्लोभेनियाबाट प्रकाशित यो पुस्तकको प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले नेपालीमा अनुवाद गरेको हो । पुस्तक नेपाली सहित अन्य पाँच भाषामा अनुवाद भई प्रकाशित भएको छ । पुस्तकको मूल्य ३ सय ७५ रुपैयाँ रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ